कृषि व्यवसायीकरणमा विभिन्न नारा दिई कृषकलाई पोलट्री उत्पादनमा अभिप्रेरित गर्ने चिरपरिचित व्यवसायी सुरज वैद्यको कम्पनीले ठगी गरेको प्रमाणित भएको छ । चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा ४६ किलो मात्र दाना बिक्री गरेको पाइएको विभाग मातहतको कार्यालय वीरगन्जले जनाएको छ । यो उद्योगले कुखुरा पालक किसानलाई बेचेको ५० किलो दानामा ४६ किलो हाराहारी मात्रै तौल पाइयो’, नाप तौल कार्यालय वीरगन्जका प्रमुखले भने, ‘तौल कम भएको १० बोरा दाना जफत गरेको जनाएको छ ।
कमिसनको खेलमा कोभिड भ्याक्सिन आयात रोकेको आरोप लागेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य नापतौल ठगीमा पनि मुछिन पुगेका छन् । कोभिड भ्याक्सिनको कमिसनको विषयमा उनलाई एक टेलिभिजन कार्यक्रममा प्रश्न गर्दा , यदि त्यसो भएमा उनले आफ्नो सम्पूर्ण कारोबार बन्द गर्ने बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघको छविलाई खराब गर्दे वैद्य कमिसन लगायतका विभिन्न अनैतिक क्रियाकलापमा संलग्न भएका समाचारहरू छापिँदै आएको छ ।
नेपाल गुणस्तर तथा नाप तौल विभागका अनुसार, वैद्यको बहुमत साझेदारी भएको नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा तौलमा किसान ठगिएको पुष्टि भएको छ । यो मुद्दा अदालत जाने चरणमा छ । ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र तीन वर्ष कैद हुने कानुनी प्रावधान छ
किसानको उजुरीपछि वैशाख १९ गते परीक्षण गर्दा ठगी पुष्टि भएको उनले बताए । त्यसपछि मुचुल्का उठाएर ठगिएका किसान र उद्योगका अधिकारीलाई बयानका लागि बोलाएको तर लकडाउनले असर परेको बताइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधिको रोहोवरमा पीडित किसानलाई राखेर दानाको तौल जाँचिएको यादबले बताए । उनका अनुसार, वाणिज्य विभागले उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ भने नाप तौल तथा गुणस्तर कार्यालयले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
भरतपुर महानगरपालिका–२३ का किसान मोहन शर्माले नेपाल वेलहोप एग्रिटेक प्रालिको विजय पेल्लेट (दाना) दुई वर्षदेखि कुखुरालाई खुवाई रहेका थिए । वैशाख दोस्रो हप्ता किनेको १० बोरा दानाको बोरा खुकुलो पारेर सिल नखोली घरमै तौलँदा ५० किलोको बोरामा ४६ किलो १०० ग्रामदेखि ६०० ग्रामसम्म मात्र भेटिएको थियो । ‘आफ्नो काँटा बिग्रियो भनेर नजिकै साथीको मेसिनमा बोराहरू तौलिदा पनि कम नै फेला परेको भेटिएको थियो । त्यस पछि उनले जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र अन्तिममा नाप तौल तथा गुणस्तर विभागमा उजुरी गरेका थिए ।
भरतपुर महानगरपालिका–२३ का वडा अध्यक्ष पौडेलले बोहराले दानाको बोरा तौलँदा आफूलाई पनि साक्षी राखेको बताए । ‘उद्योगले तौलमा ठगेको देखिएपछि कानुनी उपचारका लागि वडा कार्यालयबाट सिफारिस पनि गरिएको छ ।
नेपाल वेलहोप एग्रिटेक प्रालि वैद्य अर्गनाइजेसन एण्ड ट्रेडिङ हाउस अन्तर्गतको उत्पादन मुलुक उद्योग हो । गुणस्तर विभागका अनुसार तौल ठगीको आरोपमा स्ट्याण्डर्ड नाप तौल ऐन २०२५ अनुसार ठगीको आरोपमा उद्योगको अध्यक्षलाई नै मुद्दा चल्ने कानुनी प्रावधान छ । त्यसैअनुसार मुद्दा दायर गरिने बताउँदै विभागको वीरगन्ज कार्यालय प्रमुख यादब भन्छन्, ‘ऐनले मुख्य सञ्चालकमाथि मुद्दा चलाउने भनेको छ ।