जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मन्त्री क्वाटर भत्काएर पार्क बनाउँछु: अर्थमन्त्री शर्मा

मन्त्री क्वाटर भत्काएर पार्क बनाउँछु: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न खोज्दा आफ्नो विरोध भएको भन्दै गुनासो गरेका छन् । शुक्रवार ललितपुरमा १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले यस्तो दुखेसो पाखेका हुन् ।   

अर्थमन्त्री शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘उत्पादनलाई बढवा दिने कामहरू सुरु गर्दा यो मुलुकमा उत्पादन गर्न हुँदैन भन्ने धेरै स्वरहरू सुनिए । हामी बाहिरबाट किनेर ल्याउँछौँ । यहाँ उत्पादन नगरौँ भन्नेहरूले यहाँ उत्पादन गर्ने कुराको विरोध गरिरहेका छन् ।’

उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्र नेपाल आत्मनिर्भर बन्न सक्ने कुरामा जोड दिँदै उनले नेपालको खेर गइरहेको विद्युतको उपयोगका लागि समेत उद्योगहरू स्थापना गर्नु पर्ने बताए । नेपालमा उद्योगहरूको प्रवर्द्धन गर्न आयातित कच्चापदार्थमा कर छुट लगायतका कार्यक्रमहरू सरकारले अघि सारेको उनले दोहोर्‍याए । 

हालै आएको बेमौसमी वर्षाका कारण ठुलो मात्रामा धानबाली नष्ट हुँदा किसानहरू समस्यामा परेको बताउँदै सरकारले भोकै बस्नुपर्ने अवस्थामा रहेका किसानहरूका लागि राहत प्याकेजको कार्यक्रम अघि बढाएको समेत उनले जानकारी दिए । 

कोरोना महामारीले थला परेको अर्थतन्त्र उठ्न प्रयत्न गर्दै गरेका बेला यसरी आएको प्राकृतिक विपद्ले हाम्रो आर्थिक अवस्थालाई धेरै नै कमजोर बनाएको उनले बताए । उनले भने, ‘यस्ता दुख कष्ट थपिँदै जाँदा हाम्रो अर्थतन्त्र सङ्कटमा पर्दै गएको छ ।’  

उनले हाल ललितपुरको पुलचोक स्थित मन्त्री क्वाटर रहेको स्थानमा विशाल पार्क बनाउने समेत उनले घोषणा गरे । मन्त्री शर्माले भने, ‘अहिले जहाँ मन्त्री क्वाटर छ त्यो भत्काएर त्यहाँ पार्क बनाउने मेरो उद्देश्य मैले राखेको छु । त्यस्तै, बोनेश्वर, लाजिम्पाटलगायत अन्य १२ स्थानमा पनि ठुला पार्क बनाउने योजना छ ।’ 

साथै, अर्थमन्त्री शर्माले पुष्प खेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्त्वपूर्ण रहेको बताएका छन् । ‘देशको अर्थतन्त्रमा टेवा पु¥याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्त्व छ’, उनले भने, ‘यसलाई बढी आम्दानी हुन सक्ने नगदे बाली वा खेतीको रूपमा यसलाई लिनुपर्छ, लिइरहेका छौँ ।’

फूलमा मुलुक आत्मनिर्भर उन्मुख भएको बताउँदै मन्त्री शर्माले अर्को वर्षदेखि आयात नगर्नुपर्ने गरी सङ्कल्प गरेर अगाडि बढ्न आग्रह गरे । उनले केही प्रतिशत अन्य मुलुकबाट बर्सेनि फूल भित्रिरहेकाले आगामी वर्षदेखि आत्मनिर्भर हुने गरी पुष्प कृषक, व्यवसायी तथा सरोकारवालालाई सङ्कल्प गर्न आग्रह गरे । 

मन्त्री शर्माले फूल नेपालीको संस्कृतिसँग पनि जोडिएकाले निकै महत्त्वपूर्ण रहेको बताएका  छन् । ‘कतिपय समाजमा फूलको सम्बन्ध व्यवसायसँग मात्र होला’, उनले भने, ‘तर हाम्रो समाजमा यो व्यवसायसँग मात्रै छैन, हाम्रो संस्कृतिसँग पनि यसको सम्बन्ध छ । हाम्रो समाजमा जन्मिएका बेला फूलबाट स्वागत गरिन्छ, मृत्युपछि पनि यसैबाट बिदाइ गरिन्छ ।’ 

त्यस्तै, फ्लोरिकल्चर एसोसिएसनले बर्सेनि प्रदर्शन आयोजना गर्दै आएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष शुक्रवार (आज) बाट सोमबारसम्म चल्ने बताइएको छ । प्रदर्शनीमा गोदावरी पुष्पसँगै विश्वभर चलेका फुलहरू, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत राखिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए ।  

अध्यक्ष तामाङले प्रदर्शनीको अवलोकन ३५ हजार बराबरले गर्ने अनुमान गरिएको जानकारी दिए । त्यस्तै ५० लाखभन्दा बढीको व्यापार हुने अपेक्षा गरिएको उनले बताए । अध्यक्ष तामाङका अनुसार आर्थिक वर्ष २०७६÷०७७ को प्रदर्शनीमा ७३ लाखको व्यापार भएको थियो ।  

4165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?