जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • कर्जाको ब्याजदर ३० महिनापछि एकल अंकमा

कर्जाको ब्याजदर ३० महिनापछि एकल अंकमा

 कर्जाको ब्याजदर ३० महिनापछि एकल अंकमा झरेको छ। कर्जाको माग बढ्न नसकेपछि निरन्तर घटाउँदै आएको निक्षेपको ब्याजदरले बैंकहरुको लागत कम भएपछि कर्जाको औसत ब्याजदर एकल अंकमा आएको हो।

२०७८ पुसमा कर्जाको औसत ब्याजदर एकल अंकमा रहेकामा त्यसपछि निरन्तर बढ्दै २०७९ फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो। त्यसपछि पुनः घट्न थालेको ब्याजदर २०८१ असारमा ९.९३ प्रतिशतमा झरेको हो।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा पछिल्लो समय बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत भई कर्जाको ब्याजदर एकल अंकमा आएको बताउँछन्।

‘बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले उनीहरुको लागत कम हुँदै गइरहेको छ। लागत घट्दै जाँदा कर्जाको ब्याजदर एकल अंकमा आएको हो,’ शर्माले भने।

कर्जा प्रवाह सुस्त

ब्याजदर एकल अंकमा झरे पनि आर्थिक गतिविधि बढ्न नसक्दा कर्जाको माग भने खासै बढ्न सकेको छैन। यतिबेला बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९४ प्रतिशत छ।

यसलाई हेर्दा बैंकहरुसँग लगभग साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ। सीडी रेसियोभित्र केही समयका लागि ऋणपत्र समेत गणना गर्न दिइएको छ।

सीडी रेसियोबाट ऋणपत्र झिक्दा समेत बैंकहरुसँग साढे ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ।

बैंकहरुमा तरलता थुप्रिएर कर्जाको ‌औसत ब्याजदर एकल अंकमा आए पनि आर्थिक गतिविधि सुस्त रहेका कारण ऋणको माग भने बढ्न नसकेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ बताउँछन्।

‘अघिल्ला वर्ष धेरै बैंकहरुले महँगो ब्याजदरमा लामो अवधिको मुद्दती निक्षेप उठाए। त्यो महँगोमा लिएको निक्षेप परिपक्व हुन बाँकी छ। सस्तोमा लिएको नयाँ निक्षेपले लागत थाेरै घटाएको हाे,’ उनले भने, ‘लागत कम हुँदा कर्जाको ब्याजदर एकल अंकमा झरेको छ। तर पनि कर्जाको माग छैन।’

उनका अनुसार महँगो दरको पुरानो मुद्दती निक्षेप परिपक्व भएपछि ब्याजदर अझै सस्तिने छ। तरलता सहज भई ब्याजदर एकल अंकमा झरेका बेला समेत कर्जाको माग बढ्न नसक्नुमा आर्थिक सुस्तता नै मुख्य कारण भएको बैंकरहरु बताउँछन्।

‘विगतमा बजार चलायमान भएर मानिसहरुले नाफा कमाएका बेला ब्याजदर १२/१३ प्रतिशत पुग्दा समेत कर्जाको माग उच्च थियो,’ उनले भने, ‘अहिले कर्जाको ब्याजदर एकल अंकमा झरेको छ। तैपनि कर्जाको माग बढ्न सकेको छैन। माग नबढ्नुको कारण बजार चलायमान नहुनु नै हो।’

दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि बजारमा केही उत्साह नबढेको होइन। सेयर बजार उकालो लागेको छ। तर अन्य क्षेत्र अपेक्षाकृत चलायमान हुन सकेका छैनन्।

‘अहिले सेयर बजार बढेको छ। दैनिक कारोबार २२/२५ अर्बको भइरहेको छ। यसले सेयर कर्जाको डिमान्ड बढिरहेको छ,’ खालिङ भन्छन्, ‘अन्य क्षेत्रको कर्जाको डिमान्ड छैन। ब्याजदर सस्तिंदै गए पनि कर्जा लिने तयार नभएपछि तरलता धेरै सहज देखिएको हो। आर्थिक गतिविधि बबढेसम्म ऋणको माग बढ्लाजस्तो देखिंदैन।’

आर्थिक वर्ष २०८०/८१निक्षेपको ‌औसत ब्याजदरकर्जाको औसत ब्याजदरआर्थिक वर्ष २०७९/८०निक्षेपको औसत ब्याजदरकर्जाको औसत ब्याजदरआर्थिक वर्ष २०७८/७९निक्षेपको औसत ब्याजदरकर्जाको औसत ब्याजदर
साउन८.००१२.२४साउन७.६४११.९४साउन४.७६८.४८
भदौ८.०६१२.२३भदौ७.८११२.०६भदौ४.९२८.५७
असोज७.९०१२.११असोज८.१६१२.१९असोज५.४३८.६९
कात्तिक७.७६११.९६कातिक८.३२१२.६५कात्तिक५.८०९.०२
मंसिर७.६२११.८५मंसिर८.४६१२.७४मंसिर६.२४९.२९
पुस७.३२११.३८पुस८.५११२.७९पुस६.३७९.४४
माघ७.०१११.०८माघ८.४११३.०३माघ६.४९१०.३१
फागुन६.७४१०.७८फागुन८.३७१३.०३फागुन६.९३१०.६०
चैत६.५३१०.५५चैत८.२६१२.८४चैत७.१११०.७८
वैशाख६.३५१०.३४वैशाख८.०८१२.६५वैशाख७.२५११.४२
जेठ६.१७१०.१५जेठ७.९९१२.५३जेठ७.३४११.५४
असार५.७७९.९३असार७.८६१२.३०असार७.४१११.६२

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका