जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर हस्तान्तरण

ज्योति विकास बैंकद्वारा मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर हस्तान्तरण

ग्रामीण भेगमा सुरक्षित मातृ–शिशु स्वास्थ्य सेवाको अभावलाई मध्यनजर गर्दै ज्योति विकास बैंकले काभ्रे जिल्लाको मंगलटार स्वास्थ्य चौकीमा नवजात शिशुहरूको ज्यान जोगाउन अत्यावश्यक उपकरण ‘बेबी वार्मर’ (न्यानो नानी) प्रदान गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत उक्त मेसिन हस्तान्तरण गरेको हो । मंगलटार, रोशी गाउँपालिका–९ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधिहरू, स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई विज्ञ मार्फत बेबी वार्मरको सञ्चालनसम्बन्धी विशेष तालिम पनि दिइएको छ ।

ग्रामीण क्षेत्रमा हाइपोथर्मिया (शरीरको तापक्रम असामान्य रूपमा घट्नु) को जोखिम उच्च हुने भएकाले यस्तो उपकरण अत्यावश्यक हुने भन्दै बैंकले शाखा नपुगेका दुर्गम क्षेत्रमा पनि यस्ता सेवा विस्तार गरिरहेको जनाएको छ।

ज्योति विकास बैंकले हालसम्म देशभर ६२ वटा बेबी वार्मर विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिसकेको छ। यी उपकरणहरूबाट हालसम्म करिब ११ हजार ४७० नवजात शिशु प्रत्यक्ष रूपमा लाभान्वित भइसकेको बैंकको तथ्याङ्क छ । वर्षेनी झन्डै २ हजार २९४ नवजात शिशुलाई जीवनरक्षक सेवा पुर्याउन सफल भएको बैंकको दाबी छ ।

सामाजिक उत्तरदायित्वप्रति गहिरो प्रतिबद्धता राख्दै ज्योति विकास बैंकले आफ्नो खुद मुनाफाको उल्लेखनीय हिस्सा यस्ता समाजोपयोगी कार्यमा खर्च गर्दै आएको छ । बैंकका अनुसार हालसम्म अन्य बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा ५० प्रतिशतभन्दा बढी रकम सामाजिक उत्तरदायित्वका लागि छुट्याइएको छ ।

बैंकले कर प्रणालीमा समेत उल्लेखनीय योगदान दिँदै गएको छ । अघिल्लो आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँ राजस्वमा योगदान गरेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा झन्डै १५ करोड रुपैयाँ राज्यको खातामा बुझाइसकेको जनाएको छ ।

595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका