Sticky Breaking News
बीमा प्राधिकरणको स्थलगत निरीक्षण प्रतिवेदन भन्दछ: सानिमा रिलायन्स लाइफभित्र दर्जनौँ ठगी र बेथिति भेटियो !

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा तपाईं बीमा गर्दै हुनुहुन्छ भने अब होसियार रहनुहोला । नेपाल बीमा प्राधिकरणले केही महिना अगाडि गरेको स्थलगत निरीक्षण प्रतिवेदनले यही तथ्य उजागर गरेको छ भन्दा अब फरक पर्दैन ।
राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक एवं कांग्रेसी कार्यकर्ता शिवनाथ पाण्डे सीईओ रहेको कम्पनीभित्र यति बेथिति बढेको छ कि लेख्न शब्द नै छैन भन्दा अब फरक पर्दैन । राष्ट्र बैंकमा रहँदा रतनलाल केडियालाई सहयोग गरेका पाण्डे दुई जना सानिमा लाइफ र रिलायन्स लाइफका सीईओलाई पछि पार्दै विगत ३ वर्षदेखि यस कम्पनीमा कब्जा जमाएर जनताको पैसामा फुपूको श्राद्ध गर्दै आएको राष्ट्र बैंककै प्रतिवेदनबाट खुलेको छ ।
आर्थिक बजार न्यूजडटकमलाई नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्थलगत निरीक्षण प्रतिवेदनले यस कम्पनीभित्र भएका ठगीदेखि दाबी भुक्तानीसमेत नदिएका घटना मात्रै छैनन्, बीमाकै कारण एक बीमितको मृत्यु भएको घटनासमेत यस कम्पनीमा भएको डरलाग्दो घटनालाई उजागर गरेको छ । मनी लन्ड्रिङको निर्देशिका पालना नगरेको, बीमितलाई समयमै भुक्तानी नदिएर ठगी गरेको, बीमा करोडौँको गराएको र ३ महिनापछि सरेन्डर गराएर कर्मचारी र अभिकर्ताको मिलेमतोमा ठगी गरेका जस्ता दर्जनौँ काण्ड स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यति मात्र नभई सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्तादेखि कर्मचारीहरूलाई तालिम र भेटघाट गर्ने निहुँमा ५ तारे होटलहरू, चितवन, पोखरा जस्ता ठाउँमा कार्यक्रम गरी करोडौँ जनताको पैसा उडाएको भेटिएको छ । अर्को अचम्मको पक्ष के छ भने पछिल्लो समय पाण्डे सीईओ भएपछि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी मर्जर गरेर हटाइएको र पाण्डे एन्ड कम्पनीले नयाँ कर्मचारी, सञ्चालकहरू आफन्त र सीईओका आसेपासेहरूलाई भर्ना गर्ने गरेको तथ्य बाहिर आएको छ ।
नेपाल बीमा प्राधिकरणले यस कम्पनीको स्थलगत निरीक्षण प्रतिवेदनमा देखिएको डरलाग्दो बेथिति सुधार गर्न पटक–पटक निर्देशन दिए पनि सीईओ पाण्डेले राष्ट्र बैंककै दम देखाउँदै गल्ती सच्याउने काम नगरेको नेपाल बीमा प्राधिकरणकै एक कार्यकारी निर्देशकले पंक्तिकारसँग दाबी गरे । उनले भने, “यो प्रतिवेदन भित्र के के छन्, तपाईंले नै हेर्नुहोला नि ।” जे भए पनि अधिकांश आर्थिक अनलाइन पोर्टलहरूलाई दानदक्षिणा गरेर सीईओ पाण्डेले जनताको सम्पत्तिमाथि राज गर्दै ठगी गर्दै आएको भेटिएको छ । (प्रतिवेदन सहित अर्को अंकमा) सचेत भया ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































