पूर्वाधार
उर्जामन्त्रीले भने- एउटा घरधुरीलाई कम्तिमा २ लाखको सेयर दिएर आयोजनामा लगानी जुटाऔं


ऊर्जामन्त्री दीपक खड्काले ऊर्जालाई अर्थतन्त्रको मुख्य आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताएका छन्। उनले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलन’मा ऊर्जा विकासका लागि नै सरकारले १० वर्षे मार्गचित्र ल्याएको बताए। ‘अबको १० वर्षमा ऊर्जा क्षेत्रमा के–कस्ता काम गर्ने भनेर रणनीति बनाई कार्यान्वयनमा ल्याइएको छ,’ उनले भने, ‘सन् २०३५ सम्म विद्युत उत्पादन २८ हजार ५०० मेगावाट पुर्याएर आर्थिक समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध छ।’
ऊर्जा विकास मार्गचित्रमा लिइएको लक्ष्य प्राप्तिका लागि ४६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी चाहिने अनुमान छ। मन्त्री खड्काले परियोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई दुई लाखदेखि ५ लाखसम्मको सेयर वितरणको व्यवस्था गरेर लगानी जुटाउन सकिने बताए। ‘कम्तीमा एउटा घरधुरीका लागि दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको सेयर प्रदान गर्नुपर्ने नीति कार्यान्वयन हुन आवश्यक छ। यसबाट लगानी जुट्ने मात्र होइन, परियोजनाप्रति स्थानीय अपनत्व पनि बढ्छ,’ उनले भने।
मन्त्री खड्काले ऊर्जा क्षेत्रलाई थप सबल बनाउन सरकारले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माणमा सहभागी गराएको बताए।