जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सेयरको भित्री कारोबार गर्ने गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा

सेयरको भित्री कारोबार गर्ने गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीका तत्कालीन अध्यक्ष न्यौपानेले भित्री सूचनाका आधारमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले न्यौपानेविरुद्ध १ करोड ९९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विभागले कात्तिक २३ गते अदालतमा मुद्दा दायर गरेको हो ।

धितोपत्र ऐनविपरीत न्यौपानेले भित्री सूचनाको आधारमा सेयर किनेको पाएपछि धितोपत्र बोर्डले अनुन्धान गरेर काठमाडौं जिल्ला आदालतमा मुद्दा चलाइसकेको छ । त्यो सेयर खरिद-बिक्री हुँदा उनले कति सम्पत्ति आर्जन गरेका थिए, त्यो विषयमा अनुसन्धान गरेको थियो ।

विभागका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा २५ को २ अनुसार रिफर आएको अनुसन्धानलाई ऐनको दफाअनुसार विभिन्न खाले क्रियाकलाप गरेको पाइएको छ । विभागले ऐनको दफा ३ को ‘क’ र ‘ख’ अनुसार मुद्दा चलाएको जनाइएको छ ।

दफा ३ को ‘क’ मा सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा-पाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने र ‘ख’ मा कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा-पाउँदै वा विश्वास गर्नुपर्ने मनासिव आधार हुँदाहुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग (डिस्पोजिसन), कारोबार (मुभमेन्ट), स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने भन्ने व्यवस्था छ ।

ऐनको दफा २५ अनुसार धितोपत्र बोर्डले पत्र पठाएपछि विभागले अनुसन्धान गरेर मुद्दा चलाउन लागेको हो । ऐनको दफा २५ को २ मा ‘प्रचलित कुनै कानुनअन्तर्गतको कसुरमा संलग्न व्यक्तिले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुर मानिने कार्य गरेको देखिएमा त्यस्तो कसुर अनुसन्धान गर्ने निकाय वा अधिकारीले विभागलाई सोको जानकारी दिनुपर्नेछ’ भन्ने व्यवस्था छ ।

न्यौपाने २०७७ चैत १९ देखि २४ साउन २०७८ सम्म उक्त संस्थाको अध्यक्ष थिए । न्यौपाने अध्यक्ष भएको समयमा २०७७ चैत १९ देखि २०७८ साउन २४ सम्म रिडी पावरको १४ पटकमा ६२ लाख ४३ हजार ५७३ रुपैयाँबराबरको २९ लाख ९५३ कित्ता सेयर खरिद र १२ पटक २ करोड ६१ लाख ५३ हजार ८२५ रुपैयाँको ३९ हजार २२३ कित्ता सेयर बिक्री गरेको पाइएको छ ।

उनी अध्यक्ष भएका बेला २०७८ जेठ ४ गते रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता सेयर बिक्री गर्ने निणर्य गरेको थियो ।

उनले निर्णय जेठ ४ गते गरेको भए पनि २०७७ चैत १९ गते, २२ गते, २३ गते, २४ गते, २०७८ वैशाख १४ गते १५ गते ६२ लाख ४३ हजार ५७३ रुपैयाँबराबरको २९ लाख ९५३ कित्ता सेयर खरिद गरेका थिए । यस्तै न्यौपानेले २०७८ असार २ गते, ३ गते र साउन २४ गते २ करोड ६१ लाख ५३ हजार ८२५ रुपैयाँको ३९ हजार २२३ कित्ता सेयर खरिद गरेका थिए ।

न्यौपानेले भित्री कारोबार गरेको भन्दै २०७९ चैत ८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । न्यौपानेले भित्री कारोबार गरेको दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत नेपाल धितोपत्र बोर्डले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । बोर्डले ३ करोड २३ लाख ९७ हजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय माग दाबी गरेको छ ।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?