जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • रास्वपामा संसदीय फाँटको जिम्मेवारी क–कसले पाउँदैछन् ?

रास्वपामा संसदीय फाँटको जिम्मेवारी क–कसले पाउँदैछन् ?

सरकार निर्र्माणको कार्य सकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय फाँटमा जिम्मेवारी दिने व्यक्तिहरूको बारेमा पार्टीभित्र आन्तरिक छलफल सुरु हुन थालेको छ ।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उप नेतामा चयन गर्ने व्यक्ति बारे पार्टीमा चर्चा सुरु भएको छ । रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेर उनी प्रधानमन्त्री बनिसकेका छन् । पार्टीभित्र संसदीय दलको उपनेताका को हुने विषयमा चर्चा सुरु भएको छ ।

रास्वपाका शीर्ष तहका एक नेताका अनुसार इन्दिरा रानामगरलाई संसदीय दलको उपनेता बनाउने बारेमा आन्तरिक छलफल भएको छ । यद्यपी, उनको नाम टुंगो भने लागिसकेको छैन । रानामगरको नाम मन्त्री र सभामुखमा समेत चर्चा चलेको थियो । मन्त्री बन्नेहरू सबैको टुंगो लागिसकेको र सभामुख पार्टी उपसभापति अर्याल हुने हुँदा उनको नाममा संसदीय दलको उपनेतामा छलफल भएको नेताहरूले जानकारी गराएका छन् ।

झापा–२ बाट निर्वाचित रानामगर पूर्व उपसभामुख समेत हुन् । अघिल्लो संसदमा उनी समानुपातिक सांसद बनेकी उनी रास्वपाका तर्फबाट उपसभामुख बनेकी थिइन् । रास्वपाका शीर्ष नेताका एक नेताले भने, ‘संसदीय दलको उपनेतामा इन्दिरा रानामगरको नाम पार्टी भित्र चर्चा भएको छ ।’

अघिल्लोपटक नेता विराजभक्त श्रेष्ठ रास्वपाका संसदीय दलका उपनेता थिए । संसदीय दलको उपनेता संसदीय दलको उपनेताले चयन गर्ने व्यवस्था छ । संसदीय दलको उपनेताले दलको नेताका कार्यमा सहयोग गर्ने गरी क्षेत्राधिकार तोकिएको हुन्छ । संसदीय दलको उपनेताले संसदीय दलको बैठकमा दलको नेता अनुपस्थित भएको बेला अध्यक्षता गर्ने अधिकार हुन्छ ।

रास्वपाको विधान अनुसार संघीय संसदका पदाधिकारीमा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र कोषाध्यक्ष १/१ हुने व्यवस्था छ । कोषाध्यक्ष पद भने संसदका पदाधिकारीमा विरलै नियुक्त गर्ने व्यवस्था छ । अघिल्लो संसदमा जनमत पार्टीले कोषाध्यक्ष नियुक्त गरेको थियो ।

सरकार निर्माण पछि संसदीय फाँटको जिम्मेवारी प्रदान गर्ने व्यक्तिहरूको विषयमा चर्चा भइरहेको छ । रास्वपा विश्वस्त स्रोतका अनुसार उपसभापति डीपी अर्याल सभामुख हुने निश्चित जस्तै हो । रास्वपाका संस्थापक उपसभापति रहेका अर्यालले विगतमा कार्यवाहक सभापतिको भूमिकामा समेत थिए । पूर्व श्रममन्त्री रहेको अर्याल अघिल्लोपटकको संसदमा समानुपातिक सांसद थिए । यसपटक काठमाडौं–९ बाट उनी निर्वाचित भएका हुन् ।

प्रमुख सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटीको चर्चा छ । रास्वपाका संस्थापक सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अघिल्लोपटक पराजित भएको क्षेत्र गोरखा–२ बाट यसपटक जित निकालेका छन् । पार्टी स्रोतका अनुसार सचेतक निशा डाँगी हुने सम्भावना बढी छ । अघिल्लो संसदमा समानुपातिक सांसद रहेकी उनी पूर्वाधार विकास समितिको सदस्य थिइन् । डाँगी झापा–१ बाट निर्वाचित भएकी हुन् ।

संसदीय समितिको सभापति हुने व्यक्तिका बारेमा पनि रास्वपामा छलफल भएको छ । प्रतिनिधि सभामा १० वटा संसदीय समिति छन् । संसदको नियमावली निर्माणको क्रममा संसदीय समितिहरू थपघट हुन सक्नेछन् ।

रास्वपा संसदमा दुई तिहाइ निकट रहेकाले उक्त दलले चाहे अनुसार समितिको संख्या घटबढ गर्न संख्याले अनुकूलता दिएको छ । लेखा समितिको सभापति विपक्ष दलबाट बनाउने प्रचलन छ । अघिल्लो संसदमा एमाले सत्तामा रहेपनि विपक्ष दललाई लेखा समितिको सभापतिको पद दिन भने इन्कार गरेको थियो ।

रास्वपाका एक नेताका अनुसार अघिल्लो संसदमा रहेका सांसदहरूलाई संसदीय समितिको सभापति बनाउन प्राथमिकतामा राखिने छ । उनका अनुसार नेताहरू मनिष झा, गणेश पराजुली, हरि ढकाल लगायत समितिको सभापति बन्ने निश्चित जस्तै छ । तिनै जना पार्टी सचिवालय सदस्य समेत हुन् । झा पार्टी प्रवक्ता समेत हुन् । महिला तथा सामाजिक मामिला समितिको सभापति महिला सांसदबाट नै बनाउने ती नेताले जानकारी गराए ।

रास्वपाका सांसदहरूलाई आफूले इच्छाएको समितिमा बस्नका लागि जानकारी गराउन भनिएको छ । विषयगत ज्ञान र आफ्नो इच्छा भएको समिति अनुसार जानकारी गराउन भनिएको छ ।

400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्