आर्थिक विशेष
कोरियाका पूर्व मन्त्री ली भन्छन् ‘नेपाललाई लगानी ल्याउन सकिन्छ तर पूर्ण सुरक्षा सुनिश्चितता हुनुपर्छ’

दक्षिण कोरियाका पूर्व मन्त्री डा.लीनामकीले नेपालका विभिन्न क्षेत्रको विकासका लागि लगानी ल्याउन सकिन्छ तर लगानीको पूर्ण सुरक्षा सुनिश्चितता हुनुपर्ने बतएका छन्। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एनआरएनएका अध्यक्ष विनोद कुँवर लगायतसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
विदेशी लगानी भित्र्याएर मुलुकका विभिन्न क्षेत्रको विकास गर्ने उपायबारे रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा छलफल भएको हो। छलफलका सहभागीले सहकार्य गर्न सकिने आधार रहेको निष्कर्ष निकालेका छन्।
गैर आवसीय नेपाली संघ (एनआरएनए)को पहलमा कोरियाका पूर्वमन्त्री डा. ली नेपालका सरकारी तथा निजी आर्थिक क्षेत्रका निकायहरुसँग एक सातादेखि भेटघाट र छलफलमा छन्। कोरिया-एसिया इकोनोमिक कोअपरेसन एसोसिएसनका अध्यक्ष समेत रहेका लीले सीइओे गुरुङसँग वैदेशिक लगानी कृषि विकास बैंकमार्फत परिचालन गर्नेबारे छलफल गरे।
विशेष गरेर सर्वसाधारणले सेवा सुविधा प्राप्त गर्ने र सरकारी नियन्त्रण भएका परियोजनामा आफूहरुले लगानी गर्ने डा. लीले बताए। हाइड्रो तथा सोलार पावर प्लान्ट, एयरपोर्ट, पब्लिकपोर्ट, अस्पताल तथा रिसर्च सेन्टर, विश्वविद्यालय, लजिस्टिक, मोनो रेल, राजमार्ग निर्माणका साथै आमजनताले प्रत्यक्ष लाभ पाउने ठूला परियोजनामा लगानी गर्न इच्छुक रहेको उनले बताए।
जसमा न्यूनतम २० अर्बदेखि माथिको लगानी ल्याउन सक्ने तर लगानी पूर्ण सुरक्षाको सुनिश्चिता हुनुपर्ने आफ्नो मुख्य सर्त रहेको उनले बताएका थिए।

बैंकका सीइओ गुरुङले आफू नेतृत्वको बैंकलाई लीले प्रस्ताव राखेजस्तै ठूलो रकमको आवश्यकता भएको तर कतिपय कानुनी तथा अन्तर्राष्ट्रिय मौद्रिक नीतिका कारण केही जटिलता रहेको बताए। आफूहरुसँग ठूलाठूला आयोजनाहरु पाइपलाइनमा बसेको र लगानीको खोजीमा रहेको बताउँदै उनले निकट भविष्यमा लगानी सुनिश्चिततासहित सहकार्य गर्न सकिने धारणा राखे ।
छलफलका क्रममा एनआरएनएका अध्यक्ष कुँवरले दक्षिण कोरिया लगायतका विश्वका विकसित देशहरुले सुरुमा विदेशी लगानीको भरपूर सदुपयोग गरेको बताउँदै नेपालले पनि त्यही गर्न सक्ने धारणा राखे।
भेटघाटमा संघकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा, चीफ फाइनान्स अफिसर प्रेमकुमार श्रेष्ठ, बिजनेस क्रेडिट डिपार्टमेन्ट हेड सुदीपकुमार दाहाल र पीडी इन्जिनियरिङ प्रालिका निर्देशक देव गुरुङले विदेशी लगानी ल्याएर नेपाली जनजीवन उकास्न सबैले कोसिस गर्नुपर्ने धारणा राखे।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































