जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • कृषि विकास सहकारीमा अध्यक्ष, उपाध्यक्ष र सञ्चालकको ब्रह्मलुट

कृषि विकास सहकारीमा अध्यक्ष, उपाध्यक्ष र सञ्चालकको ब्रह्मलुट

ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको जम्मा निक्षेप २ अर्ब ८० करोड छ। सहकारीको नाममा बचतकर्तालाई ठगेका संस्थाका अध्यक्ष लगायत सञ्चालक आफैंले भने २ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ कर्जा लिएका छन् । राष्ट्रिय सहकारी नीतिले सहकारीका सञ्चालकले सेयर पुँजीको २० प्रतिशतभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था गरेको छ ।

यस्तै कुल सञ्चालक मध्ये ४९ प्रतिशतले मात्रै कर्जा लिन पाउने र बाँकी ५१ प्रतिशत साक्षी बस्नुपर्ने व्यवस्था छ ।

तर, कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष, उपाध्यक्ष लगायत सञ्चालक तथा लेखा समितिका पदाधिकारीले नै जम्मा निक्षेपको ९२.८२ प्रतिशत कर्जा आफैंले प्रयोग गरेर बचतकर्ताको बचतमा ब्रह्मलुट गरेका छन् ।

सहकारीका अध्यक्ष तेज विक्रम थापाले सहकारीमा बचतकर्ताले बचत गरेको रकमबाट २ अर्ब रुपैयाँ कर्जा निजी कम्पनीमा लगानी गरेको स्वीकारेका छन् ।

सहकारीले पदाधिकारी तथा सञ्चालकले २ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गर्दा करिब १ अर्ब विभिन्न व्यक्तिहरू तथा संस्थाको नाममा कर्जा लगानी गरेको अध्यक्ष थापाले ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयमा दिएको बयानमा उल्लेख छ ।

निजी कम्पनीमा भने २ अर्ब लगानी गरेको उनले स्वीकार गरेका छन् । उनले अन्य सञ्चालक तथा पदाधिकारीसँग मिलेर विभिन्न कम्पनीमा लगानी गरेका छन् । थापाले अन्य व्यक्तिसँग गरेको लगानी जोड्दा रकम योभन्दा बढी नै हुन्छ ।

उनले लिएको निजी कर्जा विभिन्न कम्पनी तथा परियोजना, सञ्चार माध्यम, पूर्वाधार निर्माणमा लगानी गरेको उनको स्वीकारोक्ति छ ।

सहकारीको रकम समिट अस्पताल भक्तपुर, अन्नपुर्ण फिड एण्ड फर्टिलाईजर, आईएमएडीसी नामक कम्पनी, यति टेक्निकल फार्म लगायतको परियोजनामा २५ करोड जति लगानी गरेको अध्यक्षले स्वीकारे । यसको व्यवस्थापन तथा संचालन सहकारीका सचिव कृष्ण बहादुर जिसीले गर्ने गरेको उनको भनाइ छ ।

सहकारीका सञ्चालक समितिका सदस्य भीमसेन महर्जनले सहकारीबाट १ करोड कर्जा लिएका छन् । महर्जन सहकारी संस्थामा करिब १६/१७ वर्षदेखि सेयर सदस्यको रुपमा आवद्ध भई २०६६/०६७ देखि संस्थामा २ कार्यकाल सञ्चालक समितिको सचिव रहेका थिए ।

२०७८ पुस ३० गतेको २२ औं साधारण सभाले उनलाई सञ्चालक समितिको सदस्यमा मनोनित गरेको थियो । संस्थाबाट राजीनामा दिएको भनेर प्रहरीमा बयान दिएको भए पनि संस्थाको गाडी लगायतको सुविधा प्रयोग गरिरहेको थापाको दाबी छ ।

महर्जन र अध्यक्ष थापाले कृषि इन्भेष्टमेण्ट प्रालि सञ्चालन गरेका थिए । महर्जन त्यसमा प्रोजेक्ट म्यानेजर थिए । उनले सहकारी संस्थाको करिब २ करोड रुपैयाँ कृषि इन्भेष्टमेण्ट प्रालिमार्फत लगानी गरेको थापाको दाबी छ । उनले सहकारीको पैसा कृषि टेलिभिजनमा समेत लगानी गरेका थिए ।

यस्तै सहकारीको पैसा संस्थाका उपाध्यक्ष उमेशजंग थापाले व्यक्तिगत रुपमा ५ करोड जति लगेको उनको भनाइ छ ।

थापाले जग्गामा लगानी गर्न भन्दै छुट्टै कम्पनीको नाममा १५ करोड थप ऋण लिएको अध्यक्ष थापाले दिएको बयानमा उल्लेख छ । उनकाअनुसार उपाध्यक्ष थापाले २० करोड जति ऋण लिएको छन् ।

सहकारी संस्थाका कोषाध्यक्ष निरेश थापा मगरले व्यक्तिगत प्रयोजनका लागि ५ करोड ऋण लगेको उनको भनाइ छ ।

सहकारीका सञ्चालक सदस्य विष्णुकुमार महतले ५ करोड व्यक्तिगत रुपमा कर्जा लगेको थापाको भनाइ छ ।

संस्थाका तत्कालीन महाप्रबन्धक एवं व्यवस्थापक सन्तोष राजभण्डारीले आफूखुशी बाहिर अन्य ग्राहकहरूसँग जग्गा डिल गरी व्यक्तिगत रुपमा सम्झौता गरी २५ लाख जति अपचन गरी सम्पर्कबिहीन बनेको बताए ।

सहकारीले राजु तामाङ भन्ने व्यक्तिलाई १ करोड कर्जा दिएको छ । तामाङले आन्तरिक लेखा परीक्षणमा सहयोग गर्नुको साथै कृषि फ्रेश प्रालि र कृषि परियोजनाहरू व्यवस्थापन गर्ने गरेको उनको दाबी छ ।

लेखा सुपरीवेक्षण समितिका संयोजक पदम मास्की, रामशरण घिमिरे र विवेक श्रेष्ठ समेतले करिब १० वर्ष पहिले १० लाख जति ऋण लिएको उनले बताए । सदस्यहरू मध्येका राज श्रेष्ठको नाममा ८० लाख जति कर्जा रहेको छ ।

सजना राजकर्णिकार सहकारी संस्थाकी प्रशासन प्रमुख पदमा कार्यरत रहेकी छिन् । उनी अध्यक्ष थापाकी श्रीमती हुन् ।

५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ४६९ रुपैयाँ ठगेको सहकारीका अध्यक्षसहित ४ जना पक्राउ रहेका छन् भने ८ जना फरार रहेका छन् । सहकारी ठगीमा संलग्न ४ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ । उनीहरुबिरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला व्यास नगरपालिका–११ घर भइ हाल काठमाडौं गोकर्णेश्वर बस्ने सहकारीका अध्यक्ष तेज विक्रम थापा, ललितपुर महानगरपालिका–१८ घरभइ हाल गोकर्णेश्वर बस्ने सहकारी संस्थाकी व्यवस्थापक सजना राजकर्णिकार, कीर्तिपुर नगरपालिका घर भएका सहकारीका सदस्य भीमसेन महर्जन र काठमाडौं महानगर–६ चाबहिल घर भएका सहकारीका संस्थापक सदस्य सञ्जय सापकोटा रहेको प्रहरीले जनाएको छ ।

सहकारीको नाममा ठगी गर्नेमध्ये फरार रहनेमा सहकारीका उपाध्यक्ष उमेशजंग थापा मगर, सचिव कृष्णबहादुर क्षेत्री, सञ्चालक समितिका सदस्य विष्णुकुमार महत, लेखा सुपरीवेक्षण समिति संयोजक पदम मास्की, लेखा सुपरीवेक्षण समितिका सदस्य राज श्रेष्ठ, महाप्रबन्धक सन्तोष राज भण्डारी र लेखा सुपरीवेक्षण समिति सदस्य विवेक ताम्राकार रहेका छन् । संस्थाका कोषाध्यक्ष नरेश थापा मगरको भने निधन भइसकेको छ ।

अध्यक्ष थापा २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीका अध्यक्ष थिए भने उनले २०७१ सालमा कृषि टेलिभिजनको संस्थापक अध्यक्ष रहेका थिए ।

यस्तै थापा २०७० साल देखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाईजेशन उद्योगको अध्यक्ष, २०७३ साल देखि गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क)को संस्थापक अध्यक्ष, २०७४ सालदेखि यति हर्ब्स प्रालीका अध्यक्ष रहेका थिए ।

थापा २०७१ सालदेखि इन्टेन्सिव मल्टिप्रपोज एग्रिकल्चर कम्पनि प्रालि ललितपुरको अध्यक्ष, २०६६ सालदेखि कृषि ईन्भेष्टमेन्ट प्रालि ललितपुरका अध्यक्ष, २०७० साल देखि कृषि फ्रेस प्रालि.(जसको काठमाडौं उपत्यकाको १४ स्थानमा मार्ट/बिक्री केन्द्र रहेको) को अध्यक्ष र २०७६ सालदेखि यति टेक्निक प्रालिका संस्थापक अध्यक्ष रहेका थिए ।

उनले सहकारीमा बचतकर्ताले राखेको पैसा यीनै कम्पनीमा लगानी गरेर हजारौंलाई ठगेका हुन् ।

उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरेको छ । ठगीमा संलग्न उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा ३ को खण्ड ग बमोजिम सजाय माग दाबी गरिएको छ । उक्त उपदफामा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानको व्यवस्था छ ।

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका