जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • आईपीओ रोकिँदा झन्डै २७ लाख डिम्याट खाता निष्क्रिय

आईपीओ रोकिँदा झन्डै २७ लाख डिम्याट खाता निष्क्रिय

हालै समता घरेलु लघुवित्तको ‘एफपीओ’ अंकित मूल्य १ सयकै दरले खुलेको थियो । बजारमा सूचीकृत भइसकेको, प्रतिकित्ता ९ सय हाराहारीमा कारोबार भइरहेको यस कम्पनीको एफपीओ १ सयमै खुले पनि भर्नेको संख्या भने १४ लाख ३२ हजार मात्रै रह्यो । तीन वर्षअघि आईपीओ भर्नेको संख्या २४ लाख हाराहारी पुगेकोमा अहिले संख्या घटेको छ । असोज २०७८ मा खुलेको मध्यभोटेकोशीको आईपीओ २३ लाख ९० हजारले भरेका थिए । १ सयमै खुलेको यो कम्पनीको सेयर मूल्य अहिले ३ सय ४० रुपैयाँ हाराहारीमा छ ।

डिम्याट खाता खोल्नेहरू भने यही तीन वर्ष अवधिमा ४८ लाखबाट बढेर ६४ लाख पुगेका छन् । डिम्याट खाता संख्यामा उच्च वृद्धि हुँदा पनि आईपीओ/एफपीओ भर्नेको संख्या घट्नुले धेरै खाता निष्क्रिय रहेको पुष्टि गर्छ । हरेक आर्थिक वर्ष प्रतिव्यक्ति १ सय रुपैयाँ शुल्क तिरेर डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । डिम्याट खाता हुँदैमा आईपीओ नभर्न सकिन्छ, तर आईपीओ/एफपीओ भर्नेको संख्या घट्नुमा डिम्याट खाता र मेरो सेयर खाता नवीकरण नहुनु पनि हो । आईपीओ नियमित खुल्दा यसबारे धेरै चर्चा हुने गर्छ, जसले गर्दा आईपीओ भर्नकै लागि पनि डिम्याट खाता नवीकरण हुने गर्छ ।

तर, एक वर्षदेखि आईपीओ नै नखुलेपछि सर्वसाधारण धेरैले डिम्याट खाता नवीकरणमा पनि चासो दिन छाडेका छन् । ‘अब आईपीओ खुल्ने कहिले कहिले, डिम्याट खातामा सेयर पनि छैन, कारोबार पनि गरिँदैन, त्यसकारण नवीकरण नगरेको हो,’ काठमाडौं घट्टेकुलो बस्दै आएका बीबीएस अध्ययनरत् सुयश खतिवडाले भने । डिम्याट खाता तथा मेरो सेयर खाता नवीकरण नभएपछि आईपीओ/एफपीओ भर्न मिल्दैन । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) का अनुसार २१ कात्तिकसम्म डिम्याट खाता खोल्नेको संख्या कुल ६४ लाख ३३ हजार १ सय ९९ छ । तर, तीमध्ये सक्रिय मेरो सेयर प्रयोगकर्ता भने ३६ लाख ५८ हजार ४ सय ६६ मात्रै छन् ।

यसलाई आधार मान्दा करिब २७ लाख ७४ हजार खाता निष्क्रिय अवस्थामा छ । अर्थात्, खोलिएको खातामध्ये ४३ प्रतिशत निष्क्रिय छ । ‘जसको डिम्याट खाता नवीकरण छ, उसले मात्रै मेरो सेयर चलाउन सक्ने व्यवस्था छ,’ सीडीएससीका प्रवक्ता सुरेश न्यौपानले भने, ‘त्यसकारण मेरो सेयर नचलाउनेको डिम्याट खाता निष्क्रिय रहेको मान्न सकिन्छ ।’ डिम्याट खाता खोल्नेको संख्या बढ्दै जानुमा एउटा कारण एकै व्यक्तिले दुइटा खाता खोल्न पाउने नीतिगत व्यवस्था पनि हो । नीतिगत व्यवस्था दुइटासम्म मात्रै डिम्याट खाता खोल्न पाउने भए पनि कतिपयले त्योभन्दा धेरै खोलेको हुन सक्ने अनुमान छ । दुई डिम्याट खाता हुनेको संख्या करिब ५ लाख हाराहारी रहेको न्यौपानेले बताए । अहिले डिम्याट खाता नवीकरण नभए पनि पछि चाहेका बेला एकैपटक नवीकरण गर्न सकिने सीडीएससीले जनाएको छ ।

‘चार–पाँच वर्षदेखि नै डिम्याट खाता नवीकरण नगरेर निष्क्रिय रहेको अवस्था भएमा ग्राहकले ती वर्षको शुल्क तिरेर नवीकरण गर्न सक्छन्,’ न्यौपानेले भने, ‘यसको अर्थ, नवीकरण नभएका हकमा कुनै समयसीमाको बाध्यात्मक अवस्था छैन ।’ डिम्याट खाता नवीकरण नहुँदा आईपीओ भर्न, सेयर किनबेच गर्न भने पाइँदैन । हाल कतिपय निक्षेप सदस्य (डीपी) हरूले लामो समयसम्म डिम्याट खाता नवीकरण नगरेकालाई नवीकरण गर्न बोलाइरहेका छन् । लामो समयसम्म डिम्याट खाता नवीकरण नगरेकालाई बोलाएर कि नवीकरण गर्न कि त खाता नै बन्द गर्न आग्रह गर्ने गरिएको छ ।

सेयर भएका डिम्याट खाता पनि नवीकरण नभएको अवस्था छ । कम्पनीहरूले दिएको बोनस सेयर डिम्याट खातामा गइसकेको, तर १० कित्ताभन्दा कम सेयर बेच्न असहज भएकाले त्यस्तो सेयर संख्या जम्मा भएका निष्क्रिय डिम्याट खाता पनि प्रशस्त छन् । कुल डिम्याट खातामध्ये ४२ प्रतिशत महिलाका नाममा र ५८ प्रतिशत पुरुषको नाममा रहेको सीडीएससीले जनाएको छ । ‘डिम्याट खातामा महिलाको संख्या उत्साहजनक हो, यसले सेयर लगायत धितोपत्र जस्ता सम्पत्तिमा महिलाको स्वामित्वलाई संकेत गर्छ,’ न्यौपानेले भने ।

130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका