

चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब २१ अर्ब बढीको व्यापार गरेका छन् । चालु आवको पौष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् ।
जसमध्ये सबैभन्दा धेरै व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । शिखरले पछिल्लो ६ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको व्यापार गरेको हो । गत महिनाहरूमा शिखर दोस्रो र तेस्रो नम्बरमा झरेको थियो । सलिको पहिलो नम्बरमा उक्लिएको थियो ।
कम्पनीले केही ठूला प्रोजेक्टहरू पाएकाले व्यापारमा पहिलो हुन सफल भएको कम्पनीकी सूचना अधिकारी सबिता मास्केले बताइन् । तर, यो अवधिमा को पहिलो र को दोस्रो भनेर भन्न नसकिने उनको भनाइ छ ।
उनले भनिन्, ‘पछिल्लो महिनामा केही ठूला प्रोजेक्ट आएका छन् । त्यस कारणले पनि पहिलो बन्न सफल भएको होला । तर, ६ महिनामा नै कुन कम्पनी पहिलो र कुन कम्पनी दोस्रो भनेर भन्न मिल्दैन । यसका लागि वार्षिक व्यापार नै हेर्नुपर्दछ ।’
यस्तै, सूचना अधिकारी मास्केले व्यापारमा कहिले एउटा कम्पनी अगाडि त कहिले पछाडि हुनु सामान्य प्रक्रिया भएको पनि उल्लेख गरिन् । पछिल्लो ६ महिनामा सलिकोले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँको व्यापार गरेको छ ।
यस्तै, आईजीआई प्रुडेन्सियलले १ अर्ब ७३ करोड, हिमालयन एभरेष्टले १ अर्ब ७१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३४ करोड, सानिमा जीआईसीले १ अर्ब १९ करोड, नेपाल ईन्स्योरेन्सले १ अर्ब ९ करोड, प्रभु इन्स्योरेन्सले ९० करोड, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड र नेशनल इन्स्योरेन्सले ६२ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।
व्यपार वृद्धिका आधारमा नेपाल ईन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल इन्स्योरेन्सले ४५.७१ प्रतिशतले व्यपार वृद्धि गरेको छ । यसैगरी, ओरिएण्टल इन्स्योरेन्सले ४३.८९ प्रतिशतले व्यपार वृद्धि गर्दा एनएलजी इन्स्योरेन्सले १२.२८ प्रतिशतले व्यापार वृद्धि गरेको छ।