
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर (आठौँ तह) का किशोरी प्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवले सेवामा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको देखिएकाले अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले गरेको अनुसन्धानबाट सेवा अवधिमा यादवले विभिन्न स्रोतबाट करिब ३ करोड ४६ लाख रुपैयाँ वैध आम्दानी देखिन्छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, अध्ययन, ऋण भुक्तानी लगायत शीर्षकमा ४ करोड ९३ लाख रुपैयाँभन्दा बढी खर्च भएको पाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार यादवको आयभन्दा १ करोड ४६ लाख ८१ हजार २२५ रुपैयाँ ९० पैसा बढी खर्च तथा लगानी गरेको देखिएको छ। उक्त रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन सकेन।
त्यसैले सोही रकम बराबरको बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा अवैध सम्पत्ति जफतको मागदाबी गरेको छ। साथै सम्पत्ति लुकाउन तथा झूटा विवरण पेस गरेको आरोपमा थप कारबाहीको माग पनि गरिएको छ।
यादवले आर्जन गरेको भनिएको अवैध सम्पत्ति उनकी श्रीमतीको नाममा समेत देखिएकाले उक्त सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































