जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • निजी क्षेत्रले पत्याएका स्वर्णिम वाग्ले अर्थमन्त्री,

निजी क्षेत्रले पत्याएका स्वर्णिम वाग्ले अर्थमन्त्री,

परम्परागत राजनीतिक पृष्ठभूमि नरहेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइरहँदा वाग्ले अर्थमन्त्री का रुपमा जनताबाट अनुमोदित भइसकेका थिए।

अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेका वाग्ले एक दशकअघि राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नेपालको राजकीय पदमा प्रवेश गरेका थिए। दुई पटक आयोगको सदस्य भएपछि कामको मूल्यांकन गर्दै उनलाई उपाध्यक्ष बनाइएको थियो।

आर्थिक क्षेत्रमा सक्रिय रहेका वाग्लेको रुची राजनीतितिर बढ्दै गएको थियो। तर, नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पत्नीले नरुचाएपछि २०७९ को आम निर्वाचनमा उनले टिकट पाएनन्। क्षमता हुँदाहुँदै पनि कदर नभएको भन्दै उनी उदाउँदो दल रास्वपामा प्रवेश गरेका थिए।

प्रतिनिधि सभाबाट राजीनामा गरेर रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको ठाउँमा वाग्लेले प्रचण्ड मतसहित विजय हासिल गरे। प्रतिनिधि सभामा उनको यसपालिको प्रवेश दोस्रो हो।

वाग्ले नेपाली अर्थतन्त्र र यस क्षेत्रका बारेमा सरोकार राख्नेहरुका लागि नयाँ नाम होइन। उनी उदार अर्थतन्त्रका हिमायती हुन्। वाग्ले अर्थमन्त्री बनेसँगै नेपाली अर्थतन्त्रको दिशा अनिश्चित हुँदैन भन्ने विश्वास बढेर गएको छ।

पेशाले अर्थशास्त्री वाग्ले अर्थजस्तो प्राविधिक मन्त्रालयलाई सुहाउँदो ‘टेक्नोक्र्याट’ चरित्रका व्यक्ति हुन्। उनी आयोगको सदस्य हुँदा लगानी सम्मेलनको हिस्सा बन्न पाएका थिए। लगानी सम्मेलनमा आएको अभूतपूर्व सहभागिताको जस तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले वाग्लेलाई दिने गरेका थिए।

ब्याज अनुदानमा कृषि क्षेत्रमा बैंक ऋण दिनु पर्ने नीतिको परिकल्पनाकार वाग्ले नै थिए। उनकै सिफारिसमा तत्कालीन सरकारले बजेटमा यो नीतिलाई समेटेको थियो। पछि कृषिसँगै अरु क्षेत्र थप्दै लगेर यसलाई अन्य अर्थमन्त्रीहरुले दूरुपयोग गरे।

विश्व बैंक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रममा प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेका वाग्ले तथ्यांकमा आधारित नीति बनाउनु पर्छ भन्ने ठान्छन्। भावनात्मक वा लोकप्रियतामुखी निर्णयभन्दा अनुसन्धान र तथ्यमा आधारित आर्थिक सुधारमा जोड दिनु पर्छ भनेर उनले धेरै वटा फोरममा मन्तव्य दिएका छन्।

उनले विगतमा नेपालको अर्थतन्त्र पुरानो संरचना र ढर्रामा अड्किएको भन्दै आलोचना गर्दै आएका थिए। उनकै सिफारिसमा डा. महतले ‘नेपालको अर्थतन्त्र सुधार २.०’ नीति लिएका थिए। सरकार लामो नचलेपछि यो कार्यक्रम अगाडि बढेन। अहिले वाग्लेलाई आफ्नो परिकल्पनालाई साकार रुप दिने अवसर प्राप्त भएको छ।

ज्ञान र क्षमतामा अब्बल रहे पनि समन्वयकारी भूमिकामा वाग्ले कमजोर रहेको उनीसँग काम गर्नेहरु बताउँछन्। अर्थमन्त्रीले सबै नियामकदेखि निजी क्षेत्रसम्म समन्वय गरेर काम गर्नु पर्छ। त्यसमा सुधार गरेर ‘टिम वर्क’मा वाग्लेले विश्वास गर्नु पर्ने हुन्छ।

वाग्लेको प्राथमिकता अर्थतन्त्रको आकार बढाउने, पूँजीगत खर्च प्रभावकारी बनाउने र निजी क्षेत्रलाई सक्रिय बनाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्नेमा केन्द्रित हुनु पर्छ। अन्तर्राष्ट्रिय रुपमा पनि नाम कमाएका कारण वाग्लेको नेतृत्वमा वैदेशिक लगानी आकर्षित गर्न सहज पनि हुन्छ। उने सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई आर्थिक विकाससँग जोडेर हेर्नु पर्छ।

वाग्ले देशको विकास आर्थिक वृद्धिमा मात्र मापन हुँदैन भन्ने मान्यता राख्ने अर्थशास्त्री हुन्। तथ्यांकमा देखिने आर्थिक वृद्धिसँग जनताको जीवनस्तर मिल्नु पर्ने बुझाइ भएका अर्थशास्त्री वाग्लेले संस्थागत सुधारतर्फ धेरै ध्यान दिन जरुरी छ। यसबाहेक आम जनतालाई करदेखि कमाइसम्म उनले सहयोग गर्नु पर्छ।

सुशासनका लागि भएको आन्दोलनको जगमा निर्वाचनबाट छानिएर आएका वाग्लेले बिचौलिया र भ्रष्ट कर्मचारीबाट जोगिन सक्नु पर्छ। सुशासनमा कमजोरी भएकै कारण मुलुक सम्पति शुद्धीकरणको ग्रे-लिस्टमा छ। त्यसबाट बाहिर निस्कन सम्पति शुद्धीकरण अनुसन्धानलाई अगाडि बढाउनु पर्छ।

बिचौलियाहरुलाई कारवाही गरेर आम जनताको पहुँचमा सबै नीति र सुविधा पुर्‍याउनु पर्छ। सुधारको वाचा गरेर आएका वाग्लेलाई मक्किएको सिस्टमले भने वाधा पुर्‍याउने जोखिम छ। उनका लागि मुख्य चुनौती यही हो।

अष्ट्रेलियाको अष्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका छन्।

285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्