जोडिनुहोस
बिहिबार, असार ५, २०८२
बिहिबार, असार ५, २०८२

हालको खबर

  • होमपेज
  • गभर्नरको आशमा दुई कार्यकारी निर्देशक

गभर्नरको आशमा दुई कार्यकारी निर्देशक

नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने आशै आशमा झण्डै तीन महिना बिताएका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अन्ततः अवकाश पाएका छन् । जेठ १० गते ५८ वर्षे उमेर हद पार गरेका कारण उनी अवकाशमा गएका हुन्।

उनले गभर्नर पदको उम्मेदवार बन्दै गत फागुनमै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा भने स्वीकृत भएको थिएन । बरु शनिबारदेखि राष्ट्र बैंकको जागिरबाट २७ वर्ष बिताएर अवकाश पाएका छन् ।

गभर्नर बन्ने आश्वासन पाएसँगै उनले फागुन ७ गते राजीनामा बुझाएका थिए । राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत रहेका श्रेष्ठ एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरेका थिए ।

२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए। उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् ।

यसअघि राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका बेला अहिलेका अर्थमन्त्री विष्णु पौडेल नै अर्थमन्त्री थिए । पौडेलले त्यसबेलै श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन चाहेका थिए । तर, प्रधानमन्त्री ओलीको हस्तक्षेपका कारण श्रेष्ठ डेपुटी गभर्नर बन्न सकेका थिएनन् ।

प्रधानमन्त्री ओलीले नै नीलम र बमबहादुरलाई डेपुटी गभर्नर बनाउन अर्थमन्त्रीलाई निर्देशन दिएपछि पौडेलले चाहँदा चाहँदै पनि श्रेष्ठले मौका पाएका थिएनन् ।

श्रेष्ठले राष्ट्र बैंकमा लामो समय आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक भएर काम गरे भने लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख भएर पनि काम गरे । उनीसँग नेपाल धितोपत्र बोर्डको सञ्चालक बनेर काम गरेको अनुभव पनि छ । राम्रो अर्थशास्त्रीको छवि बनाएका र कुनै पनि विवादमा नमुछिएका श्रेष्ठले अन्ततः गभर्नर बन्न पाएनन् ।

यस्तै गभर्नर पदकै लागि राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुणाकर भट्टले पनि राजीनामा दिएका थिए । उनको राजीनामा पनि स्वीकृत भइसकेको छैन । अन्तिममा आएर उनी गभर्नर बन्न पाएनन् ।

तत्कालीन कायम मुकायम गर्भनर नीलम ढुंगानाले नयाँ गभर्नरले नै यस विषयमा निर्णय गर्ने भनी राजीनामा स्वीकृत गरिनन् । उनी गभर्नरको बलियो दाबेदार थिए । सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग उनको सिँधा पहुँच छ ।

भट्टले २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका थिए । भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भए । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमै पीएचडी गरेका छन् । भट्ट अर्थशास्त्र स्नातकोत्तरका गोल्ड मेडलिस्ट हुन् ।

नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि देउवाले भट्टलाई बोर्डको अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव अस्वीकार गरेका भट्टले गभर्नरका लागि चासो देखाएका थिए ।

राष्ट्र बैंकको शक्तिशाली विभागका कार्यकारी निर्देशक भएर काम गरेका उनले डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको आर्थिक सल्लाहकार भएर समेत काम गरेका थिए । भट्ट धितोपत्र बोर्डको सञ्चालक भएर काम गरिसकेका व्यक्ति हुन् । उनले राष्ट्र बैंकमा नियमन, बैंक सुपरीवेक्षण, आर्थिक अनुसन्धान र भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरिसकेको छन् । अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी उच्च नैतिक चरित्र भएका सालिन र नम्र स्वाभावका छन् । तर पनि उनी गभर्नर बन्न पाएनन् ।

सरकारले गभर्नरनमा डा. विश्वनाथ पौडेल नियुक्त गरिसकेको छ । अब भट्टको राजीनामा स्वीकृत गर्ने वा नगर्ने निर्णय नवनियुक्त पौडेलले नै गर्नेछन्। पौडेलले शपथ ग्रहणका क्रममा राजीनामा स्वीकृतिको विषय आन्तरिक भएको बताएका छन् । भट्ट भने अहिले अमेरिकामा छन् । नेपाल फर्किएपछि उनी पुनः राष्ट्र बैंकमै फर्किएलान या नफर्किएलान भन्ने चासोको रुपमा हेरिएको छ ।

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका