कर्पाेरेट
एनआईसी एशिया बैंकद्वारा विभिन्न विद्यालय र परोपकारी संस्थालाई शैक्षिक तथा भौतिक सामग्री सहयोग

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरूलाई विभिन्न सहयोग सामग्रीहरू प्रदान गरेको छ । बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित हाम्रो साझा घरमा फर्निचर (बेड), बाराको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाको मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरू सहयोग स्वरूप प्रदान गरेको हो । एक कार्यक्रमका बीच बैंकका केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरू हस्तान्तरण गरे । उक्त संस्थामा हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरूलाई सहारा प्रदान गर्दै आइएको छ ।
त्यसैगरी, बैंकका वीरगन्जका सर्कल हेड गोपाल प्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर हस्तान्तरण गरे । सोही दिन आयोजित अर्को कार्यक्रममा केन्द्रीय सञ्चालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गरेका थिए । हाल श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा धेरै र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा धेरै विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । असहाय तथा पाका उमेरका व्यक्तिहरूलाई सहारा दिइरहेको साझा घरलाई उपलब्ध गराइएको सहयोगबाट आश्रितहरूको दैनिक जीवन अझ सहज तथा स्वस्थकर हुने र सामुदायिक विद्यालयहरूलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीबाट डिजिटल सिकाई अभ्यास सुदृढ हुनुका साथै गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































