जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको कडाइपछि बैंक, वित्तले घटाए मार्जिन प्रकृतिको सेयर धितो कर्जा

राष्ट्र बैंकको कडाइपछि बैंक, वित्तले घटाए मार्जिन प्रकृतिको सेयर धितो कर्जा

बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् । एक वर्षमा नै मार्जिन प्रकृतिको सेयर धितो कर्जा २४.२५ प्रतिशत अर्थात् २५ अर्ब ७७ करोडले घटेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा १ खर्ब ६ अर्ब २८ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७८÷७९ को अन्तिममा आउँदा ८० अर्ब ५० करोड ८० लाखमा झरेको छ ।

२०७७ असारमा ५० अर्ब ४१ करोड रहेको यस्तो कर्जा आर्थिक वर्ष २०७७/७८ मा शतप्रतिशत भन्दा बढीले वृद्धि भएको थियो । कोभिडसँगै बैंकिङ प्रणालीमा भएको अधिक तरलताले लगानीको अन्य विकल्प नभएर सेयरमा लगानी बढाएका बैंकहरुले राष्ट्र बैंकको कडाइसँगै त्यसलाई घटाउँदै लगेका हुन् ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रतिव्यक्ति अधिकतम १२ करोड र एक बैंकबाट ४ करोडको सीमा लगाएको थियो । यस्तै मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षामा २०७९ असारबाट लागु हुने गरी मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत पुयाएको छ ।

एकातिर कर्जामा सीमा तोकेको केन्द्रीय बैंकले प्राथमिक पुँजी कोषको समस्यामा रहेका बैंकहरुलाई जोखिम भार बढाउँदा त्यसले झनै दबाब बढाएको थियो । त्यसैले गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले मार्जिन प्रकृतिको सेयर धितो कर्जा क्रमशः घटाउँदै लगेको राष्ट्र बैंकको तथ्यांकले उल्लेख गरेको छ ।

लगानीमा रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामध्ये वाणिज्य बैंकहरुको ६४ अर्ब ८१ करोड ९० लाख रहेको छ । २०७८ असार मसान्तमा ९० अर्ब ९२ करोड रहेकोमा गत आर्थिक वर्ष २६ अर्ब १० करोड २० लाख अर्थात् २८.७१ प्रतिशतले घटेको छ ।

विकास बैंकहरुले पनि मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् । २०७८ असारमा १२ अर्ब ५२ करोड ८० लाख रुपैयाँ मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेकोमा २०७९ असारमा आउँदा ११ अर्ब ७७ करोड ३० लाख रुपैयाँमा झरेका छन् । फाइनान्स कम्पनीहरुले भने मार्जिन प्रकृतिको कर्जा बढाएका राष्ट्र बैंकको तथ्यांक छ । २०७७ असार मसान्तमा २ अर्ब ८३ करोड ३० लाख लगानी गरेकोमा २०७९ असारमा आउँदा बढाएर ३ अर्ब ९१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

कुल लगानीमा रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जामध्ये १ करोड वा सोभन्दा माथिको ४६ अर्ब ५७ करोड ५४ लाख रहेको छ । त्यस्तै ५० लाखदेखि १ करोडसम्मको १० अर्ब ५६ करोड ३ लाख, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १५ अर्ब २० करोड ८ लाख र २५ लाखभन्दा साना कर्जा ८ अर्ब १७ करोड १४ लाख रहेको छ ।

1255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका