जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १० अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेलायत पलायन

१० अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेलायत पलायन

धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल । सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो ।

आफूलाई स्वयं निर्मित व्यक्तित्वका रूपमा चिनाउन रुचाउने भरत ‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको सुनाउँथे ।

तर उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलेको छ । अनि बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उपचारको बहाना बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।

ब्याजको लोभमा सहकारीमा पैसा

महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी सुरु गरेका थिए । तर २०६२/६३ को आन्दोलनपछि सहकारी फस्टाउन थाले । किनकि सरकारले नै सहकारीलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाको मान्यता दियो र सरकारले दिने अनुदानहरूलाई सहकारी मार्फत दिन थाल्यो । राजनीतिज्ञहरूसँग निकट भएर भरत महर्जनले पनि त्यसको लाभ लिए ।

त्यसका अतिरिक्त साँझ ५ बजेसम्म कार्यालय खुला राख्नेदेखि अनेक स्मिक देखाएर सार्वसाधारणलाई लोभ्याए । सहकारीमा रकम जम्मा गर्न लगाए । जब सहकारीको पूँजी बढ्यो, उनले त्यसलाई मनपरी ढंगले चलाउन थाले ।

महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरे । २०६९ मा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोले । सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्म खोले । काठमाडौं उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरे ।

एउटा समय यस्तो थियो, उनलाई कुनै जग्गा मन परेपछि जुनसुकै मूल्यमा किन्थे । नजिकबाट चिन्नेहरू भन्छन्, ‘महाभारतको पाण्डुलिपि जति मोटो छ, भरत महर्जनले जग्गाको लालपुर्जा त्योभन्दा कम छैन ।’

३ करोडभन्दा बढी मूल्यको गाडी चढ्थे । परियोजना तथा कम्पनी उद्घाटन, शिलान्यास तथा सभाहरूमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायतलाई बोलाउँथे । धन भएका व्यवसायीले बोलाएपछि नेताहरूले नाइँ भनेनन् । भेट दिए, बोलाएको ठाउँमा गएर रिवन काटे ।

सातदोबाटोस्थित सुमेरु ग्रुपको कार्यालयको बैठक कक्ष हेर्दा यस्तो लाग्छ, भरत महर्जनसँग फोटो खिच्न बाँकी कोही पनि ठूला नेता बाँकी छैनन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालदेखि कांग्रेस महामन्त्री गगन थापासम्म उनी फ्रेममा अटाएका छन् । कसैसँग कुम जोडेर बसेको त कसैलाई पुष्पगुच्छाले स्वागत गर्दै गरेको तस्वीर बैठक हलभरी छन् ।

ललितपुरको २३ नम्बर वडा कार्यालय, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, सातदोबाटोस्थित महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन र सातदोबाटोकै महानगरीय प्रहरी वृत्तको भवन निर्माणमा अगुवा बनेर स्थानीयमाझ समाजसेवीको छवि पनि बनाएका थिए ।

अनि, राजनीतिक पहुँच भएका सफल व्यवसायी, समाजसेवी छवि देखाएर बचतकर्ताको विश्वास जितिरहे । ‘मैले आफ्नो, श्रीमान् र छोराछोरी सबै गरेर डेढ करोड रुपैयाँ राखेको छु’ एक बचतकर्ताले अनलाइनखबरसँग भने, ‘अस्पताल, कलेज लगायत सबै सम्पत्ति सहकारीकै हुन्, पैसा डुब्दैन भनेर देखाउनुहुन्थ्यो । होला त भनेर विश्वास गर्दा दुःख पाइयो ।’

३४ हजार भन्दा बढी बचतकर्ताको रकम भने आफू र परिवारको नाममा कम्पनी खोल्न र सम्पत्ति जोड्न खर्चिए । अहिलेसम्म प्राप्त विवरणअनुसार भरतले व्यक्तिगत र सुमेरु ग्रुप अन्तर्गतका कम्पनीको जग्गा जमिन र सम्पत्ति मात्रै १५ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै देखिएको छ । कतिपय जग्गाको विवरण आएकै छैन ।

श्रीमती र छोराछोरीको हालीमुहाली

सुमेरु सहकारीको पुल्चोकमा केन्द्रीय कार्यालय छ भने धापाखेल र गट्ठाघरमा शाखा कार्यालय । सुमेरुकै नामबाट कालीमाटीमा अर्को सहकारी छ । दुवै सहकारीमा गरी ३४ हजार ७७८ जना बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार ७०२ रुपैयाँ बचत छ ।

यसमध्ये १ अर्ब ९८ करोड ४८ लाख ८९ हजार ५०४ रुपैयाँ मात्रै कर्जा लगानी गरेको रेकर्ड भेटिएको बचतकर्ता तथा सहकारीको सञ्चालक समितिले निकालेको श्वेतपत्रमा उल्लेख छ । बाँकी रकम भने भरत महर्जनका कम्पनी तथा व्यवसायमा मनलाग्दी लगानी भएको छ ।

सुमेरु, पुल्चोकमा २१ वर्षसम्म भरत आफैं अध्यक्ष थिए । पछिल्लो पटक पूर्वकर्मचारी हेमराज दाहाललाई अध्यक्ष र भतिज वीरु महर्जनलाई उपाध्यक्ष बनाएका छन् । अध्यक्ष दाहाल र सचिव विनोद आचार्यबाहेक बाँकी सञ्चालकहरू भरतकै परिवारभित्रका सदस्य हुन् ।

कालीमाटीको सहकारीमा पनि सुरुमा श्रीमती राजमायालाई अध्यक्ष बनाएका थिए त्यसपछि क्रमशः भान्जा विकास महर्जन र छोरा सचिन महर्जनलाई अध्यक्ष बनाए । दुवै सहकारीको अध्यक्ष मात्रै होइन, सञ्चालक र व्यवस्थापन समितिमा समेत महर्जन परिवारकै हालीमुहाली छ । सञ्चालक समितिका उपाध्यक्ष तथा सुमेरु साकोसका कार्यकारी प्रमुख वीरु महर्जन, भरत महर्जनका भतिज हुन् । सञ्चालकहरू दिलीप डंगोल र सुनिल डंगोल नाताले उनका भान्जा हुन् ।

यस्तै कालीमाटी सहकारीकी सञ्चालक स्वच्छन्दा मानन्धर समेत उनको नजिकको आफन्त हुन् । गट्ठाघर शाखाका प्रबन्धक सरोज महर्जन, भरतको दाइका छोरा हुन् भने सुमेरु साकोस धापाखेलका प्रबन्धक उज्वल महर्जन भान्जा । सञ्चालक रमेश महर्जन पनि भाञ्जा भएकाले सहकारीबाट उनले जस्तो चाह्यो, त्यस्तै निर्णय र कामकारबाही भयो ।

बचतकर्ताले जम्मा गरेको रकम लगेर विभिन्न कम्पनीमा खन्याए, जसको स्वामित्व सरकारी होइन, भरत र परिवारका सदस्यहरूको नाममा छ ।

धापाखेलस्थित सुमेरु सामुदायिक अस्पतालमा भरत आफैं अध्यक्ष छन् भने परिवारका सदस्यहरू सञ्चालक । अस्पताल, त्यसले चर्चिएको जमिन तथा अन्य सबै सम्पत्ति भरत महर्जन र उनको परिवारका नाममा छ ।

सुमेरु सहकारीका सञ्चालक समिति र बचतकर्ताले संयुक्त रूपमा निकालेको श्वेतपत्र अनुसार १५ रोपनी १३ आना ३ पैसा एक दाम जग्गा छ । जसको बजार मूल्य १ अर्ब ५२ करोडभन्दा बढी मानिएको छ ।

अस्पतालको भौतिक संरचना, मेसिनरी लगायत सबै सामानको मूल्यांकन १ अर्ब मानिएको छ । कुल २ अर्ब ५२ करोड १० लाख मूल्यांकन गरिएको यो अस्पतालको शेयरमा मुख्य हिस्सा भरत र उनको परिवारको छ । यस्तै पुल्चोकस्थित सुमेरु सिटी अस्पताल परिसरमा २ रोपनी १३ आना ३ पैसा बढी जग्गा छ ।

सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको सञ्चालक समिति र बचतकर्ता समितिले संयुक्त रुपमा निकालेको श्वेतपत्रको अंश
श्वेतपत्रमा भौतिक संरचना र मेसिनरी सबै गरेर यो अस्पतालको मूल्यांकन १ अर्ब ४२ करोड राखिएको छ, तर यसको पनि भरतकै स्वामित्वमा छ ।

धापाखेलस्थित हर्स राइडिङ एरियामा ३१ रोपनी ४ आना २ पैसा २ आना जग्गा छ, यो सुमेरु हाउजिङ र हस्पिटलको नाममा छ भने केही रमेश महर्जनको नाममा छ । यो जग्गाको बजार मूल्य मात्र १ अर्ब ४५ करोड रहेको श्वेतपत्रमा उल्लेख छ । सुमेरु मार्ट, सातदोबाटोले चर्चिएको ४ रोपनी ७ आना २ पैसा जग्गाको धनी पनि भरतकै स्वामित्वमा रहेको एसियन फाउण्डेसन, सुमेरु हाउजिङ र शंकरापुर एकेडेमीको नाममा छ । जग्गा र त्यहाँ रहेका भौतिक संरचनाको बजार मूल्य १ अर्ब १६ करोड बढी हुने देखिएको छ ।

लेलेमा ४२ रोपनी १२ आना, इकुडोलमा १२८ रोपनी ७ आना २ पैसा जग्गा छ, जसको स्वामित्व भरतले नेतृत्व गरेको निजी कम्पनीकै छ । सुमेरु रिसोर्ट टौदह रहेको चाल्नाखेलको २१ रोपनी ४ आना जग्गा भने भरतका छोराछोरी सचिन र सरलाको नाममा राखेका छन् ।

भरतले श्रीमती राजमायाको नाममा धापाखेल, ललितपुर–३ मा जग्गा किनेका छन् भने आफ्नो नाममा गट्ठाघर, छैमले लामाटार, नुवाकोटको बेलकोट लगायत क्षेत्रमा जग्गा जोडेका छन् । चितवनको देवौली र रामनगर, हेटौंडाको हटिया, तनहुँको दमौली लगायत क्षेत्रमा पनि जग्गा किनेको पाइएको श्वेतपत्रमै उल्लेख छ ।

श्रीमतीसँग नक्कली डिभोर्स, परिवारसहित बेलायत टाप

जनताको रकम आफ्ना निजी कम्पनीहरूमा हत्याएपछि कुनै दिन संकट आउने निश्चित थियो । कोरोना महामारी लगायत कारण आर्थिक प्रणालीमा आएको समस्याले सुमेरुमा त्यो संकट छिट्टै ल्याइदियो ।

सुमेरु सहकारीले २०७९ पुसदेखि बचतकर्ताको बचत फिर्तामा सिलिङ लगाउन थाल्यो । आफूले दुःख गरेर जम्मा गरेको रकम फिर्ता माग्न आउने बचतकर्ताहरूको लाम लागेपछि सुमेरु सहकारीले कार्यालय खोलेर कारोबार सञ्चालन गर्न सक्ने अवस्था समेत रहेन ।

त्यही बेला अध्यक्ष भरत भने बेलायत लागे । सञ्चालक समितिका सदस्यहरूले दिएको जानकारी अनुसार मंसिर २०७९ को चुनाव अघि नै उनी बेलायत गएका थिए । निर्वाचनको बेलामा चन्दा माग्न आउनेहरू धेरै हुन्छन् भन्दै सहकारीमा ३०/४० करोड रकम झिकिदिएर बेलायत गए । उनी नफर्किंदै पैसा सकियो । उनी फर्किएपछि लेनदेनका लागि भनेर सहकारीमा ३ अर्ब रुपैयाँ बाँकी रहेको पनि सिलिङ तोकेर बचतकर्ताहरूलाई फिर्ता गर्न थालियो ।

त्यहीबेला उनी श्रीमतीको उपचारका लागि भारत गए र बेलायत पुगे । त्यसपछि सोधीखोजी गर्दा खुल्यो, भरतले त करिब साढे २ वर्ष अगाडि श्रीमती राजमायासँग नक्कली डिभोर्स गर्नुका साथै छोराछोरीलाई अंश दिइसकेका रहेछन् । हालको सञ्चालक समितिसँग मिलेर श्वेतपत्र बनाउन खटिएका एक बचतकर्ता भन्छन्, ‘भरत महर्जनले त २/३ वर्षदेखि योजनाबद्ध रूपमा काम गरेको देखियो ।’
सहकारी सञ्चालक भरत र उनको परिवार बेलायत पलायन भएपछि बचतकर्ताहरूले ६ वैशाख २०८० मा भेला गरेर समिति बनाएका छन् । समितिले सञ्चालक समितिसँग मिलेर सुमेरु सरकारीको श्वेतपत्र जारी गर्नुका साथै बचत फिर्ताको कार्ययोजना समेत बनाएको छ ।

श्वेतपत्र अनुसार अहिलेसम्म देखिएका कम्पनी तथा जग्गाको बजार मूल्य ११ अर्ब ४९ करोड देखिएको छ भने ४ अर्ब १० करोड ऋण प्रवाह भएको पाइएको छ ।

बचतकर्ताको १० अर्ब ३४ करोड निक्षेप तथा दायित्व छ भने बैंकको कर्जा र अरू दायित्व १ अर्ब २४ करोड छ । सुमेरु सिटी हस्पिटलमा कुमारी बैंकको २५ करोड ऋण लगानी रहेको सहकारीका अध्यक्ष हेमराज दाहाल बताउँछन् । यस्तै सुमेरु अस्पतालमा कुमारी बैंककै ८० करोड र प्रभु बैंकको २० करोड ऋण लगानी छ ।

यदि यो मिलान गर्न सक्ने हो भने सुमेरु सहकारीको बचतकर्ताको रकम फिर्ता हुने देखिएको बचतकर्ता समितिका अध्यक्ष ठाकुरचन्द्र श्रेष्ठ बताउँछन् । तर, मुख्य चुनौती भारत महर्जन र उनको परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति कसरी सहकारीमा ल्याउने भन्ने छ ।

किनकि सहकारीको स्रोत प्रयोग भएको भनिएको सबै सम्पत्ति कि भरत महर्जन र परिवारको नाममा छ, कि उनकै स्वामित्व भएका निजी कम्पनीमा । तर बेलायत पुगेका भरत महर्जन सहित उनको परिवार अहिले सम्पर्कमा नरहेको सहकारीका अध्यक्ष हेमराज दाहालले बताए ।

कर्पोरेट कानुनका जानकार वरिष्ठ अधिवक्ता गान्धी पण्डित सहकारीको स्रोतबाट किनेको भन्दैमा व्यक्तिको नाममा रहेको सम्पत्ति सहकारीकरण नहुने बताउँछन् ।

सहकारीबाट ऋण लगानी भएको छ भने धितो लिलाम मार्फत सहकारीको नाममा ल्याउन भने सकिन्छ । ‘सीधै व्यक्तिको नाममा भएको सम्पत्ति संस्थाको नाममा ल्याउन सम्भव छैन । त्यसका लागि कानुनी प्रक्रियामा जानुपर्छ’ वरिष्ठ अधिवक्ता पण्डित भन्छन्, ‘सहकारीको स्रोत हिनामिना गरेको सम्पत्ति हो भने रोक्का गरेर मुद्दा लडेर मात्रै सहकारीको नाममा ल्याउन सक्छ । त्यो पनि ऐनले दिएको अधिकारभित्र रहेर अधिकार सम्पन्न निकायले मात्रै त्यो गर्न सक्छ ।’

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका