जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • यी हुन् काँग्रेसबाट सांसदको उम्मेदवार बन्न लागेका अर्थशास्त्री र व्यवसायी

यी हुन् काँग्रेसबाट सांसदको उम्मेदवार बन्न लागेका अर्थशास्त्री र व्यवसायी

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो तर्फको उम्मेदवार तय गर्ने अन्तिम कसरतमा छ । प्रत्यक्ष निर्वाचन तर्फका उम्मेदवार तय गर्न काँग्रेस नेताहरू आन्तरिक र सामूहिक छलफललाई अन्तिम रूप दिँदै छन् ।

चुनाव जित्ने आधार भएका, प्रभावशाली नेताहरूको सिफारिसमा परेका तथा पार्टीलाई आर्थिक रूपमा सहयोग गर्ने र गर्न सक्ने व्यक्तिहरूलाई पनि समेटेर काँग्रेसले उम्मेदवार तय गर्न लागेको छ । यसरी उम्मेदवार तय गर्दा काँग्रेसले प्रतिनिधिसभातर्फ दर्जनभन्दा बढी उद्यमी व्यवसायीलाई उम्मेदवार बनाउने चर्चा चलेको छ ।

राजकीय जिम्मेवारीमा रहेका व्यवसायी उमेश श्रेष्ठ र अर्थशास्त्री डा. विश्व पौडेलले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्ने सम्भावना अधिक रहेको नेताहरूले बताएका छन् । श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारीमा छन् भने पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रधानमन्त्री अन्तरगतको निकाय हो भने राष्ट्रिय योजना आयोगको अध्यक्ष पनि प्रधानमन्त्री नै रहने व्यवस्था छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यको लागि चितवन–१ बाट आयोग उपाध्यक्ष डा. पौडेललाई टिकट दिने स्रोतको दाबी छ । सो क्षेत्रबाट आयोगकै पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नाम पनि सिफारिस भएको थियो । डा. वाग्लेले सो क्षेत्रबाट चुनाव लड्नको लागि टिकटको प्रयास पनि गरेका छन् । यद्यपि, नेपाली काँग्रेस पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट सम्बन्ध भएका कारण डा. वाग्लेको भन्दा डा. पौडेलको सम्भावना बढी भएको बताइएको छ ।

यस्तै, काँग्रेसले चितवन–२ बाट पार्टी केन्द्रीय सदस्य तथा राज्यमन्त्री श्रेष्ठलाई टिकट दिने भएको छ । उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि हुन् । शिक्षा व्यवसायी श्रेष्ठलाई प्रधानमन्त्री देउवाले सुरुमा स्वास्थ्य राज्यमन्त्री र त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको राज्यमन्त्री बनाएका छन् ।

व्यवसायी विनोद चौधरीलाई नेपाली काँग्रेसले नवलपरासी १ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनाउने स्रोतले जानकारी दियो । चौधरी नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि हुन् । व्यावसायिक घराना चौधरी ग्रुपका अध्यक्ष चौधरीले नवलपुरबाट उम्मेदवार बन्ने हल्ला थियो । तर, उनी नवलपरासी–१ बाट उम्मेदवार बन्न लागेका हुन् ।

नेपाली काँग्रेसले गोर्खा २ बाट पर्यटन व्यवसायी राजेन्द्र बजगाईंलाई उम्मेदवार बनाएको काँग्रेसका एक पदाधिकारीले बताए । व्यवसायी बजगाईं नेपाली काँग्रेसको गत महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । काँग्रेसले व्यवसायी मोहन आचार्यलाई रसुवाबाट उम्मेदवार बनाएको छ । निर्माण व्यवसायी आचार्य नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद पनि हुन् । काँग्रेसले नुवाकोट–२ बाट बहादुरसिंह लामालाई उम्मेदवार बनाउन लागेको स्रोतले जानकारी दियो । निर्माण व्यवसायी लामा काँग्रेस केन्द्रीय सदस्य पनि हुन् । उनी यसअघि प्रतिनिधिसभाको लागि काँग्रेसका समानुपातिक सांसद थिए ।

नेपाली काँग्रेसले रामेछापबाट उम्मेदवार बनाएको कान्छाराम तामाङ पनि व्यवसायी हुन् । निर्माण व्यवसायमा संलग्न तामाङ २०७४ को निर्वाचनमा पनि काँग्रेसबाट उम्मेदवार बनेका थिए । उनी नेपाली काँग्रेसको रामेछाप जिल्ला सभापति पनि हुन् । यस्तै, काँग्रेसकै तर्फबाट मनाङको लागि उम्मेदवार बनेका टेकप्रसाद गुरुङ पनि व्यवसायी हुन् । वैदेशिक रोजगार व्यवसायमा संलग्न गुरुङ नेपाली काँग्रेसबाट सक्रिय राजनीति गर्दै आएका नेता हुन् ।

1785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका