

नेपाल फाइनान्स लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । निजी क्षेत्रको लगानीबाट पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको कम्पनीको साधारणसभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो । साधारण सभामा सामान्य प्रस्तावहरु अन्तर्गत आ.व. २०८०/८१ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आ. व. ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ ।
साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा योगराज कंडेल शर्मा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।
संस्थाका संचालक समिति अध्यक्ष प्रा.हिरेन्द्रमान प्रधानज्यूको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हालसम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए भने सभाको संचालन कम्पनी सचिव विष्णुप्रसाद गौतमले गरेका थिए ।
सभामा शेयरधनीहरुले राखेका विभिन्न जिज्ञासा, सुझाव एवम् शुभकामना र धन्यवाद दिँदै संस्थाले खराब कर्जा असूली र शाख श्रृजना गरी व्यवसाय विस्तार गर्न सफल भएकोमा संचालक एवम् व्यवस्थापनलाई धन्यवाद दिएका थिए ।