
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकको दीर्घकालीन आर्थिक विकासका लागि उच्च प्रतिफल दिने क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति तर्जुमाका लागि आयोजित सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उत्पादनशील क्षेत्र र पूर्वाधार निर्माणमा अपेक्षित प्रगति हुन नसकेकै कारण अर्थतन्त्रले गति लिन नसकेको बताए।
गभर्नर पौडेलले विकसित मुलुकहरूले जस्तै नेपालले पनि अनुसन्धान, नवप्रवर्तन, शिक्षा, स्वास्थ्य र सीप विकासमार्फत समग्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने धारणा राखेका छन्। सिमेन्ट, स्टिललगायत उद्योगहरूको उत्पादन लागत निरन्तर बढ्दै गएको र प्राकृतिक स्रोतमा आधारित उद्योगसमेत प्रतिस्पर्धी बन्न नसकेको भन्दै उनले औद्योगिक उत्पादन तथा लगानीको वातावरणमा चुनौती थपिएको उल्लेख गरे।
मुलुकलाई स्थिर र उत्पादनशील बनाउन वर्तमान अवस्थामा बढी प्रतिफल दिने क्षेत्रमै लगानी प्रवाह बढाउनुपर्ने उनको भनाइ छ। आगामी मौद्रिक नीतिले अर्थतन्त्रलाई थप चलायमान बनाउने दिशा लिने बताउँदै गभर्नर पौडेलले निजी क्षेत्र, वित्तीय संस्था र उद्योगी–व्यवसायीलगायत सम्पूर्ण सरोकारवालालाई रचनात्मक सुझाव उपलब्ध गराउन आग्रह गरेका छन्।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



















































