जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • निक्षेपको ब्याजदर निक्कै तल झरेपछि बढाउने उपाय गर्दै राष्ट्र बैंक, करिडोर अन्तर घटाउने

निक्षेपको ब्याजदर निक्कै तल झरेपछि बढाउने उपाय गर्दै राष्ट्र बैंक, करिडोर अन्तर घटाउने

निक्षेपको ब्याजदर थप तल नजाओस् भनेर नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा बढाउने तयारी गरेको छ। यसबाट निक्षेप संकलन दर बढ्ने छ। अहिले तल्लो सीमा ३ प्रतिशत छ। यसैमा बसेर बैंकहरुले राष्ट्र बैंकमा आफ्नो बढी भएको निक्षेप राख्न पाउँछन्। राष्ट्र बैंकले निक्षेप संकलन दरभन्दा बचतको ब्याजदर तल आए त्यसको निक्षेप नस्वीकार्ने व्यवस्था गरेको छ। त्यही भएर उनीहरुले बचतको न्यूनतम ब्याजदर ३ प्रतिशत कायम गरेका छन्।

तर, बचत र मुद्दतीको ब्याज अन्तर बढीमा ५ प्रतिशत विन्दु हुनुपर्ने व्यवस्थाले गर्दा बैंकहरुले उच्चतम ब्याजदर भने निरन्तर घटाइरहेका छन्। अहिले आयात कम र रेमिटेन्स बढी भएका कारण साधारण निक्षेपकर्ता बैंकमा गएपनि संस्थागत निक्षेपकर्ताहरु भने बैंकसँग निरुत्साहित हुन थालेका छन्। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा ब्याजदर करिडोरको तल्लो सीमा बढाउँदा सकारात्मक प्रभाव पर्ने बताउँछन्। ‘ब्याजदर करिडोरको तल्लो सीमा बढाउँदा निक्षेपको दर थप तल जाँदैन भन्ने नै हो,’ उनले भने।

निक्षेपको ब्याजदर निरन्तर ओरालो लाग्दा त्यो पैसा बिस्तारै अनुत्पादक क्षेत्रमा जाने डर रहन्छ। साथै पूँजी पलायनको पनि खतरा रहन्छ। त्यही भएर पनि राष्ट्र बैंकले बैंकहरुको ब्याजदर बढाउनका लगि मौद्रिक औजारमा परिमार्जन गर्न चाहेको हो। राष्ट्र बैंकले भने ब्याजदर करिडोरको माथिल्लो सीमा र तल्लो सीमाबीच धेरै अन्तर देखिएपछि त्यसलाई परिमार्जन गर्न लागिएको जनाएको छ।

हाल ब्याजदरको माथिल्लो सीमा (बैंक दर) ६.५ प्रतिशत, नीतिगत दर ५ र तल्लो सीमा (निक्षेप संकलन) दर ३ प्रतिशत छ। अर्थात बैंकहरुले तरलता खरिद गर्दा लाग्ने ब्याज ६.५ प्रतिशत छ भने बढी भएको पैसा राख्दा पाउने ब्याज ३ प्रतिशत छ। बैंक दर र नीतिगत दर बीचमा अन्तर १.५ प्रतिशत तथा नीतिगत दर र निक्षेप संकलन दरबीच २ प्रतिशत विन्दुको अन्तर रहेकाले एकरुपता कायम गर्ने गरी त्यसलाई परिमार्जन गर्न लागिएको ती अधिकारीको भनाई छ। ‘अहिले बैंक दर साढे ६ प्रतिशत र नीतिगत दर ५ प्रतिशत छ। यी बीचमा साढे १ प्रतिशत अन्तर छ,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘अनि ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत छ। नीतिगत दर र करिडोरबीच अन्तर २ प्रतिशत छ।यो बीचको अन्तर मिलाउन तल्लो सीमा थोरै बढाउने गरी छलफल भएको छ।’

भारतमा यस्तो अन्तर ०.२५ प्रतिशत छ। भारतमा बैंक दर ६.७५ प्रतिशत, नीतिगत दर ६.५० प्रतिशत र निक्षेप संकलन दर ६.२५ प्रतिशत छ। उसले ०.५ प्रतिशत स्प्रेडमा अन्तर बैंक दर चलाउने गरेको छ। जसले गर्दा भारतमा ब्याजदरमा उचारचढाव कम हुन्छ। नेपालमा ब्याजदर करिडोरबीचको स्प्रेडमा अन्तर बैंक दर साढे ३ प्रतिशत छ। जसकारण ब्याजदरमा छोटो समयमा धेरै नै उतारचढाव हुने गरेको उनीहरुको तर्क छ। गत वर्ष मुद्दती निक्षेपको ब्याजदर १२/१३ प्रतिशतसम्म पुगेको थियो। जुन हाल ६ प्रतिशत हाराहारीमा झरेको छ।

110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै

छुटाउनु भयो कि?