गैरआवासीय नेपाली (एनआरएनए) हरुको नवौं विश्व सम्मेलन सुरु भएको छ । विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी विश्व सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छ्न् ।
उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए । उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे ।
विश्वभरबाट प्रविधि र ज्ञान भित्र्याउन र देशको आर्थिक विकासमा लाग्न राष्ट्रपति भण्डारीले एनआरएनएलाई आग्रहसमेत गरिन्। ‘अहिले नेपालमा लगानी आवश्यक छ, यसमा एनआरएनएको भूमिका महत्वपूर्ण हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासको चाहाना पूरा गर्न एनआरएनएको आवश्यकता पर्ने भएकोले नेपाल सरकारले हरेक समयमा सहकार्य गरिररहेको बताए। एनआरएनएले नेपालको हरेक दुःखमा साथ दिएको स्मरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको समृद्धिको अभियानमा अझै ठूलो साथ, ज्ञान र प्रविधि ल्याउने आशा व्यक्त गरे।
अहिले नागरिकतासम्बन्धी विधेयक संसद्मा संशोधनका लागि प्रस्ताव पेस गरिसकेको बताउँदै यसले एनआरएनएलाई नेपालको महत्व प्रकाश पार्ने खुलाए। ‘नेपालमा स्थायित्वबाट उच्च आर्थिक वृद्धि र समृद्धिको बाटोमा एनआरएनएको साथ र सहयोग हुनेमा ढुक्क छौं,’ मन्त्री ज्ञवालीले भने।
एनआरएनएमार्फत लगानी भित्र्याउने र धेरैभन्दा धेरै पर्यटक भित्रिनमा सहयोग मिल्ने अपेक्षासमेत उनले व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी भित्र्याउन एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने धारणा राखिन्। उनले महासंघ र एनआरएनएको सहकार्य जारी रहेको र अगामी दिनमा थप बढ्दै जाने बताइन्।
उनले एनआरएन समुदायको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताए। एनआरएनएको विश्व सम्मेलन तथा अधिवेशनले आगामी कार्यकाल २०७६/७८ का लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ।