जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • ४० दिनमा ६०० अंक घट्यो सेयर बजार, ३ दिनमै २०० अंक तल

४० दिनमा ६०० अंक घट्यो सेयर बजार, ३ दिनमै २०० अंक तल

पछिल्लो ४० दिनमा सेयर बजार करिब ६०० अंक तल आएको छ। पछिल्लो ३ कारोबार दिनमा मात्रै २०४ अंक घटेको बजार मंगलबार २६१५ बिन्दुमा आएर बन्द भएको छ।

गत भदौ २ गते करिब ३२०० बिन्दुमा पुगेको नेप्से सूचक असोज १२ गतेसम्म आउँदा २६०० को नजिक आएको छ। यो ४० दिनमा पनि जम्मा २५ कारोबार दिनमा नै करिब ६०० अंक घटेपछि लगानीकर्तामा चरम निराशा देखिएको छ। 

पछिल्लो दिनमा सेयर बजार औषत ७० अंकका दरले घटेको छ। आइतबार ६१ अंकले घटेको बजार सोमबार ७३ अंक र मंगलबार ७० अंकले घटेको हो।

बैकिङ प्रणालीमा देखिएको तरलता अभाव, बढ्दो बैंक ब्याजदर र नजिकिएका चाडपर्वका कारणनै बजार निरन्तर घटिरहेको एक ब्रोकरले बताए।

यो बीचमा अधिकांस कम्पनीको सेयर मूल्य ५० प्रतिशत सम्म घटिसकेको छ। एक वर्षको अवधिमा तीन हजार रुपैयाँ सम्म पुगेको नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य मंगलबार १६ सय रुपैयाँमा आएको छ।

एक वर्षको अवधिमा एक हजार रुपैयाँ माथि पुगेको प्रभु लाइफको सेयर मूल्य पनि पाँच सय रुपैयाँको लाइनमा आएको छ। 

८/९ सय पुगेका अन्य जीवन बीमा कम्पनीको सेयर मूल्य पनि पाँच सय रुपैयाँकै लाइनमा आएको छ। रिलायन्स, सानिमा, ज्योति र युनियन लाइफको सेयर मूल्य पनि पाँच सय रुपैयाँको लाइनमा आएको छ।

त्यस्तै अधिकांस जलविद्युत कम्पनीको सेयर मूल्य पनि ५० प्रतिशत सम्म घटेको छ। छोटो समयमानै उच्चदम बिन्दुबाट तल्लो बिन्दुमा आउने कम्पनीमा जलविद्युत समूहकै कम्पनी धेरै देखिएका छन्।

करिब १४ सय रुपैयाँ पुगेको ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य अहिले ६०० को लाइनमा आएको छ। १३ सय रुपैयाँ माथि पुगेको राधि विद्युत कम्पनीको सेयर मूल्य पनि अहिले ६०० कै लाइनमा आएको छ।

यी त केहि उदाहरण मात्रै हुन्। सेयर बजार ६०० अंक तल आउँदा बैंकिङ समूह बाहेक अन्य क्षेत्रका कम्पनीको सेयर मूल्य ५० प्रतिशत सम्मै घटिसकेको छ।

मंगलबार २१८ कम्पनीको मात्रै सेयर कारोबार आएको छ। एक करोड ३० लाख कित्ता सेयर ७५ हजार पटक किनबेच भएका छन्।

१० कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको मूल्य स्थिर र बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ। भरखरै नेप्सेमा सूचिकृत मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेको छ।

घट्नेक्रममा भने ७ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशत घटेको छ। अधिकांस जलविद्युत र फाइनान्स कम्पनीको सेयर मूल्य धेरै घटेको छ। हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, गुर्खाज फाइनान्स, जोशी हाइड्रो र श्री इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक करिब १० प्रतिशतले घटेको छ।

कुमारी बैंकको सर्वाधिक १८ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच हुँदा हिमालय डिष्टिलरीको १७ करोड ३८ लाख, नेशनल हाइड्रोको १५ करोड ४८ लाख, आइसीएफसी फाइनान्सको १५ करोड र एनआएसी एसियाको १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सबै उपसमूह राताम्मे भएको बजारमा जीवन बीमा समूह सर्वाधिक ४३१ अंकले घट्दा निर्जीवन बीमा समूह ३२५ अंक र फाइनान्स समूह १७५ अंकले घटेको छ। विकास बैंक, हाइड्रोपावर र लघुवित्त समूहको सूचक पनि १०० अंक भन्दा धेरै घटेको छ।

5250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?