
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीले अब लाभांशको कर आफैं तिर्नुपर्ने भएको छ। धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका’ को दशौँ संशोधनले यो व्यवस्था स्पष्ट रूपमा लागू गरेको हो।
हालसालै सार्वजनिक गरिएको संशोधनले कर दायित्व वितरण प्रक्रियामा देखिँदै आएको अस्पष्टता हटाउँदै कम्पनीलाई प्रत्यक्ष दायित्वसहित कर तिर्न बाध्य बनाएको छ।
निर्देशनअनुसार अब कम्पनीहरूले आफ्नो बोर्डमा दर्ता भएका संगठित संस्थालाई दिइने बोनस शेयर वा नगद लाभांशका क्रममा लाग्ने कर आफैंले तिरेर मात्र वितरण प्रक्रिया अघि बढाउनुपर्नेछ। यसअघि केही कम्पनीहरूले लाभांश घोषणापछिको कर दायित्व लाभांश प्राप्त गर्ने संस्थाको जिम्मेवारीमा पार्दै आएको पाइन्थ्यो। यसले कर असुलीमा ढिलाइ, लेखापरीक्षणमा समस्या तथा कर व्यवस्थापनमा अस्पष्टता उत्पन्न गरिरहेको बोर्डको मूल्यांकन छ।
दशौँ संशोधनसँगै बोनस शेयर वितरणमा लाग्ने कर पनि सम्बन्धित कम्पनीले नै सरकारले तिर्नुपर्ने प्रावधान स्पष्ट पारिएको छ। खासगरी बोनस शेयर प्राप्त गर्ने संगठित संस्थाहरूले कर तिर्नु पर्ने कि बोनस जारी गर्ने कम्पनीले भन्ने विषयमा बारम्बार विवाद तथा गलत अभ्यास देखिँदै आएको थियो। बोर्डले यस्तो समस्या समाधान गर्न र पूँजीबजारमा कर प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले यो व्यवस्था थप बलियो बनाएको जनाएको छ।
धितोपत्र बोर्डले जारी गरेको निर्देशनमा उल्लेख छ—कम्पनीले लाभांश बापत लाग्ने कर आफूले नै तिरेर आवश्यक समायोजन सहित बाँडफाँड प्रक्रिया सम्पन्न गर्नुपर्नेछ। यसले कर समायोजनमा अन्योल हटाउने र कर प्रशासनलाई सहज बनाउने अपेक्षा गरिएको छ। यससँगै लाभांश वितरणसम्बन्धी प्रक्रियामा एकरूपता आउने, लगानीकर्ताले प्राप्त गर्ने रकमप्रति स्पष्टता बढ्ने र कम्पनीहरूको वित्तीय व्यवस्थापन थप व्यवस्थित हुने देखिन्छ।
बोर्डका अनुसार नयाँ व्यवस्था कार्यान्वयनसँगै कर नतिरी लाभांश वितरण गर्न खोज्ने अभ्यास रोकिनेछ। साथै, सूचिकृत कम्पनीहरूले करसम्बन्धी कानुनलाई अझ कडाइका साथ पालना गर्नुपर्नेछ, जसले पूँजीबजारमा समग्र नियमन क्षमता मजबुत हुने बोर्डको तर्क छ।
यस निर्देशिका संशोधनले कर जिम्मेवारीको स्पष्ट निर्धारण गर्दै कर असुली प्रक्रियामा अघि बढ्नुपर्ने मार्गलाई व्यवस्थित बनाएको छ। अब सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्दा कर तिर्ने प्रक्रिया पनि समान रूपमा पारदर्शी र दायित्वयुक्त हुनेछ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































