
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म बैंकको नाफा ४३.०४ प्रतिशतले घटेर १ अर्ब ६१ करोड ३० लाखमा सीमित भएको छ। पोहोर ६ महिनामा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो।
ब्याज आम्दानीसँगै अन्य आम्दानी संकुचित हुँदा बैंकको नाफा प्रभावित भएको छ। साथै, खराब कर्जा वृद्धि हुँदा बैंकले प्रोभिजनिङ रकम बढेको छ। प्रोभिजनिङ बढ्दा त्यसले नाफामा असर गर्छ।
बैंकको खुद ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेर ६ अर्ब ४२ करोडमा सीमित छ। पोहोर ६ महिनामा बैंकले ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। खुद फि तथा कमिसन आम्दानी ८.६६ प्रतिशतले बढेर १ अर्ब ९ करोड २९ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशतले घटेर ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँमा झरेको छ। खराब कर्जा वृद्धि हुँदा बैकले ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। पोहोर ६ महिनामा यस्तो रकम १ अर्ब ७७ करोड थियो।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी घटेको छ। पोहोर ६ महिनामा १६ रुपैयाँ ६० पैसा रहेको बैंकको प्रति सेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा खुम्चिएको छ। साथै, प्रति सेयर नेटवर्थ १९४ रुपैयाँ ७७ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.२० गुणा छ।
६ महिनामा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ रुपैयाँले ऋणात्मक देखिएको छ।
बैंकको खराब कर्जा ५.८६ प्रतिशत रहेकोमा बढेर ७.९० प्रतिशत पुगेको छ। प्राथमिक पुँजीकोष अनुपात ९.७२ प्रतिशत र त्रैमासको औसत आधार दर ५.१६ प्रतिशत छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































