

अन्ततः देशका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा कार्यालय पुग्न सफल भएको छ । ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको हो । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाउँपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग, नेपाल राष्ट्र बैंकका निर्देशक केशवबहादुर के.सी., साईपाल गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरु, एभरेष्ट बैंक सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख उज्वल पोख्रेल, नेपाल सरकार तथा स्थानीय सघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
२०८१ साल माघ २८ गतेका दिन औपचारीक रुपमा उद्घाटित यो बैंकको १२९औं शाखा कार्यालय हो । वित्तीय पहुँच बाट टाढा रहेको साईपाल गाउँपालिकामा बैंकको यो शाखा कार्यालय संचालनमा आएसँगै अब देशका ७५३ वटै स्थानीय निकायमा ‘क’ वर्गको वाणिज्य बैंकको उपस्थिति रहन गएको छ ।
भौगोलिक तथा पूर्वाधार विकासकोे हिसाबले अति दूर्गम मानिने मोटर बाटोको समेत पहुँच नभएको ७/८ घण्टाको पैदल यात्रा गरी पुग्न सकिने यो पालिकामा शाखा कार्यालय खोली एभरेष्ट बैंक साना उद्यमीसँग जोडिन पुगेको छ । नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्याउने घोषणा गरेको थियो । ‘क’ वर्गको वाणिज्य बैंक एभरेष्ट बैंकले बझाङ जिल्लाको साईपाल गाउँपालिकामा नयाँ शाखा कार्यालय विस्तार गरेसँगै यो लक्ष्य पुरा भएको छ ।

स्थानीय तहमा जाने ठूलो रकम परिचालन गर्ने अवसर प्राप्त हुने देखेपछि स्थानीय तहमा बैंकका शाखा खुल्ने क्रम बढिरहेको बखत वाणिज्य बैंकहरु भने दूर्गम तथा न्यूनतम पूर्वाधार पनि नभएको भन्दै त्यहाँ शाखा कार्यालय स्थापना तथा विस्तार गर्न मानिरहेका थिएनन् ।
यसअघि वाणिज्य बैंकहरुले भौगोलिक विकटताका कारण सबै स्थानीय तहमा बैंकका शाखा पुग्न कठिनाइ भएको बताइरहेका थिए । २०७५असार मसान्तभित्रै सबै स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वाणिज्य बैंकहरु राजी भए पनि भौगोलिक विकटताका कारण सम्भव भएको थिएन ।
राष्ट्र बैंकले दिएको निर्देशनअनुसार शाखा खोल्न बैंकहरु हौसिएका पनि थिए तर कतिपय स्थानीय तहमा बैंक शाखा खोल्न आवश्यक पर्ने न्यूनतम् पूर्वाधारसमेत नभएका कारण सम्भव भएन । शाखा खोल्नका लागि अध्ययनका क्रममा कतिपय स्थानीय तहमा प्रहरी चौकी, सडक सञ्जालको अभाव त कतिपय स्थानीय तहमा शाखा खोल्नका लागि उपयुक्त घरसमेत भेट्न नसकेका कारण राष्ट्र बैंकको योजना पूरा हुन सकेको थिएन ।

उनीहरुको आनाकानीका कारण साईपाल गाउँपालिकाका स्थानीय निकाय,सर्वसाधारण, व्यापारी तथा उद्यमी विगत ६ वर्षदेखि बैंकिङ पहुँचबाट बञ्चित थिए । यसअघि साईपाल गाउँपालिकाले पनि त्यहाँ बैंक नभएका कारण आफ्नो सम्पर्क कार्यालय सदरमुकाममा राखेर काम गर्दै आएको थियो । नेपाल राष्ट्र बैंकले साईपाल गाउँपालिकामा शाखा स्थापनाका लागि एभरेष्ट बैंकलाई पटक–पटक अनुरोध गर्दै आएको थियो । हुन त त्यहाँ बैंकको शाखा कार्यालय स्थापना गर्नुपर्ने जिम्मा पनि एभरेष्ट बैंककै थियो ।
साईपाल गाउँपालिकाकाअनुसार पालिकाबाट सदरमुकाम पुग्न मात्रै दुई दिन लाग्छ । अझ बैंकिङ कारोबारका लागि त जान आउन मात्रै चार दिन छुट्यानु पर्दछ । तर उक्त बैंकको शाखा कार्यालय स्थापना भएपछि यस्तो बाध्यता हटेको छ । संचालनमा ल्याउने जस्तो कठिन तथा चूनौतीपूर्ण कार्य सफल हुन सकेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहयोग गर्नु हुने नेपाल राष्ट्र बैंक तथा साइपाल गाउँपालिकाप्रति बैंकले विशेष धन्यवाद व्यक्त गरेको छ । देशको सम्पूर्ण पालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पु¥याउने सरकारको महत्वपूर्ण अभियानलाई पूर्णता दिने गरी शाखा संचालन गर्न सकेकोमा बैंकले खुसी व्यक्त गरेको छ ।
देशकै अग्रणी बैंकको रुपमा स्थापित यस बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि बढ्न गइ समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास लिइएको छ । बैंकिङ पहुँचमा प्रवेश गरेसँगै स्थानीय खुसी भएका छन् । गाउँपालिका तथा स्थानीय निकायका प्रतिनिधिहरूले बैंकिङ सेवाको सुरुवातलाई ऐतिहासिक कदमका रूपमा लिएका छन्। साइपालमा बैंकिङ सेवा सञ्चालनले स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । स्थानीय व्यापारी, कृषक तथा उद्यमीहरू बैंकको सेवा उपलब्ध भएपछि आर्थिक कारोबार सजिलो हुनेमा आशावादी छन्।
शाखा उद्घाटन गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकको शाखा स्थापनासँगै नेपालका विकट स्थानहरूमा वित्तीय पहूँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा भएको बताए । बैंकको शाखा स्थापनाको घडीलाई ऐतिहासिक अवसरका रुपमा लिएको उनको भनाइ थियो ।
‘यो मेरा लागि र साईपालका जनताका लागि ऐतिहासिक अवसर हो, गभर्नर अधिकारीले भने, ‘साईपालमा बैंकको शाखा स्थापनासँगै नेपालका विकट स्थानहरूमा वित्तीय पहुँच विस्तार गर्ने सरकारको लक्ष्य पूरा भएको छ ।’ गभर्नर अधिकारीले स्थानीय नागरिकहरूलाई खाता खोलेर बैंकमार्फत कारोवार गर्न आग्रह गरे ।
एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले देशकै विकट र बैकिङ सुविधाबाट बञ्चित साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा स्थापना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे । अध्यक्ष बैद्यले साईपालमा शाखा सञ्चालन गर्नु चुनौतीपूर्ण भएपनि त्यो चुनौती स्वीकार गर्दै एभरेष्ट बैंकले शाखा स्थापना गरेको बताए ।
‘यो मेरो र एभरेष्ट बैंकका लागि महत्वपूर्ण अवसर हो’, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘जहाँ कुनै बैंकले सेवा विस्तार गर्न सकेको थिएन, त्यहाँ एभरेष्ट बैंक पुगेको छ । यो हाम्रा लागि गर्वको कुरा हो ।’ साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बैंकको शाखा स्थापना गरेकोमा एभरेष्ट बैंकका अध्यक्ष र गभर्नरलाई धन्यवाद दिए । अध्यक्ष बोहराले एभरेष्ट बैंकको शाखा स्थापनाले साईपालका जनताको आर्थिक विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका छन् । देशैभरी १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ । बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा २१.११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १९।११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि २६.९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
गत वर्ष ४३ करोड २३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३४ करोड ९५ लाख ९८ हजारु रुपैयाँ आएको छ । आरओई १४.५५ प्रतिशत छ । प्रतिशेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ ।