जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपको दुरूपयोग गरी हकप्रद उठाउनेको शेयर लगत रद्द

कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपको दुरूपयोग गरी हकप्रद उठाउनेको शेयर लगत रद्द

कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक रूपमा चुक्ता भएको शेयर पुँजी घटाएको छ । बैंकका संस्थापक तथा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, राजेन्द्र वीर रायलगायतले हकप्रद शेयर खरिद गर्दा निक्षेपकर्ताको रकम दुरूपयोग गरेको पुष्टि भएपछि यस्तो कदम चालिएको हो । यसअघि मंसिर १ गते सूचना प्रकाशित गर्दै उक्त पूँजी घटाउन लागेको जानकारी दिएको थियो ।

हकप्रद शेयर खरिदका क्रममा निक्षेपकर्ताको रकम प्रयोग गरी चुक्ता नगरीएको देखिएपछि सम्बन्धित शेयरधनीको शेयर लगत खारेज गर्दै बैंकको चुक्ता पुँजी घटाइएको हो । कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले सूचना जारी गर्दै अवैधानिक रूपमा चुक्ता भएको पुँजी खारेज गरिएको जनाएको छ ।

शेयर खारेजसँगै बैंकको शेयरधनी संरचना पनि उल्लेखनीय रूपमा घटेको छ । संस्थापक समूहका शेयरधनीको नाममा रहेका २१ लाख ३६ हजार ६०.८४ कित्ता शेयर घटेर अब २१ हजार ३६०.६१ कित्ता मात्र कायम रहनेछन् । यस्तै, सर्वसाधारण समूहअन्तर्गत १२ हजार ८८४ कित्ता शेयर भएका शेयरधनीको शेयर संख्या घटेर १२६.८५ कित्ता मात्र कायम गरिएको छ ।

यस प्रक्रियामा संस्थापक समूहका २५ जना तथा साधारण समूहका १० जना शेयरधनीको शेयर पुँजी घटाइएको छ । नेपाल राष्ट्र बैंकको २०८१ पुस ११ गतेको निर्णयअनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरी यसको व्यवस्थापन तथा सञ्चालन राष्ट्र बैंकबाट नियुक्त व्यवस्थापन समूहमार्फत भइरहेको छ ।

सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्दा बैंकको चुक्ता पुँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने अवस्था देखिएको र केही शेयरधनीबाट चुक्ता हुनुपर्ने शेयर पुँजी अवैधानिक रूपमा चुक्ता गरिएको पुष्टि भएपछि बैंकको पुनर्संरचना प्रक्रिया अघि बढाइएको हो । यही क्रममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ङ. को उपदफा (१) को खण्ड (थ) तथा खण्ड (ज) र दफा ८६ ज. बमोजिम सम्बन्धित शेयरधनीको शेयर पुँजी घटाई १ प्रतिशत मात्र कायम गरिएको व्यवस्थापन समूहले जनाएको छ ।

125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?