
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सियारी गाउँपालिका वडा नं. २ का मृतक बेलर कहारको नाममा रहेको २-०-५ बिघा जग्गा सरकारी कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा नक्कली हकवाला खडा गरी नामसारी गरेको पुष्टि भएको भन्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
मृतक बेलर कहारको हकवाला छोरी सन्जु कहारको नाममा जग्गा हकहस्तारण गर्नुपर्नेमा, निजको हक मेट्ने बदनियतले बुद्धिराम कहारलाई भाइ नाता प्रमाणित गरी नक्कली कागजात तयार पारिएको थियो । जिल्ला अदालत रूपन्देहीले उक्त नाता प्रमाणित, सर्जमिन मुचुल्का र सिफारिस फर्जी भएको ठहर गर्दै बदरको फैसला गरिसकेको छ ।
को-को विरुद्ध मुद्दा दायर ?
आयोगले मालपोत कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र बिचौलियालाई विपक्षी बनाई मुद्दा दायर गरेको छ । मालपोत कार्यालय, भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा र खरिदार अजित कुमार साहनीविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै सियारी गाउँपालिका वडा नं. २ का तत्कालीन वडा अध्यक्ष राम किशन थारू र वडा सदस्य वृजनारायण यादव र नक्कली हकवाला बन्ने बुद्धिराम कहारविरुद्ध पनि मुद्दा दायर भएको छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाहरू अन्तर्गत कैद र जरिवानाको मागदाबी गरिएको छ । प्रमुख मालपोत अधिकृत र मालपोत अधिकृतविरुद्ध दफा ९ र ११ बमोजिम कैद र जरिवाना । नायब सुब्बा र खरिदार: दफा ९, ११ र १९ (२) बमोजिम कैद र जरिवाना । वडा अध्यक्ष र वडा सदस्य: दफा ९ र १९ (२) बमोजिम कैद र जरिवाना । बुद्धिराम कहार: मुख्य कसुरदारहरूलाई हुने सजाय सरह नै सजाय गर्न मागदाबी गरिएको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, सरकारी अभिलेखमा झुट्टा विवरण थपघट गरी गलत श्रेस्ता र पूर्जा जारी गरेको तथ्य पुष्टि भएपछि यो कारबाही अगाडि बढाइएको हो ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































