एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्ज बीच रेमिट्यान्स सम्झौता भएको छ ।
दुबै कम्पनीले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउन सहज बनाउन व्यवसायिक समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यूएईमा रहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने विश्वासले साझेदारी गरेको दुबै कम्पनीले बताएका छन् ।
एआई अनसरी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम एनआईसी एशिया बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ इकाई र १६ हजारभन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत् भुक्तानी लिन सकिनेछ ।
साथै, यस बैंकको मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबाइल बैंक) भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा गई रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको कम्पनीले बताएको छ ।