जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • साझाले ४० विद्युतीय बस किन्न चिनियाँ कम्पनीसँग गर्‍यो सम्झौता, ८ महिनाभित्र सबै बस डेलिभरी

साझाले ४० विद्युतीय बस किन्न चिनियाँ कम्पनीसँग गर्‍यो सम्झौता, ८ महिनाभित्र सबै बस डेलिभरी

साझा यातायातले ४० विद्युतीय बस खरिदका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। साझाले शुक्रबार एक चिनियाँ कम्पनी सीएचटिसी किनविन अटोमोबाइल कर्पोरेशनसँग बस खरिदका लागि द्विपक्षीय सम्झौता गरेको साझा यातायात संचालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए।

साझा यातायातको तर्फबाट संचालक समिति सदस्य बन्दना थापा र सिएचटिसीको तर्फबाट नेपाल प्रतिनिधि एनइभी नेपाल प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक राजन रायमाशीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर (अहिलेको विनिमय दरअनुसार करीब ४४ करोड ८६ लाख रुपैयाँ) रुपैयाँ तिर्नुपर्नेछ। यसबाहेक पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्ट्सका लागि ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ साझाले अलग्गै ब्यहोर्ने शर्त सम्झौतामा राखिएको छ।

तुलाधरका अनुसार चार महिनामा तीनवटा बस परिक्षण लागि ल्याउने गरी सम्झौता भएको छ। तीनवटा बस ल्याएर परीक्षण भएपछि आठ महिनाभित्र थप ३७ वटा बस ल्याइसक्नु पर्नेछ।

बस मात्र नभइ त्यसका लागि आवश्यक पर्ने चार्जर लगायतका उपकरण र पाँच वर्षसम्मको मर्मत आपूर्तिकर्ता कम्पनी आफैंले गर्नुपर्नेछ। तुलाधरका अनुसार बस साढे ८ मिटर लम्बाइको ल्याउन लागिएको हो। जसमा चालकबाहेक ३६ वटा सिट हुनेछ भने ह्विलचियर समेत सहजै राख्न सकिनेछ।

कम्पनीले ल्याउने ९० किलोवाटको चार्जरमा दुईवटा ४५/४५ किलोवाटका गन हुनेछ। जसले चार घण्टामा बस फुल चार्ज गर्न सक्ने दाबी गरिएको छ। बसलाइ एक पटक फुल चार्ज गरेपछि २०० किमीसम्म कुद्ने क्षमता राख्नेछ।

बस ल्याएर काठमाडौं उपत्यकाभित्रै  संचालन गर्ने भनिएको भए पनि कहाँ चलाउने भनेर अहिलेसम्म रुट निर्धारण हुन सकेको छैन। 

साझा यातायातले चैत १३ गते ४० बस खरिदका लागि टेण्डर आव्हान गरेको थियो। जसमा नान्जिङ गोल्डेन डार्गन बस कर्पोरेशन लिमिटेड, विक्वी फोटोन मोटर कम्पनी लिमिटेड, झोङटोङ बस होल्डिङ कर्पोरेशन लिमिटेड, चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेशन, सिएचटिसी किनविन अटोमोबाइल कर्पोरेशन, बिवाईडी अटो इन्ड्रष्ट्री कर्पोरेशन लिमिटेड, एन हुइ एनकाइ अटोमोबाइल कर्पोरेशन लिमिटेड, चेरी एण्ड वान्डा बस कर्पोरेशन लिमिटेड, झुनहाइ गाउनटोङ अटोमोबाइल कर्पोरेशन लिमिटेडले आवेदन दिएका थिए।

ती कम्पनीमध्येबाट सिएचटिसी छनोट भएको हो। कम्पनीले २० वटा चार्जर समेत उपलब्ध गराउनेछ। साझाको पुल्चोकस्थित कार्यालयमा चार्जिङ स्टेशन रहनेछ।

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका