जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यो जगदुल्ला जलविद्युत आयोजनाको पीपीए

यो जगदुल्ला जलविद्युत आयोजनाको पीपीए

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) भएको छ।

बुधबार जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले नेपाल विद्युत प्राधिकरणसँग पीपीए गरेको हो। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र जगदुल्ला जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) संजय सापकोटाले हस्ताक्षर गरेका छन्।

वर्षायाममा ४.८० रुपैयाँ प्रतियुनिट र सुक्खायाममा ८.४० रुपैयाँ प्रतियुनिट पीपीए गरिएको हो। सुक्खायाममा पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ प्रतियुनिट तोकिएको छ। यो आयोजनाले ४ देखि ६ घण्टासम्म पिकिङ दिन सक्छ।

पीपीए भएसँगै आयोजनाको फाइनान्सिल क्लोजर (लगानीको अन्तिम टुंगो) र निर्माणको बाँकी प्रक्रिया अघि बढाउन लागि बाटो खुलेको जगदुल्ला जलविद्युत कम्पनीका सीइओ सापकोटाले बताए। ‘पीपीए सम्पन्न भएको छ। पीपीए नगरी फानाइन्सियल क्लोजर लगायतको प्रक्रिया सुरु गर्न सकिदैन,’ उनले भने,’अब आयोजना निर्माणको बाँकी प्रक्रिया धमाधम सुरु हुन्छ।’

उनका अनुसार अहिले पूर्व तयारीको काम धमाधम चलिरहेको छ। आयोजनाको साइटसम्म पुग्नका लागि पहुँचमार्ग निर्माणको काम भइरहेको छ। करिब १० किमी पहुँचमार्ग निर्माण गर्नुपर्नेछ। भने ९ वटा बेलिव्रिज निर्माण गर्नुपर्नेछ। बेलिव्रिजका लागि ठेक्का भइसकेको छ। एक/दुई दिनमै सम्झौता गर्ने तयारी भएको सापकोटाले बताए।

जाजरकोट, डोल्पाको त्रिवेणी भन्ने ठाउँबाट ४५ किमी पहुँचमार्ग निर्माण गरेर हेडवर्क्स पुग्न सकिन्छ। हेडवर्क्सबाट २५ किमी सडक स्थानीय पालिकाले खनिसकेको छ। त्रिवेणीबाट पूर्वाधार विकास कार्यालय डोल्पाले काम गरिरहेको छ। अब १० किलोमिटर ट्रयाक खोल्न बाँकी छ। एक किलोमिटर खण्डमा भीर छ।

जसमा विष्फोटक पदार्थ प्रयोग गर्नुपर्छ। सोही कारण आयोजना आफैंले निर्माण गर्न लागेको छ। यो खण्डको पनि ठेक्का लगाइसकेको छ। जुम्लाबाट हेडवर्क्ससम्म पहुँच भए पनि त्रिवेणीतिरबाट छैन।

आयोजना निर्माणको ठेक्का निकाल्नको लागि बिडिङ डकुमेन्ट तयारीको काम भइरहेको छ। ‘यही वर्ष ठेक्का प्रक्रियाको काम सकेर अर्को वर्ष निर्माणमै जाने गरि काम गरिरहेका छौं। अहिले सबै खालका तयारीको काम रफ्तारमा छ।’

यो आयोजनाको इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन (इपीसी) मोडलमा निर्माण गर्ने योजना छ। यस्तो मोडलमा आयोजना निर्माण गर्दा निर्माण कम्पनी बढी जिम्मेवार हुन्छ। डिजाइन,खरिददेखि निर्माणसम्मको काम गर्नुपर्छ।

फाइनान्सिल क्लोजरका  लागि आजै बैठक,निफ्राले लिड गर्ने

पीपीए भएकै भोलिपल्टै(विहीबार) फाइनान्सियल क्लोजरका लागि बैंक तथा वित्तिय संस्थासँग बैठक बस्दैछ।

नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा कन्सोर्टियम फम (सहवित्तियकरण) गर्नेछ। नविल बैंकले सहवित्तियकरणको सह-नेतृत्व गर्नेछ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कर्मचारी संचय कोषलगायत अन्य बैंक तथा वित्तीय संस्थाहरु सहवित्तियकरणमा सहभागी हुनेछन्।

आयोजना निर्माणका लागि करिब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। १६ अर्ब रुपैयाँ ऋण  र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाइनेछ।  आजै टर्म सिटमा हस्ताक्षर गर्ने योजना रहेको सापकोटाले बताए।

प्रस्तावित आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत तयार भइसकेको छ। प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन गरेको हो।

आयोजना डोल्पाको जगदुल्ला र मुडकेचुला गाउँपालिकामा पर्ने जगदुल्ला नदीमा निर्माण हुनेछ। हेडवर्क्स जगदुल्ला गाउँपालिका १ हुरिकोटमा निर्माण हुनेछ।

आयोजना अर्ध जलाशययुक्त प्रारुपको हुनेछ।  जगदुल्ला नदीमा २३ मिटर अग्लो बाँध निर्माण गरी ४८.२७६ वर्गमिटर क्षेत्रफलमा फैलिएको ४६५९७० घन मिटर क्षमताको जलाशय बन्नेछ। ६ घण्टासम्म पिकिङ क्षमताको आयोजनाबाट वार्षिक करिब ६१५.३२ गिगावाट आवरबराबरको ऊर्जा उत्पादन हुनेछ।

करिब ६.२ किमी टनेलमार्फत डाइभर्ट गरी १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।

1170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका