जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एक अर्बबढीको मागदावीसहित ६७ सहकारी विरुद्ध ठगीको उजुरी

एक अर्बबढीको मागदावीसहित ६७ सहकारी विरुद्ध ठगीको उजुरी

सहकारीको ठगी कार्य नघटेपछि अहिले काठमाडौं महानगरपालिकाले मिलापत्र गराउन नसकेर ठूलो संख्यामा ठगीका उजुरीलाई प्रहरी तर्फ पठाएको छ ।  महानगरपालिकाको सहकारी विभागमा परेका ६७ सहकारी विरुद्ध ठगीको उजुरीलाई प्रहरीको जिम्मा लगाएको हो ।

विभागका अनुसार ती सहकारीहरू विरुद्ध २ हजार ६५३ जना बचतकर्ताले १ अर्ब १२ करोड ४८ लाख ६९ हजार रुपैयाँ मागदावी सहित उजुरी दिएका हुन् । यो सङ्ख्या विभागले मिलापत्र गर्न नसकी प्रहरीकोमा पठाएको उजुरीको सङ्ख्या हो । यस बाहेक अन्य उजुरीहरूमा सहकारीका सञ्चालक र बचतकर्ताबिच मिलापत्र गराइएको विभागका विभागीय प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।

उनले भने, ‘बचतकर्ताहरूको उजुरी त धेरै मात्रामा आउने गर्छ । तर, धेरैजसो केशमा भने बचतकर्ता र सञ्चालकहरूलाई बोलाएर मिलापत्र गरेर पठाएका छौँ । मिलापत्र गर्न नसकेको उजुरीहरू प्रहरीकोमा पठाएका छौँ ।’

उनका अनुसार पछिल्लो समय सहकारी प्रति बजारमा देखिएको हल्लाका कारण पनि सहकारीमा झन् समस्या थपिँदै गएको छ । ‘बचतकर्ताहरूमा बचत सुरक्षाको डर बढ्यो । सहकारीले ठगेर भागे भन्ने हल्लाले राम्रोसँग चलिरहेका सहकारीप्रति समेत बचतकर्ताको विश्वास गुम्यो । यसले पनि समस्या बढ्दै गएको हो ।’

मुलुकमा देखिएको वित्तीय सङ्कट र आर्थिक मन्दीका कारण पनि सहकारीमा समय देखिएको उनको भनाई छ । उनी भन्छन्, ‘अहिले बजारमा देखिएको समस्या सहकारी क्षेत्रको मात्र होइन । वित्त प्रणाली नै मन्दी र सङ्कटमा छ । तरलता अभाव र लगानी नउठेका कारण पनि सहकारी क्षेत्र झन् समस्यामा परेको हो ।’

कतिपय सहकारीहरूले अनुत्पादन क्षेत्रमा लगानी गरेका कारण पनि समस्यामा परेको उनले बताए । ‘सहरकारीहरूले नियमभन्दा बाहिर रहेर घरजग्गा र शेयर बजारमा लगानी गरे । आर्थिक मन्दीका कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । घरजग्गाको कारोबार नभएका कारण पनि सहकारीले गरेको लगानी नउठ्दा बचत फिर्ता गर्न सकेनन् र समस्या देखा पर्‍यो’, उनले थपे ।

उजुरी परेका सहकारीमा धेरै जसो वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारीका साथै बहुउद्देश्यीय सहकारी पनि परेका छन् । एउटै सहकारी विरुद्ध करौडौं ठगीको उजुरी परेको विभागले जनाएको छ ।

हालसम्म विभागमा परेका उजुरीमा ६७ वटा सहकारीका उजुरी मिलापत्र गर्न नसकी थप कारबाही र बचत सुरक्षाका लागि प्रहरीकोमा पठाइएको विभागको भनाई छ । विभागका अनुसार बचत फिर्ताका लागि पेश भएका उजुरीमा करिब ८० वटा संस्थाका सदस्यहरुमा २५० जनाको बचत फिर्ता भएको छ । हाल ७ वटा संस्थाको बचत फिर्ताको कारवाही भइरहेको विभागले जनाएको छ ।

सहकारी विभागका अनुसार हालसम्म ५ वटा बहुउद्देश्यीय सहकारी विरुद्ध ५ करोड ८५ लाख ८५ हजार ३११ रुपैयाँको मागदावीसहित २३८ बचतकर्ताले उजुरी दिएका छन् । जसमा स्वर्ण पथ, किरणोदय, हितकोष, मध्यविन्दु र गरुण बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्

यसैगरी, समयमा बचत फिर्ता गर्न नसकी कालोसूचीमा परेका तीन सहकारी विरुद्ध ४ करोड ३४ लाख ७८ हजार ३२२ रुपैयाँ बराबरको मागदावीसहित ९५ जनाको उजुरी परेको छ । यसरी कालोसूचीमा पर्ने सहकारीहरूमा माँ अम्बे बचत तथा ऋण सहकारी, पर्फेक्ट बचत तथा ऋण सहकारी र सम्वर्दन बचत तथा ऋण सहकारी रहेका छन् । कर्जा सूचना केन्द्रले उक्त सहकारीलाई कालोसूचीमा राखेको छ ।

उजुरी परेका उक्त सहकारीमा माँ अम्बे बचत तथा ऋण सहकारी विरुद्ध दश बचतकर्ताले ५७ लाख १४ हजार ७८७ रुपैयाँ बराबरको मागदावी परेको छ । त्यस्तै,  पर्फेक्ट बचत तथा ऋण सहकारी विरुद्ध २५ बचतकर्ताको ३ करोड ९ लाख ७४ हजार ९६९ रुपैयाँ र सम्वर्दन बचत तथा ऋण सहकारी विरुद्ध ६० बचतकर्ताको ६७ लाख २८ हजार ५६६ रुपैयाँ मागदावीसहितको उजुरी परेको छ ।

विभागका अनुसार बहुउद्देश्यीय सहकारी बाहेक बचत तथा ऋणको कारोबार गर्ने ६२ सहकारी विरुद्ध २ हजार ४१५ बचतकर्ताले एक अर्ब ६ करोड ६२ लाख ८१ हजार रुपैयाँ बराबरको मागदावी सहित उजुरी दिएका छन् ।

उजुरी परेका सहकारीमा न्युज डेभलपमेन्ट बचत तथा ऋण सहकारी विरुद्ध एक बचतकर्ताको दुई लाख ८४ हजार रुपैयाँ बराबरको मागदावी परेको छ । त्यस्तै, अष्ट मङ्गल बचत तथा ऋण सहकारी विरुद्ध एक बचतकर्ताले २९ लाख ५० हजार रुपैयाँ, ढुकु पिकु सहकारी विरुद्ध ५० लाख रुपैयाँ, चाइना टाउन सहकारी विरुद्ध २ बचतकर्ताले १८ लाख ४७ हजार रुपैयाँ बराबरको मागदावी सहित उजुरी दिएका छन् ।

त्यस्तै, समुन्नत सहकारी विरुद्ध सात बचतकर्ताले एक करोड ५२ लाखको मागदावी गरेका छन् । विभागका अुसार विज्नेश बचत तथा ऋण सहकारी विरुद्ध १५ बचतकर्ताले २ करोड ५८ लाख ८० हजार रुपैयाँ, एल पी जी सहकारी विरुद्ध ८५ बचतकर्ताको ४३ लाख ८७ हजार ९८६ रुपैयाँ, लक्ष्मीबास सहकारी विरुद्ध ९ जनाको २० लाख ३४ हजार ७१७ रुपैयाँ, सूर्योदय ज्योतिविरुद्ध ४९ बचतकर्ताले १६ लाख ५१ हजार १२३ रुपैयाँ र स्वतन्त्र शान्ति सहकारीका ४७ जानले २ करोड ५८ लाख ९३ हजार १३३ रुपैयाँ मागदावीसहित उजुरी दिएका छन् ।

त्यस्तै, यस अवधिमा मानापाथी सहकारी विरुद्ध ४ करोड ५३ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको मागदावी सहित ६९ जना बचतकर्ताको उजुरी परेको छ । ल्होत्से सहकारीका २३ जनाले ९१ लाख २४ हजार १२२ रुपैयाँ, सोसाइटी सहकारीका दुई बचतकर्ताले ५ लाख ९२ हजार ७९३ रुपैयाँ बराबरको मागदावी सहित विभागमा उजुरी दिएका छन् ।

विभागका अनुसार एउटै सहकारी विरुद्ध ३९ करोड ११ लाख ४१ हजार ३४० रुपैयाँ मागदावी सहित उजुरी परेको छ । गृहशान्ती बचत तथा ऋण सहकारी विरुद्ध उक्त रकम बराबरको मागदावीसहति उजुरी परेको हो ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका