जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • यो पटक कसरी साधारणसभा गर्दैछन् बैंकहरु?

यो पटक कसरी साधारणसभा गर्दैछन् बैंकहरु?

कोरोनाभाइरस संक्रमण जोखिमका कारण यो वर्ष पब्लिक कम्पनीहरुलाई साधारणसभा सम्पन्न गर्न सहज छैन। हजारौं सेयरधनी रहेका पब्लिक कम्पनीहरुले यस पटक कसरी साधारणसभा गर्दैछन्?

आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ। कतिपय बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन्।

त्यो लाभांश साधारणसभाबाट स्वीकृत भएपछि मात्रै लगानीकर्ताले पाउने हुन्। साधारण सभा नभएसम्म लगानीकर्ताको लाभांश नै रोकिन्छ।

अर्कोतर्फ वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत , रिक्त संचालक समिति सदस्यको नियुक्ति गर्न पनि साधारणसभाले निर्णय गरेको हुनुपर्छ। त्यस्तै कम्पनीको पुँजी वृद्धि गर्ने, मर्ज वा एक्वीजिसनको अन्तिम निर्णय पनि साधारणसभामार्फत गर्नुपर्छ।

यसअघि कोरोनाको असरकै कारण माछापुच्छ्रे बैंकले डाकेको साधारणसभा समेत स्थगित गर्नुपर्यो।

माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले कोभिड १९ को असरका कारण साधारणसभा बोलाउन नसकिएको बताए। यसअघि बैंकको संचालक समितिले वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले लाभांश घोषणा गरेको थियो।

माछापुच्छ्रेमा साधारण सेयरधनीको तर्फबाट ३ जना संचालक सदस्य नियुक्त गर्नुपर्ने अवस्था छ। मछापुच्छ्रेजस्तै चुनाव समेत गर्नुपर्ने अवस्थामा रहेका अरु बैंकलाई यो वर्ष साधारणसभा गर्न अझै अन्यौलता रहेको उनले बताए।

चुनाव नहुनेलाई भने केही सहज रहेको उनी बताउँछन्। ‘प्रोक्सी उठाएपछि सभामा २५ जनाजति उपस्थित गराउने, बाँकीलाई भर्चुअल रुपमा उपस्थित गराउन सकिने भयो’ उनले भने।

साधारणसभा गर्नका लागि २१ दिनअघि नै सेयरधनीलाई सूचना दिनुपर्ने व्यवस्था छ। हाल वाणिज्य बैंकहरुमा सानिमा बैंकले कात्तिक २८ गतेका लागि साधारणसभा बोलाएको छ। अन्य कम्पनीहरुले साधारणसभा बोलाउन सकेका छैनन्।

सानिमा बैंकका सिइओ तथा बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले यस पटकको वार्षिक साधारणसभा फिजिकल र भर्चुअल मिक्स गरेर सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए।

साधारणसभामा प्रत्यक्ष रुपमा २५ जनाभन्दा बढी सहभागी हुन पाउने छैनन्। ‘२५ जना मात्रै सहभागी गराएर अरु इच्छुकलाई भर्चुअल्ली रुपमा उपस्थित गराउनेगरी तयारी गरिएको छ’ दाहालले भने।

दाहालका अनुसार उपस्थित हुन चाहनेहरुको सूची बैंकले इमेल ठेगानामार्फत संकलन गरेको छ। सेयरधनीलाई सोही इमेलमा भर्चुअल उपस्थितिका लागि सहभागिता जनाउन लिंक पठाइनेछ। बोल्न चाहनेलाई पनि अवसर दिइने उनले बताए।

सानिमालाई अहिले सञ्चालक समितिको कुनै सदस्यका लागि चुनाव गराउनुपर्ने अवस्था छैन। तर संचालक समितिमा रिक्त सदस्यको चुनाव गर्नुपर्ने अवस्था रहेका अरु बैंकलाई पनि विकल्प रहेको बताउँछन् दाहाल।

‘कोरोनाका कारण अब भर्चुअल माध्यमबाटै साधारणसभा गर्नुको विकल्प रहेन, उनले भने ‘चुनाव पनि इलेक्ट्रोनिक माध्यमबाटै गर्नेगरी योजना बनाउन सकिन्छ।’

साधारणसभाका लागि ५१ प्रतिशत सेयरधनीको कोरम पुगेको हुनुपर्छ। पहिलेदेखि नै सेयरधनीको हस्ताक्षर संकलन गरेर कोरम पुर्याउन सकिने दाहालको सुझाव छ।

कोरोनाको असरकै कारण साधारणसभा सम्पन्न हुन ढिलाइ हुने भएपछि यो वर्ष सेयर लगानीकर्ताले पनि ढिला लाभांश पाउने भएका छन्।

4180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?