जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सबै दलका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : बाबुराम भट्टराई

सबै दलका नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दलका सबै नेताहरूको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।

पोखरामा सोमबारबाट सुरु भएको पार्टीको विधान अधिवेशन उद्घाटन गर्दै अध्यक्ष भट्टराईले शक्तिशाली लोकपाल बनाएर सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

कुनै व्यक्तिको पहलले भ्रष्टचार नियन्त्रण नहुने भन्दै डा.भट्टराईले यसका लागि संस्थाहरू बलियो बनाउनुपर्ने तर्क गरे । ‘आफ्नो भ्रष्टाचारीलाई च्याप्ने र अर्को भ्रष्टाचारीलाई तर्साएजस्तो गरेको छ’ उनले भने, ‘देशको संस्थाहरू कमजोर राखेर कुनै पनि महान कोही व्यक्ति आएर भ्रष्टाचार रोक्न सक्दैन ।’

भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाए । ‘विधिको शासन र अर्थतन्त्र कमजोर राख्दा ठूला कमिसनखोरसँग नमिली पार्टीहरूको ढुकुटी चल्दैन, चुनाव जितिंदैन, सत्ता चल्दैन’ उनले भने, ‘जबसम्म शक्ति केन्द्रहरूले यहाँ घुसपेठ गरिरहन्छन्, तिनको चंगुलबाट बाहिर नआएसम्म सुशासन हुनैसक्दैन ।’

प्रचण्डसँग चुनावी सहकार्य बारे समीक्षा गर्दै उनले भने, ‘रावण र कंशहरूको राज भएको समाजमा सोझो र इमान्दार हुनु पनि कमजोरी जस्तो देखिने रहेछ ।’

नयाँ विचार व्यवहारमा बदलिने केही समय लाग्ने भन्दै डा. भट्टराईले आफूले अगाडि बढाएको ५ ‘स’ हुँदै समृद्धिसम्म पुग्ने बाटो सही भएको जिकिर गरे ।

युक्रेनदेखि गाजासम्म भइरहेको नरसंहारमा विश्वका शक्तिहरू आआफ्नो स्वार्थमा केन्द्रित भएर मौन बसेको भट्टराईले बताए । ‘यत्रो नरसंहार हुँदा कोही पनि बोल्दैनन् । संयुक्त राष्ट्र संघ एउटा पंगु संस्था भएर बसेको छ’ उनले भने ।

आगामी शताब्दी एशियन शताब्दी हुने भनिएको र पहिलो अर्थतन्त्र बन्ने चक्करमा रहेका भारत र चीनको चेपुवामा रहेको नेपाल जोगाउन छिटोछिटो समृद्धिमा जानुपर्नेमा भट्टराईले जोड दिए ।

‘हामीले बुद्धि पुर्‍याएनौं, देशलाई एकताबद्ध राख्ने, आफ्नै देशभित्र रोजगारी सिर्जना गर्दै समृद्धि ल्याएर आफ्ना युवालाई देशभित्रै राख्न सकेनौं भने त्यो बेला यो देश रहन सक्छ ?’ उनले प्रश्न गरे, ‘देशको निम्ति लड्ने युवाहरू विदेश गएपछि देशको संरक्षण कसले गर्छ ?’

अहिलेकै तरिकाले गइरह्यो भने १० वर्षभित्र देश गम्भीर संकटमा पर्ने भट्टराईले जिकिर गरे । ‘देश जोगाउन पनि छिटो समृद्धिमा गएर युवाहरूलाई देशभित्रै राखेर राष्ट्रिय स्वाधिनता संरक्षण गर्ने बाटोमा नेपाल समाजवादी हिंडिरहेको छ,’ उनले भने ।

2480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका