जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा

भाटभटेनीमा अर्बौको क्षति, आईजीआईमा मात्रै साढे दुई अर्ब बढिको बीमा

गत मंगलबार जेनजी आन्दोलनको क्रममा क्षति पुगेको भाटभटेनी सुपरस्टोरमा अर्बौ रुपैयाँको क्षति पुगेको छ । सो क्षति मध्ये करिब साढे दुई अर्ब रुपैयाँको बीमा पोलिसी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भाटभटेनी सुपरस्टोरका देशैभरिका २८ वटा शाखाहरु मध्ये २१ वटा शाखा कार्यालयको भवन समेतका अर्बौ मूल्यका सामानहरु तोडफोड लुटपाट र आगजनी भएको छ । आईजीआई प्रुडेन्सियलले भाटभटेनीका १६ वटा शाखाको बीमा गरेको छ ।

१२ वटा शाखामा लुटपाटपछि आगो समेत लगाएर ध्वस्त पारिएको छ भने ९ वटामा तोडफोड र लुटपाट गरिएको कम्पनीका अधिकारी पानु पौडेलले जानकारी दिएका छन् । भाटभटेनीका देशभर छरिएका सात वटा शाखामा मात्र कुनै क्षति पुगेको छैन ।

देशैभरिका २१ वटा शाखामा क्षति पुग्दा सबैभन्दा धेरै बीमा पोलिसी जारी गर्ने आईजीआई प्रुडेन्सिल इन्स्योरेन्समा सबैभन्दा धेरै बीमा दावी पर्ने देखिएको छ । कम्पनीले भाटभटेनीका साढे दुई अर्ब रुपैयाँ जति बीमा दावी पर्ने प्रारम्भिक रुपमा अनुमान गरिएको छ । भाटभटेनीले फरक फरक बीमा पोलिसी जारी गरेकोले क्षति नभएका ७ वटा शाखा बाहेकका शाखाहरुको बीमा दावी आईजीआई, सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससहितका अन्य कम्पनीमा पर्नेछ । । प्रारम्भिक रुपमा प्राप्त विवरण अनुसार भवन मर्मत सम्हाल र स्टकको क्षति यस पटक मुख्य रुपमा बीमा दावीमा समेटिने छन् ।

यस पटकको बीमा दावी हूलदंगा तथा आतंकवाद अन्तर्गत पर्नेछ । हुलदंगा तथा आतंकवाद अन्तर्गतको बीमाको ३५ प्रतिशत सम्बन्धित बीमा कम्पनी र ६५ प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले दावी भुक्तानी गर्नुपर्नेछ व्यवस्था गरिएको छ । सो मध्येमा पनि केही कम्पनीहरुले भने १० करोडसम्म मात्रै पनि राखेर बाँकी पुनर्बीमा गराइएको पाइएको छ ।

उता, कतिपय कम्पनीहरुले आफूले धारण गरेको ३५ प्रतिशत बीमा जोखिम पुनर्बीमा नगराएको समेत हुनसक्ने देखिएको छ । भाटभटेनीको बीमा गराएका एक बीमा कम्पनीका सिईओले भने, ‘पुनर्बीमा कतिपयले गराएका होलान् कतिपयले छैन होला, कतिपयले १० करोड रुपैयाँसम्मको मात्रै जोखिम लिएका होलान्, एउटै छैन फरक फरक अवस्था छ ।’

केही वर्षदेखि नेपालमा हुलदंगा तथा आतंकवादको सम्भावना नै नभएको भन्दै बीमा प्राधिकरणले अनिवार्य गरेको हुलदंगा तथा आतंकवादको अतिरिक्त भार हटाउनु पर्ने भन्दै बीमा कम्पनीहरुले लबिङ गरिरहेका थिए । २०६३ पछि यस्तो शिर्षकमा बीमा दावी परेको थिएन । गत वर्ष तीनकुने घट्नामा कोटेश्वरमा रहेको भाटभटेनीमा लूटपाट भएको थियो । सो क्रममा ८० लाख रूपैयाँको क्षति भएको थियो ।

भाटभटेनीमा आगोलागी भई व्वस्त भएकोका शाखाहरुमा कोटेश्वर, महाराजगन्ज, बौद्ध, बालुवाटार वयरहाउस, बिराटनगर, धरान, दमक, पोखरा, चितवन, हेटौंडा, विर्तामोड रहेका छन् । त्यस्तै सामान लूटपाट र तोडफोड गरिएको तथा भवन पूर्ण रुपमा क्षति नभएका शाखाहरुमा बालाजु, भैरहवा, कलंकी, ठिमी, जनकपुर, बीरगन्ज, इटहरी, बुटवल र धनगढी रहेका छन् ।

भाटभटेनीले बार्षिक ३१ अर्ब रुपैयाँ भन्दा बढिको आर्थिक कारोबार गर्दै आएको छ । गत वर्ष कम्पनीका अध्यक्ष मिन बहादुर गुरुङले एमालेलाई काठमाडौंको कीर्तिपुरमा १० रोपनी जग्गा दान गरेका थिए । जसको मूल्य दुई अर्ब भन्दा बढि हुन आउँछ । सोही आक्रोस आन्दोलनकारीहरुले भाटभटेनीमाथि पोख्दै आक्रमण गरेको विश्वास गरिएको छ ।

270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका