Sticky Breaking News
हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेलसहित तीन दर्जनभन्दा बढी सञ्चालक र सीईओहरूको सेयर रोक्काः नेपाल प्रहरीको सीआईबीले थाल्यो अनुसन्धान !

नेपाल प्रहरीको सीआईबीले हिमालयन रिइन्स्योरेन्स कम्पनीकी सीईओ उपासना पौडेलसहित तीन दर्जन सीईओ र सञ्चालकहरूको सेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको भेटिएको छ भन्दा अब फरक पर्दैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि ५६ जना हाई–प्रोफाइल व्यक्तिहरूको सेयर रोक्का राख्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । ब्यूरोले २०८३ जेठ ११ गते धितोपत्र बोर्डको अनुसन्धान तथा कारबाही शाखालाई सम्बोधन गर्दै पत्र पठाएको हो । बोर्डको आफ्नै जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दीपक भट्टसमेत भएको मुद्दाको सिलसिलामा यो कदम चालिएको बताइएको छ ।
ब्यूरोले वित्तीय र बीमा क्षेत्रका स्थापित व्यक्तित्वहरूको धितोपत्र बजारमा भएको लगानी रोक्का राखी विस्तृत विवरण माग गरेको छ । यसरी सेयर रोक्का राख्न आग्रह गरिएका व्यक्तिहरूमा हिमालयन री–इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुभाष कुमार झुनझुनवाला रहेका छन् । साथै उक्त कम्पनीका लगानी समिति सदस्य मनिष कुमारको सेयर पनि रोक्का गर्न भनिएको छ ।
यसैगरी नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्यहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, बद्री सिग्देल, सुजल मल्ल र लगानी समिति अध्यक्ष प्रविना दाहाल अनुसन्धानको घेरामा परेका छन् । गार्डियन माईक्रो लाईफ ईन्स्योरेन्स लिमिटेडका सञ्चालकहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा लगानी समिति सदस्यहरू ज्योती प्रकाश पाण्डे र समीर खरेलको पनि सेयर रोक्काका लागि पत्राचार गरिएको छ ।
हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेडका सञ्चालक समिति तथा लगानी समितिका पदाधिकारीहरू विवेक कुमार शाह, लक्ष्मण ज्ञावली, राजिव प्रसाद प्याकुरेल, आशिष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला के.सि. र दिगम्बर झा समेत सीआईबीको सूचीमा समेटिएका छन् । यो कारबाही अन्य विभिन्न वित्तीय संस्थाहरूमा समेत विस्तारित भएको छ । जसमा हिमालय सेक्युरिटी बैंकर लिमिटेडका सञ्चालकहरू सित्ताराम वाग्ले र आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भ लिमिटेडका अध्यक्ष शिशिर गैह्रे तथा हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिल कुमार दाहाल, राजन प्रसाद अधिकारी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानाङ्ग, सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशी रहेका छन् । क्रेष्ट माईक्रो ईन्स्योरेन्सका विदुर पुरी, प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्सकी कीर्तीका अग्रवाल र दिनेश सरियाको सेयर समेत रोक्का राखी विवरण उपलब्ध गराउन ब्यूरोले बोर्डलाई निर्देश गरेको छ ।
धितोपत्र बजार र बीमा क्षेत्रका प्रतिष्ठित घराना तथा उच्च अधिकारीहरू संलग्न रहेको यो मुद्दालाई निकै चासोका साथ हेरिएको छ । सीआईबीले ऐन विपरितका कार्यहरूमा यी व्यक्तिहरूको संलग्नताका बारेमा गम्भीरतापूर्वक छानबिन अघि बढाएको छ । धितोपत्र बोर्डलाई पठाइएको यो पत्रसँगै वित्तीय क्षेत्रमा नयाँ तरंग पैदा भएको छ भने यस सम्बन्धी थप तथ्यहरू अनुसन्धान प्रक्रिया अघि बढेसँगै खुल्दै जाने अपेक्षा गरिएको छ । सचेत भया ।



सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































