जोडिनुहोस
बुधबार, असार १७, २०८३
बुधबार, असार १७, २०८३
  • होमपेज
  • आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने कोइरालाको माग

आगामी मौद्रिक नीति लचिलो हुनुपर्ने कोइरालाको माग

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीति बैंकिङ क्षेत्र र अर्थतन्त्रलाई चलायमान बनाउने गरी खुकुलो हुनुपर्ने बताएका छन्। आर्थिक पत्रकार समाज (सेजोन) द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै नीतिगत लचकता अपनाउन आवश्यक रहेको औंल्याए।

अध्यक्ष कोइरालाले बैंकहरू अत्यधिक नाफामुखी भएको भन्ने भाष्य वास्तविकतासँग मेल नखाने दाबी गरे। बैंकहरूको औसत प्रतिफल (आरओई) करिब ७ प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै उनले प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक हुने भएकाले नाफाबारे बढी चर्चा हुने गरेको स्पष्ट पारे। करिब ८० खर्ब रुपैयाँ बराबरको निक्षेप र ६९ खर्ब रुपैयाँ बराबरको कर्जा पोर्टफोलियो सञ्चालन गरिरहेको बैंकिङ क्षेत्रमा नियमन आवश्यक भए पनि अहिले व्यावसायिक प्रतिफल सुनिश्चित हुने वातावरण चाहिने उनको भनाइ थियो।

विशेषगरी खराब कर्जा (नन-पफर्मिङ एसेट) वर्गीकरण तथा प्रोभिजनिङ व्यवस्थामा पुनरावलोकन गर्नुपर्नेमा उनले जोड दिए। हाल कायम एक महिनामै ५ प्रतिशत र एक वर्षमा १०० प्रतिशतसम्म प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाले बैंक र ऋणी दुवैलाई पर्याप्त समय नदिएकाले यसमा परिमार्जन हुनुपर्ने माग उनले गरे। साथै, बजेटमा उल्लिखित आगामी पुसभित्र एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने प्रक्रियालाई छिटो सम्पन्न गरिए समस्याग्रस्त कर्जा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

त्यस्तै, कोइरालाले बेस रेट गणना, रिस्क बेस्ड प्राइसिङ, नियमन गरिएको शुल्क तथा कमिसन सम्बन्धी व्यवस्थामा पुनरावलोकनको आवश्यकता औंल्याए। उनले क्यापिटल र डिबेन्चर रिडेम्पसन रिजर्भ सम्बन्धी व्यवस्थामा सुधार गर्न आग्रह गर्दै, भारतको रिजर्भ बैंकले डिबेन्चरमा रिडेम्पसन रिजर्भ अनिवार्य नगरेको उदाहरण दिँदै नेपालमा पनि बोनस सेयर वितरण गर्न सहज हुने व्यवस्था गर्नुपर्ने बताए।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?