जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी

मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले सिंहलाई लिखत किर्ते गरेको गम्भीर कसुरमा अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका तहसिलदार देवराज भट्टराईले मेयर सिंहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइएको विषयको आधिकारिक पुष्टि गरेका छन् । उनका अनुसार अदालतले यो अनुमति जेठ ८ गते नै प्रदान गरेको भए पनि यो विषय हालै मात्र सार्वजनिक भएको हो । स्थानीय सरकारको प्रमुख नागरिकता जस्तो संवेदनशील दस्तावेज र लिखत किर्ते गरेको अभियोगमा कानुनी अनुसन्धानको घेरामा परेपछि पर्सा र समग्र राजनीतिक वृत्तमा यसले ठूलो तरङ्ग पैदा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले मेयर सिंहविरुद्ध नागरिकता सम्बन्धी लिखत कसुरमा पक्राउ गरी अनुसन्धान अगाडि बढाउन अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिएका छन् । मेयर सिंहमाथि एक युवतीलाई आफ्नी नक्कली छोरी बनाएर झुट्टा विवरणका आधारमा नागरिकता प्रमाणपत्र दिलाएको र सो प्रक्रियामा सरकारी लिखत किर्ते गरेको गम्भीर आरोप लागेको छ । यो प्रकरणमा यसअघि नै जिल्ला प्रशासन कार्यालय पर्सा र प्रहरीले आन्तरिक छानबिन गरिरहेको थियो । छानबिनका क्रममा कैफियत देखिएपछि प्रहरीले उनलाई हिरासतमा लिएर थप अनुसन्धान गर्नका लागि कानुनी प्रक्रिया बमोजिम अदालतसँग अनुमति मागेको थियो ।

महानगरका बहालवाला मेयर नै किर्ते काण्डमा मुछिएर पक्राउ पुर्जी जारी भएपछि वीरगञ्जको स्थानीय राजनीति र प्रशासनिक क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ । प्रतिपक्षी दलहरू र स्थानीय नागरिक समाजले तत्काल मेयर सिंहले पदबाट राजीनामा दिएर कानुनी अनुसन्धानलाई सहयोग गर्नुपर्ने माग राख्न थालेका छन् । प्रहरीले अदालतबाट पक्राउ पुर्जीको अनुमति पाएसँगै सिंहको खोजी कार्य र आवश्यक कानुनी प्रक्रियालाई तीव्र पारेको जनाएको छ । नागरिकता जस्तो राष्ट्रिय पहिचानको संवेदनशील विषयमा जनप्रतिनिधि नै किर्ते कार्यमा संलग्न भएको आरोप लाग्नुले स्थानीय शासनको साखमाथि समेत गम्भीर प्रश्न उठाएको छ । यो घटनाले आगामी दिनमा वीरगञ्ज महानगरको राजनीतिक तथा प्रशासनिक नेतृत्वमा कस्तो फेरबदल ल्याउने हो भन्ने विषयमा सर्वत्र चासो बढेको छ ।

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका