जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ५६ वटा बैंक खाता खोलेर कसरी गरे २ अर्ब १ करोडको कारोबार ?

५६ वटा बैंक खाता खोलेर कसरी गरे २ अर्ब १ करोडको कारोबार ?

काभ्रेका युवक अनिल ढुंगानालाई प्रतिबन्धित अनलाइन गेमिङका एजेन्ट तथा क्रिप्टो कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक बस्दै आएका ढुंगाना पछिल्लो पछिल्लो पाँच वर्षयता यस्तो धन्धा गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले यस घटनाबारे गम्भीर रुपमा थप अनुसन्धान गरिरहेको जनाएको छ । कुनै पेशा व्यावसायमा संलग्न नरहेका २४ वर्षीय ढुंगानाको पाँच वर्षको कारोबार कम्तीमा २ अर्ब १ करोड देखिएको छ । जुन घटनाले प्रहरीलाई नै यसबारे थप अनुसन्धानका लागि आकर्षित गरेको देखिन्छ । फलस्वरुप तीन महिनाभन्दा लामो अनुसन्धानपछि सोमबार उनलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार यी युवक प्रतिबन्धित ‘वान एक्स बेट’का नेपालस्थित मेगा एजेन्ट हुन् । यसबीचमा उनले आफूसँगै नजिकका अन्य व्यक्तिहरुको समेत बैंकिङ विवरणको प्रयोग गरी कारोबार गरेको खुलासा भएको प्रहरी सई अर्जुन खड्काले क्लिकमान्डुसँग बताए । सई खड्का यस अनुसन्धानमा संलग्नमध्ये एक प्रहरी अधिकारी हुन् । उनका अनुसार ढुंगानाले वान एक्स बेटसँगै क्रिप्टो लगायतका अन्य प्रतिबन्धित कारोबार पनि गर्दै आएका थिए । र उनी एक्लै यो काम गरिरहेका थिए । यद्यपि उनी निकटका केही मानिसको सहयोग रहेको देखिने खड्का बताउँछन् ।

तर परिवारबाट बाहिर बस्ने ढुंगानाले परिवारका सदस्यलाई आफ्नो कामबारे विस्तृतमा जानकारी दिएका थिएनन् । केही वर्षदेखि उनले परिवारलाई ‘अनलाइनको काम गर्छु’ भन्दै आएको प्रहरीको भनाइ छ । र अन्य व्यक्तिको पनि नागरिकता, बैंकिङ विवरण लगायत कागजात प्रयोग गरेकाले उनले आफ्नो काममा अरुको सहायता लिएको देखिन्छ । युवकले प्रहरीलाई दिएको बयान अनुसार उनलाई यो प्रतिबन्धित पेशा भएको जानकारी थियो ।

‘सुरुमा पैसा चाहिएको थियो । गेमिङ गराउँदा पैसा आउने रहेछ भन्ने थाहा भयो । विस्तारै खर्च पनि बढ्न थाल्यो । पैसा धेरै आउन थालेपछि यसमै लाग्न थालेँ,’ ढुंगानाको बयान उल्लेख गर्दै प्रहरी अधिकारीले बताए । यसमा आफू एक्लै संलग्न रहेको उनले बयान दिएका छन् । प्रहरीले भने अन्य व्यक्तिको संलग्नताबारे थप छानबिन गर्ने जनाएको छ ।

२४ वर्षे युवाले कसरी गरे २ अर्ब १ करोडको कारोबार ?

२०१८ को अन्त्यतिरबाट ढुंगानाले अनलाइन गेमिङ गराउन थालेका थिए । अनलाइन गेमिङबाट पैसा कमाउन सकिने थाहा पाएपछि यस्तो काममा संलग्न रहेका ढुंगाना विस्तारै पैसा धेरै कमाउन थालेपछि झनै सक्रिय भएर धन्धामा लागेका थिए । यसबीचमा उनले कम्तीमा ५६ वटा बैंक खाता प्रयोग गरी त्यसमा कारोबार गरेको अनुसन्धानमा देखिएको सई खड्काले बताएका छन् ।

यसका लागि उनले १० जना अन्य व्यक्तिलाई विभिन्न रुपमा प्रयोग गरेका थिए । उनीहरुबाट बैंकिङ विवरण लगायतका सहयोग ढुंगानाले प्रयोग गरेको देखिन्छ । यद्यपि उनीहरु पनि प्रत्यक्ष यस कारोबारमा संलग्न हुन् वा हैनन् भन्नेबारे थप अनुसन्धान बाँकी रहेको बताइएको छ ।

“निज युवकले आफ्नै बिजनेस फर्मलाई पनि कारोबारका लागि प्रयोग गरेका छन् । विभिन्न व्यक्ति र आफ्नै गरी ५६ वटा बैंक खाता कारोबारका लागि प्रयोग गरेको देखिएको छ । र एकै पटक ७ करोडसम्म कारोबार भएको देखिन्छ,” सई खड्काले भनेका छन् ।

वान एक्स बेट वाहेक उनले अर्को गेमिङ प्लेटफर्म ‘जुवा ३६५’ खोलेर कारोबार सुरु गर्न थालिसकेका थिए । यो नयाँ प्लेटफर्मलाई पनि उनले पछिल्लो समय निजी रुपमा संचालन गर्दै आएका थिए । अर्थात् ‘जुवा ३६५’ का संचालक उनै ढुंगाना नै रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

उनलाई कस्तो कारबाही हुन्छ ?

प्रहरीले केही साताअघि वान एक्स बेटमै संलग्न रहेका सर्लाहीका एक युवकलाई पक्राउ गरेको थियो । ती युवक नेपालका एजेन्ट थिए भने काभ्रेका ढुंगानालाई प्रहरीले मेगा एजेन्टको रुपमा व्याख्या गरेको छ । छोटो अवधिमै प्रहरीले वान एक्स बेटमा संलग्न ५० भन्दा धेरै युवाहरुलाई पक्राउ गरिसकेको छ । वर्ल्डकप आईसीसी वा युरोलिग लगायतका ठूला खेल प्रतिस्पर्धा हुँदा युवाहरु यस्ता अनलाइन बेटिङ गराएर छोटो समयमै ठूलो रकम कमाउने गर्छन् । जुन काम नेपालमा प्रतिबन्धित छ । यसरी कमाउने पैसालाई क्रिप्टो बिटक्वाइन लगायतमा पनि लगानी हुने गरेको प्रहरीले जनाएको छ ।

यसका साथै विदेशमा अन्य रुपमा पनि अवैध रुपमा लगानी हुने गरेको प्रहरीको आशंका छ । ढुंगानाको हकमा उनले कहाँ कति लगानी गरेका छन् वा कारोबारको रकम कहाँ प्रयोग गरे भन्नेबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले हाल ढुंगानाको सबै बैंक खाता ब्लक गरी थप अनुसन्धान गरिरहेको छ । उनीमाथि अपराध संहिता २०७४ को दफा १२५ र २६५ क सक्रिय हुने देखिन्छ । यस्तै सम्पत्ति शुद्धीकरण, क्रिप्टोकरेन्सी, विदेशी विनिमय नियमित गर्ने ऐन, नेपाल राष्ट्र बैंक ऐन २०५८ र जुवा लगायतका कानुन आकर्षित हुन्छन् ।

380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका