विचार/ब्लग
गभर्नरको संकेतमा व्यक्त चाहना : अन्तिम मौद्रिक नीति कि नयाँ कार्यकालको सुरुवात ?
‘साथीहरु मेरो अन्तिम मौद्रिक नीति हो भन्छन्। तर, यो कार्यकालको अन्तिम मौद्रिक नीति हो नि।’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकालको अन्तिम वर्षतिर छन्। अर्को सातासम्म जारी हुने मौद्रिक नीति उनको यो कार्यकालको अन्तिम हुनेछ। कार्यकाल भने आगामी चैतमा सकिनेछ। तर, अधिकारी अहिले जारी गर्न लागेको मौद्रिक नीतिलाई अन्तिम भन्दैनन्, पहिलो कार्यकालको अन्तिम भनिरहेका छन्।
गभर्नर अधिकारी जब कार्यकालको बारेमा कुराकानी गर्न थाल्छन् – रमाइलो सुनिन्छन्। मंगलबार उनले आगामी मौद्रिक नीतिका बारेमा कुराकानी गर्न बैंकरहरुलाई डाकेका थिए।
बैंकर्स संघबाट कार्यसमितिका सबै सदस्य तथा विकास बैंक, फाइनान्स र लघुवित्तका संघबाट अध्यक्ष र उपाध्यक्षलाई बोलाइएको थियो। त्यहाँ बैंकरहरुले पैसा भएर पनि ऋण दिन नसकेको भन्दै लचकता अपनाउन अधिकारीलाई आग्रह गरेका थिए।
त्यहीबेला गभर्नर अधिकारीले आफ्नो कार्यकालबारे आफैं कुरा कोट्याएका थिए। हँसिलो मुद्रामा उनले बैंकरहरुलाई भने – साथीहरु मेरो अन्तिम मौद्रिक नीति मात्र भन्छन्। यो मेरो अन्तिम नहुन पनि सक्छ।
गभर्नर अधिकारीको बडी ल्याङ्वेज, अनुहारको भाव, कुरा गर्ने शैली कार्यकाललाई लिएर फेरिएको छ।
‘उहाँले जसरी आफूलाई भनिरहनु भएको छ, त्यो हेर्दा उहाँ जसरी पनि दोहोरिन चाहिरहनु भएको छ भन्ने नै बुझिन्छ,’ मंगलबार अधिकारीलाई भेटेर फर्किएपछि एक बैंकरले भने।
ती बैंकरले अघिल्ला दुई गभर्नरहरुसँग पनि काम गरिसकेका छन्।
‘डा. युवराज खतिवडाले दोहोरिन रुची छैन भनेर सिधै भन्नु भएको थियो,’ ती बैंकरले सुनाए, ‘डा. चिरञ्जिवी नेपालले त सार्वजनिक रुपमै दोहोरिने चाहना नरहेको भन्नु भएको थियो। तर, अधिकारीले भने पछिल्लो एक महिनायता आफ्नो कार्यकालका बारेमा आफैंले कुरा झिकेर दोहोरिन चाहेको संकेत गरिरहेका छन्।’
अधिकारीले मौद्रिक नीतिका लागि सुझाव माग्न नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा पनि ‘एक पटक दोहोरिन चाहेको’ संकेत गरेका थिए। उनले केही आर्थिक पत्रकारहरुसँग अनौपचारिक गफगाफका क्रममा भनेका थिए, ‘साथीहरु मेरो अन्तिम मौद्रिक नीति भन्दा पनि यो कार्यकालको अन्तिम हो नि।’
गभर्नर अधिकारीलाई कार्यकाल दोहोर्याउने चाहना पलाउनुको पहिलो कारण हो – राजनीतिक अनुकूलता।
दोस्रो – कोभिड १९ का कारणले दुई वर्ष चाहेजसरी काम गर्न नपाएको भोक।
अधिकारी नेकपा एमाले निकट मानिन्छन्। उनले जति पनि राजनीतिक नियुक्ति पाए, ती सबै सरकारको नेतृत्वमा एमाले हुँदा हो। उनलाई कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाएको एमालेको सरकारले नै हो। डेपुटी गभर्नरको कार्यकाल सकिए लगत्तै उनी लगानी बोर्डमा पुगे। बोर्डको प्रमुख कार्यकारी अधिकृत पनि एमालेकै कारण भए। उनलाई गभर्नर बनाएको पनि एमाले नेतृत्वकै सरकारले हो।
अहिले केही दिनमात्रै भयो एमाले नेतृत्वको सरकार गठन भएको। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् भने अधिकारीलाई सधैं ‘ब्याकअप’ गर्ने भनेर चिनिएका एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री।
हुनत अहिलेको नयाँ समीकरण बन्नुअघि नै गभर्नर अधिकारीले कार्यकाल दोहोर्याउन चाहेको संकेत गरेका थिए। यसको पनि कारण छ। एक त पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेको सहयोग थियो। त्यसमाथि निवर्तमान अर्थमन्त्री वर्षमान पुनसँग उनको ‘ट्युनिङ’ मिलेको थियो।
‘अघिल्लो समीकरणभन्दा अहिलेको समीकरणमा अझ बलियो उम्मेदवारका रुपमा गभर्नर देखिनु भएको छ,’ अर्थराजनीतिक रिपोर्टिङ गर्ने एक पत्रकारले भने, ‘मैले खासै ख्याल नगरेको तर अहिले आएर उहाँले नै दाबी पेस गर्न थालेकाले अर्को कार्यकाल उहाँ गभर्नर हुनु हुन्न भन्ने लाग्न छाड्यो।’
गभर्नर अधिकारीले आगामी कार्यकालका लागि दाबी एकदमै सही समयमा गरेको देखिन्छ। कार्यकालको अन्तिम-अन्तिमतिर आगामी गभर्नर को होला भनेर सञ्चार माध्यमहरुले ‘प्रोजेक्सन’ अर्थात प्रक्षेपण गर्छन्। डा. खतिवडा गभर्नर हुने बेलामा होस् या डा. नेपाल। अधिकारीका पालामा पनि प्रक्षेपण गरिएको थियो। सञ्चार माध्यमले प्रक्षेपण गरेकैमध्येबाट गभर्नर नियुक्त भएका थिए।
‘अधिकारीले अहिले आफैंले अनौपचारिक संकेत गर्नुले सञ्चार माध्यमले प्रक्षेपण गरिदिउनु भनेर पनि हो,’ ती आर्थिक पत्रकार भन्छन्, ‘अरु-अरुको नामसँगै आफ्नो नाम लिँदा राजनीतिक तहमा लबिङ गर्न सजिलो हुन्छ।’
आगामी गभर्नरका लागि अधिकारीको चाहनाअघि नै केही नाम चर्चामा आइसकेका छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट, अहिलेका डेपुटी गभर्नर बमबहादुर मिश्र, पूर्वसचिव लालशंकर घिमिरेको नाम चर्चामा आउन थालिसकेको छ।
यसबाहेक दुई जना बैंकर पनि गभर्नरका लागि इच्छुक छन्। ती दुईबीच गभर्नरका लागि भद्र सहमति नै बनेको चर्चा छ। दुईमध्ये एक कांग्रेस निकट हुन् भने अर्का एमाले। ‘कांग्रेसको सरकार बनेमा अर्कोले सहयोग गर्ने र एमालेको बनेमा पनि त्यसैगरी सहयोग गर्ने भन्ने छ,’ इच्छुकमध्येका एकले ठट्यौली पारामा सुनाए।