जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सुखद नतिजाको अपेक्षासहित ६ वर्षपछि लाओससँग भिड्दै नेपाल

सुखद नतिजाको अपेक्षासहित ६ वर्षपछि लाओससँग भिड्दै नेपाल

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले आज लाओसको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

खेलाडी विदेश पलायनबीच नयाँ खेलाडीहरू समावेश गर्दै नेपालका नव नियुक्त प्रशिक्षक भिन्सेन्जो अल्वर्टौ एनेसले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका छन् ।

तयारीका लागि छोटो समय पाएको नेपाली टिमको लक्ष्य घरेलु मैदानमा उपाधि जित्ने रहेको छ । सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपमा नेपालले लाओसलाई टाइब्रेकरमा हराएको थियो । त्यसयता फेरी नेपालले आज ६ वर्षपछि लाओससँग सुखद नतिजाको अपेक्षासहित प्रतिस्पर्धा गर्दैछ ।

छोटो तयारी भए पनि लाओसविरुद्ध नेपालले राम्रो नतिजाका लागि फाइट गर्ने नेपालका कप्तान किरण चेम्जोङले बचाएका छन् ।
‘छोटो तयारी भए पनि हामीले राम्रो गरेका छौँ । लाओस विरुद्ध राम्रो नतिजाका लागि फाइट गर्छौं,’ उनले भने ।

लाओस फिफा वरियताका आधारमा नेपाल भन्दा पछि रहेको टिम हो । नेपाल १७५औँ स्थानमा रहँदा लाओस १८७औँ स्थानमा रहेको छ । वरियता जे जस्तो भए पनि फुटबलमा ९० मिनेटसम्म जसले राम्रो खेल्छ उसैले जित्ने नेपालका प्रशिक्षक भिन्सेन्जो बताउँछन् ।

‘वरियताको आधारमा कुनै पनि टिमलाई कमजोर सोच्नु हुँदैन । मैदानमा सबै हाम्रो प्रतिस्पर्धी हुन् । राम्रो खेल्न सकेन भने नम्बर एक वरियताको टिम पनि हार बेहोर्नु पर्छ,’ उनले भने ।

प्रतियोगिताका लागि २३ सदस्सीय नेपाली टिममा ७ नयाँ खेलाडी समावेश भएका छन् । नयाँ प्रशिक्षक र नयाँ खेलाडी टिममा हुनु र छोटो समयको तयारी चुनौतीपूर्ण भए पनि त्यसलाई स्विकारेर नेपाली टिम अघि बढेको कप्तान किरणले बताएका छन् ।

‘छोटो समयको तयारी नयाँ प्रशिक्षक र नयाँ खेलाडीहरू थोरै चुनौतीपूर्ण छ । तर, हामीले प्रशिक्षकको नयाँ रणनीति र टिममा भएका सबै नयाँ अनुहारलाई स्विकारेर लाओसँग भिड्न तयार छौँ,’ उनले भने ।

गोलकिपर अभिषेक बराल, डिफेन्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिडरहरु मणिकुमार लामा र फरवार्डहरु सुमित श्रेष्ठ, दीपक रानसिंह ठकुरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

प्रशिक्षक भिन्सेन्जोले नेपालको शीर्ष डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा यी खेलाडीहरूलाई टिममा समावेश गरेका हुन् ।

नेपालका स्टार फरवार्ड विमल घर्ती मगर लगायत केहि सिनियर खेलाडीहरू चोटका कारण टिममा परेका छैनन् ।

प्रशिक्षक भिन्सेन्जोले आफूले मैदानमा ९० मिनेट खेल्न सक्ने क्षमता भएका खेलाडीलाई छनोट गरेको र केहि राम्रा खेलाडीलाई चोटका कारण छनोट नगरेको बताए ।

‘मैले अहिले लिगमा ९० मिनेट खेलेका र खेल्न सक्ने साथै क्षमतावान् खेलाडीहरू छनोट गरेको छ । मैले चाहेका केहि सिनियर खेलाडी घाइते भएका कारण टिममा पर्न असफल भएका छन् । समय अलि छोटो भयो । लिगमा पनि धेरैतिर खेल भएकाले मैले अलि अलि मात्रै खेल हेर्न पाए । तर, मैले खेलाडीहरूको खेल प्रतिको लगाव, खेल भावना र खेल्ने शैली हेरेर टिममा राखेको छु,’ भिनेसेन्जोले भने ।

नेपालले पछिल्लो समय गत असोजमा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलपछि कुनै खेल खेलेको छैन । उक्त खेलमा नेपालले पाकिस्तानलाई १–० गोलको नतिजामा पराजित गरेको थियो । पछिल्ला ६ खेलमा जितविहीन रहेको लाओस नेपालविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रिनेछ ।

युवा टोली लिएर नेपाल आएका लाओसका मुख्य प्रशिक्षक माइकल वेसले राम्राे नतिजाका लागि खेल्ने बताए ।

‘हामीसँग युवा टिम छ । हामी वर्तमान भन्दा पनि भविष्यका लागि तयारी गरिरहेका छौँ । हाम्रो देशमा लिग चलिरहेकाले तयारी गर्ने समय लामो पाएनौँ । जे भए पनि हामी राम्रो नतिजाका लागि खेल्छौँ,’ उनले भने ।

यस्तै, लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले पहिलो पटक नेपाल आउँदा खुसी लागेको र यहाँ लाओसको फुटबल देखाउने बताए ।

थ्री नेसन्स कप सिंगल राउन्ड रोबिन पद्धतिमा हुने भएकाले शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । विजेता टिमले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार डलर पाउनेछन् ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले चैत्र १४ गते भुटानसँग खेल्नेछ । त्यसअघि, चैत्र ११ गते भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल चैत्र १७ गते हुनेछ ।

 

4265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका