
नेपाल धितोपत्र बोर्ड अध्यक्षको आधा कार्यकाल जिम्मेवारी सम्हालिरहेका रमेशकुमार हमाल पुस २० (शुक्रबार)देखि बिदा हुँदै छन्। २१ महिने कार्यकालमा पुँजी बजारमा करिब दुई दर्जन काम गरेर हमाल बोर्डबाट बिदा भएका हुन्।
हमाल बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बाँकी कार्यकाल अर्थात् २१ महिनाका लागि अध्यक्षमा नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई ४ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो।
तर, सर्वोत्तम सिमेन्ट लिमिटेड सेयर कारोबार प्रकरणमा मुछिएपछि सरकारले ढुंगानालाई २०७८ असोज १९ मा पदमुक्त गरेपछि बाँकी कार्यकालको जिम्मेवारी २०७८ पुस १८ मा हमाललाई दिइएको थियो।
ढुंगानाको बाँकी कार्यावधि सम्हालेका हमालले छोटो समयमै नेपालको पुँजी बजारको विकास र विस्तारका लागि महत्त्वपूर्ण ठानिने दुई दर्जन बढी काम गरेका छन्।
उनले नेपालको पुँजी बजारको इतिहासमै पहिलो पटक बुक बिल्डिङबाट सेयर जारी गर्ने, समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारबाही, सि–आस्वा शुल्क घटाउने, ब्रोकर लाइसेन्स, रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन प्राथमिक सेयर निष्कासन (आइपिओ) मा वैदेशिक रोजगारीमा गएका नेपालीलाई कोटा, साना तथा मझौला लगानीकर्ताका लागि ‘एसएमइ प्ल्याट फर्म’ नयाँ स्टक एक्सचेञ्ज ल्याउने बाटो खुलाएका छन्।
यस्तै, मर्जरपछि लामो समयसम्म बन्द हुने सर्वसाधारणको सेयरमा नयाँ व्यवस्था, कोटाको म्युचुअल फण्डमा ६ महिनाको लकिङ पिरियड, जलविद्युत् कम्पनीको सेयर जारी तथा खरिद बिक्रीमा नयाँ व्यवस्था गरेका छन्।
हमालले नवप्रर्वतन (स्टार्टअप) र साना तथा मझौला व्यवसायीलाई पुँजी बजारको माध्यमबाट सहयोग गर्न ३१ अर्ब रुपैयाँ बराबरको प्राइभेट इक्युटी/भेञ्चर क्याटिल कोष खडा गरेका छन्। यसले गर्दा नेपालमै केही गर्छु भन्ने नयाँ योजनासहितका परियोजना ल्याउने युवाका लागि हमालले गरेको काम महत्त्वपूर्ण बन्न सक्छ।
यस्तै, उनले नेपालको अर्थतन्त्रलाई पुँजी बजारको क्षेत्रबाट योगदान पुर्याउन यसको नियामक तर्फबाट अर्थतन्त्रमा नयाँ रोजगारी सिर्जना गर्ने, स्टार्टअप तथा साना तथा मझौला उद्यमलाई पुँजी बजारमा स्थान दिने गरी साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा बनाएर अर्थ मन्त्रालय पठाइसकेका छन्।
अर्थले उक्त नियमावली पास गरेर बोर्ड पठाएर लागू हुँदा नवप्रर्वतन तथा थोरै पुँजी भएर व्यवसाय सञ्चालन गर्न नसकेका युवाले पुँजी बजारको माध्यमबाट स्रोत संकलन गर्ने बाटो खुला हुन्छ।
यी हुन् हमालले गरेका २० काम
१. विशिष्टीकृत लगानी कोषको सुरुआत
२. एसएमईजी प्ल्याटफर्मका लागि नियमावली
३. वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपिओमा १० प्रतिशत आरक्षण व्यवस्था
४. वस्ता विनिमिय बजार अनुमितका लागि प्रक्रिया अगाडि बढेको
५. नयाँ स्टक एक्सचेञ्जका लागि प्रक्रिया
६. सूचीकृत कम्पनीमा क्षेत्रगत विविधीकरण
७. ओपन इन्ट्री एन्ड एक्जिटमार्फत धितोपत्र दलाल व्यवसायलाई अनुमति
८. बुक बिल्डिङ प्रणालीमार्फत् अनुमति
९. मर्जर तथा एक्विजिसन छरितो
१०. धितोपत्र दलाल व्यवसायीको शाखा विस्तार चुस्त
११ . बोर्डबाट लगानीकर्ता हित संरक्षणमा जोड दिई १६ व्यवसायीलाई कारवाही
१२. आस्वा शुल्कमा कटौती
१३. डेडिकेटेड टिएमएसका लागि व्यवस्था
१४. धितोपत्र बजारमा गैरआवासीय नेपाली भित्र्याउन आवश्यक व्यवस्था
१५. जलविद्युत् समूहको कम्पनीका लागि विशेष व्यवस्था
१६. एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरफेस (एपिआई)सम्बन्धी व्यवस्था
१७. वित्तीय साक्षरता अभिवृद्धिमा जोड
१८. धितोपत्र व्यवसायीका कर्मचारीलाई सर्टिफिकेसन् प्रोग्राम संचालनको नीतिगत निर्णय
१९. स्वतन्त्र सञ्चालकसम्बन्धी विशेष व्यवस्था
२०. सूचीकृत कम्पनीका लागि रिर्पोटिङ ढाँचा
हमालले छोटो कार्यकालमा दुई दर्जन बढी काम गरेका र भविष्यमा समेत पुँजी बजारको क्षेत्रबाट अर्थतन्त्रलाई बढीभन्दा बढी योगदान पुर्याउन गरिएका केही कामको थालनी गरिसकेका छन्।
आफूले प्रतिबद्धता गरेको केही काम पूरा गर्न थप समय आवश्यकता महसुस गरेका हमाल सरकारले चाहे बोर्ड अध्यक्षमा पुनर्वहाली हुने मनसायमा थिए। तर, संघीय संसद्को लेखा समितिले पुस १३ मा हमालको व्यक्तिगत सम्पत्तिलगायत कार्यकालमा भए÷गरेका विभिन्न काम–कारबाहीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिएको छ।
समितिको निर्देशनपछि हमालको बोर्ड अध्यक्षमा पुनर्नियुक्तिको सम्भावना टाढिएको हो। सरकारले चाहे बोर्ड अध्यक्ष हमाललाई पुस २१ सम्म दोस्रो कार्यकालका लागि नियुक्त दिन सक्छ।
कार्यकाल समाप्त हुनु एक महिनाअघि घर बिदा लिएर विदेश भ्रमणमा रहेका हमाललाई संसद्को सार्वजनिक लेखा समितिले बोलाएको समय उपस्थित नहुँदा भविष्यमा सार्वजनिक पदमा रहन योग्य नहुने निर्णय गरिसकेको छ। समितिले हमाललाई आर्थिक चलखेल गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ३० दिनभित्र उनको व्यक्तिगत सम्पत्तिको छानबिन गरी विवरण पेस गर्न निर्देशन दिएको छ।
यसले गर्दा हमालको पुनर्नियुक्ति अन्योलमा परेको छ। हमालले पदीय रूपमा अवाञ्छित र अपारदर्शी काम गरेको निष्कर्ष निकाल्दै लेखा समितिले धितोपत्र बोर्डलाई १० बुँदे निर्देशन जारी गरेको हो। यसरी आर्थिक चलखेललगायत विषयमा छानविनमा परेका व्यक्तिलाई सरकारले बोर्ड अध्यक्षमा पुनर्नियुक्त दिने सम्भावना न्यून छ।
हमालको कार्यकाल समाप्तिसँगै अध्यक्ष पद रिक्त भएपछि अर्थ मन्त्रालयले ३ जनाको नाम सिफारिस मन्त्रिपरिषद्मा पठाउनुपर्छ। सोही ३ जनाबाट उपयुक्त १ जनालाई ४ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरिनेछ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार









































































