जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एनआरएन र ठूला घरानाले नयाँ स्टकका लागि दियो आवेदन, को-को छन् ठूला खेलाडी ?

एनआरएन र ठूला घरानाले नयाँ स्टकका लागि दियो आवेदन, को-को छन् ठूला खेलाडी ?

हिमालयनपछि नयाँ स्टकका लागि नेशनल स्टक एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको नेशनलले आइतबार बोर्डमा आवेदन दिएको हो।

सर्वोच्च अदालतले अर्को स्टक स्थापनाका लागि बाटो खोलिदिएपछि लाइसेन्स लिन ठूला कर्पोरेट घरानाबीच प्रतिष्पर्धा चर्को छ। दीपक मालिका आयलका अध्यक्ष हुन्।

निजी क्षेत्रको पेट्रोलियम कारोबार गर्ने भन्दै स्थापना भएको उनको कम्पनीले तेल कारोबार भने गर्न सकेन। यो बाहेक तिमिल्सिना स्मार्ट टेलिकमका पनि संचालक भइसकेका छन्। उनले नै नयाँ स्टकको राजनीतिक वातावरण तयार पारेर व्यवसायिक समूहलाई एकताबद्ध बनाएका हुन्। तिमिल्सिनाको सबै राजनीतिक दलसँग नजिकको सम्बन्ध छ।

बोर्ड स्रोतका अनुसार यो कम्पनीमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ। बेलायत बसेर व्यापार गरिरहेका रविजंग लामिछानेको पनि नेशनलमा लगानी छ।

यो बाहेक अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठको समेत यो कम्पनीमा लगानी छ। नेशनलमा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडियाको पनि लगानी छ। कम्पनीमा रिलायन्स ग्रुपको समेत लगानी छ। रिलायन्स ग्रुपमा विनोदकुमार अग्रवाल, नारायण तोदी, भरतकुमार तोदी, ऋषि अग्रवाल लगायतको लगानी छ।

बोर्डले दिएको समय आज सकिँदैछ। बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो।

गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि सर्वोच्चमा मुद्दा परेको थियो। पाँच महिनादेखि रोकिएको प्रक्रिया अदालतको ‘ग्रीन सिग्‍नल’ ले हटेपछि बोर्डले आवेदन माग गरेको हो। पाँच महिनाअघि ४५ दिनको समय दिएर आवेदन माग गरिएको थियो।

आवेदन दिने समय नसकिँदै मुद्दा परेर अदालतले प्रक्रिया अगाडि नबढाउन भनेको थियो। सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले बाटो खोलिदिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको हो। नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ। यो सर्वसाधारणको सेयरसहित हो। संस्थागतले ७० प्रतिशत लगानी गरे हुन्छ।

अहिले सरकारको समेत मुख्य लगानीमा नेपाल स्टक एक्सचेञ्ज सञ्चालनमा छ। बोर्डले अर्को एउटा स्टक एक्सचेञ्ज थपेर प्रतिस्पर्धात्मक वातावरण तयार पार्न खोजेको हो।

एउटा मात्र स्टक एक्सचेञ्ज हुने र त्यो पनि सरकारी लगानीले गर्दा छिटो र आमूल रूपमा आधुनिकीकरण गर्न सकिएको छैन। नयाँ स्टक आउँदा आधुनिक प्रविधि तत्काल प्रयोगमा ल्याउन सकिने र नेपाल स्टक एक्सचेञ्जलाई पनि प्रतिस्पर्धी आउँदा गुणस्तर सुधार गर्न बाध्यता आइपर्ने बुझाइ छ।

 

750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?