
पाकिस्तानको हबिब बैंक र नेसनल लाइफ इन्स्योरेन्सबीच हिमालयन बैंकको सेयर खरिद-बिक्री सम्झौता (एसपीए) भएको छ।हबिब र नेसनल लाइफका प्रतिनिधिबीच शुक्रबार सेयर खरिद-बिक्री सम्झौतापत्रमा हस्ताक्षर भएको हो। नेसनलले सम्झौताअघि नै नियामक नेपाल बीमा प्राधिकरणबाट सेयर खरिद गर्ने स्वीकृति लिइसकेको थियो। लगत्तै उसले बोलकबोलमा भाग लिएर सेयर खरिदमा दाबी गरेको थियो।
उसको दाबी अनुसार नै सेयर खरिद गर्न योग्य भएपछि सम्झौता भएको हो। सेयर खरिद-बिक्री सम्झौता लगत्तै हबिबका प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई स्वीकृतिका लागि औपचारिक पत्र लेखिदिन हिमालयन बैंकलाई आग्रह गरेको छ।
‘अब हामीले सेयर-खरिद बिक्री सम्झौताको कागजात राखेर राष्ट्र बैंकमा निवेदन लेख्ने छौं,’ हिमालयन बैंक स्रोतले भन्यो, ‘राष्ट्र बैंकबाट ग्रिन सिग्नल आएपछि सेयर ब्रोकरमार्फत सेयर हस्तान्तरण हुनेछ।’
यद्यपी हिमालयन बैंकको संस्थापक सेयर बिक्रीका लागि बोलकबोल आह्वान गर्नुअघि नै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग मौखिक सहमति लिइसकिएको थियो।
गभर्नर पौडेलले सकभर विदेशी कम्पनीलाई नै बेच्न पाए हुन्थ्यो भन्ने चाहना राखेका थिए। तर विदेशी बैंक आफ्नो बहुमत सेयर नहुन्जेल नआउने भएपछि उनी नेपाली कम्पनीलाई बिक्री गराउन सहमत भएका थिए।
हिमालयन बैंकको संस्थापक सेयरधनी नेसनल लाइफले हबिबले प्रस्ताव गरेभन्दा बढी रकम कबोलेको थियो।
हबिबले ७ वर्षअघि आफ्नो सेयर बिक्री गर्न चाहेको थियो। कहिले विदेशी लगानीकर्तासँग बीचमै ‘डिल ब्रेक’ भएर त कहिले पुँजीगत लाभकरको विषय उठेर सेयर बिक्री गर्न सकिरहेको थिएन।
पछिल्लो समय हिमालयन रिलाई बिक्री गर्न उसले सम्झौता गरेको थियो। अरु कसैले सेयर नपाउने गरी हिमालयन रिले खरिद गर्ने सम्झौता भएको थियो। तर, जब बिक्रीका लागि सार्वजनिक आह्वान भयो, त्यसमा नेसनल लाइफको प्रवेश भएको थियो।
हिमालयन बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर हिमालयन रि-इन्स्योरेन्सको आडमा २५ व्यावसायिक घरानालाई मिलाएर ‘प्रिपेड’ समूह तयार पारेका विवादास्पद व्यवसायी दीपक भट्टले तानाबाना बुनेका थिए।
बीमा, पुँजी बजार, क्रेडिट रेटिङलगायत कम्पनीहरुमार्फत ‘फाइनान्सियल एम्पायर’ बनाउन सफल दीपक भट्टको नेतृत्वमा संगठित २५ भन्दा बढी घरानाको व्यावसायिक समूहले बुनेको षड्यन्त्रलाई चुनौती दिंदै नेसनल लाइफले प्रस्ताव गरिएको भन्दा बढी मूल्य तिरेर सेयर खरिद गर्न आवेदन दिएको थियो।
हबिबले प्रति कित्ता ११२.८० रुपैयाँका दरमा सेयर बिक्रीमा राखेको थियो। बैंकमा हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ। यो भनेको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर हो।
नेसनलले ११८.८ रुपैयाँका दरले १२.९३ प्रतिशत सेयर खरिद गर्ने प्रस्ताव पेस गरेको थियो। हिमालयन बैंकको सेयर बिक्री गर्न हबिबले आफ्ना प्रतिनिधि नै नेपाल पठाएको थियो।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































