जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ढुक्क हुनुहोस्, यथेष्ट स्टक छ नूनको

ढुक्क हुनुहोस्, यथेष्ट स्टक छ नूनको

ब्रजेशकुमार झा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको विभागीय प्रबन्धक हुनुहुन्छ । पिता स्व.जयचन्द्र झा र माता प्रभादेवी झाका सुपुत्र ब्रजेशकुमार झाको जन्म महोत्तरीमा २०२१ साल साउन १८ गते भएको हो । नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको उत्कृष्ठ नमूनाको रुपमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापनाको उद्देश्य, यसले देश र जनताप्रति निर्वाह गरिरहेको भूमिका, कालाबजारियाहरुबाट बेला–बेला हुने गरेका मूल्य बृद्धिलाई नियन्त्रण गर्नका लागि गरिएका प्रयास, भूकम्प, राजनीतिक परिवर्तनहरु, नाकाबन्दी, प्राकृतिक प्रकोप तथा अहिले संसारभर व्यापक त्रासदी बनाउँदै फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले पारेको प्रभाव लगायत अन्य समयमा समेत साल्ट ट्रेडिङले निर्वाह गरिरहेको दायित्वको सेरोफेरोमा रहेर झासँग गरेको कुराकानी ।

० साल्ट ट्रेडिङमा तपाईंले सेवा शुरु गर्दाको अवस्था र अहिले यो संस्थामा के परिवर्तन भएको छ ?

मैले २०४९ साल मंसिर १ गतेबाट यो संस्थामा रहेर सेवा शुरुवात गरेको हुँ । संस्थामा सेवा गर्ने क्रममा गोरखकाली रबर उद्योग, खाद्य उद्योग मैदा मिलमा बसेर पनि काम गरें । पहिले र अहिलेमा चाहिं मैले के देखिराखेको छु भने त्यतिबेला व्यापार गर्न अलि सजिलो थियो अहिलेको भन्दा । अहिले अस्वस्थ प्रतिस्पर्धा बढेको छ । सरकारले हामीलाई हेर्ने जुन तरिका छ, त्यसमा पनि केही फरकपना आएको छ । त्यतिबेला साल्ट ट्रेडिङ भनेपछि पूरा सरकारीजस्तै ‘फिल’ हुन्थ्यो र सरकारले पनि त्यही अनुसारले ‘ट्रिट’ गथ्र्यो । विस्तारै बजार ‘डिकन्ट्रोल’का नाममा जे–जे भयो, म त्यतातिर जान चाहन्न । हामीले कुनै पनि प्रकारका बदमासी गर्न नमिल्ने, हामी कर्मचारीको हैसियतमा बस्दाखेरी भ्याट छल्ने, अन्तशुल्क छल्ने या बिक्री कर छल्ने कुरा आउँदैन । जे–जति खरिद हुन्छ, जे जति उत्पादन हुन्छ, हामीले त्यो देखाउनैपर्छ, बिक्री भएको देखाउनैपर्छ । त्यो देखाउँदाखेरीको जुन अस्वस्थ प्रतिस्पर्धा हो बजारसँग, कम गुणस्तरको हिसाबमा, कर छलीको हिसाबमा कारोबारमा अलिक अप्ठ्यारो छ । हामीले चाहिं सबै कुरा सरकारको निर्देशनअनुसार नै गर्ने, सरकारी नियमलाई नै पालना गर्ने हो ।

० साल्ट ट्रेडिङको स्थापनादेखिको उद्देश्य सरकारले दिएको जिम्मेवारी पनि पूरा गर्नुपर्ने र सर्वसाधारणलाई अप्ठेरो परेको बेलामा हामी छौं है भन्ने आश्वस्त पार्नुपर्ने जिम्मेवारी अहिले पनि तपाईंहरुको काँधमा आइरहेको छ । भूकम्प होस् या नाकाबन्दी, अन्य प्राकृतिक प्रकोपहरुमा तपाईंहरुले खेल्नुभएको सकारात्मक भूमिकालाई जनताले सम्झिरहेकै छन् । अहिले फेरि कोरोना भाइरस (कोभिड–१९) को मारबाट संसार आतंकित रहेको अवस्थामा नेपालमा अनिवार्य आवश्यकताका वस्तुहरु नून, चिनी, ग्याँस, औषधिलगायत अन्य खाद्य पदार्थहरुको ‘ओभर स्टक’ गर्न धेरै मानिसहरु लागेका छन्, के यो गर्नु जरुरी छ ?

यो चाहिं दुईवटा कुरा भन्नुु भएको जस्तो लाग्यो मलाई । एउटा त साल्ट ट्रेडिङले विभिन्न समयमा निरन्तररुपमा दिएको सेवा र अर्को चाहिं स्टकिङ्गको कुरा । कर्पोरेशनको गठन नूनको आपूर्ति सर्वसुलभ तरिकाले उचित मूल्यमा गुस्तरीय बस्तु आपूर्ति गर्नको लागि भएको हो । २०२० भाद्र २७ गते भएको हो । त्यसैअनुरुप साल्ट ट्रेडिङले काम गर्दै आएको थियो, आइरहेको पनि छ । त्यतिबेला आयोडिनको कमीले हुने एउटा समस्या विकराल अवस्थामा थियो ।

झण्डै ५५ प्रतिशत जनता आयोडिनको कमीले हुने कुनै न कुनै प्रकारका विकृतिबाट प्रभावित थिए । त्यसलाई रोकथाम गर्नलाई पनि नून सबैभन्दा सजिलो माध्यम हुन्छ भनेर राज्यले नीतिगत निर्णय लियो । अनि १९७३ साउनदेखि नूनमा आयोडिन मिसाएर बिक्री–वितरण गरियो । र, त्यसमा एउटा मुख्य जनस्वास्थ्य समस्याको रुपमा रहेको आयोडिनको कमीले हुने विकृतिलाई आज शून्यमा झार्न सफल भएको छ । कर्पोरेशनले पु¥याएको एउटा जनस्वास्थ्यको क्षेत्रको उपलब्धि हो भने अर्कोतिर सरकारी नीतिगत निर्णयले कतिसम्म ‘इम्प्याक्ट’ पार्छ भन्ने कुरा नूनको आपूर्तिबाट देखिन्छ । नेपाल सरकारले नीतिगत निर्णय लिएको छ यसमा । अत्याश्वयक वस्तुको आपूर्तिको जिम्मेवारी राज्य हुन्छ । जुन अहिलेको संविधानले पनि त्यो कुरा दिएको छ ।

राज्य आफैंले गरोस् वा आफ्ना मातहतका निकायमार्फत् त्यो कार्य गराओस् । हामीले नूनको कारोबार त्यसैअनुसारले पाएको हो । र सरकारले एउटा निश्चित मापदण्ड तोकिदिएको छ हामीलाई यसरी गर्ने हो है भनेर । ६ महिनाको बफरस्टक जहिल्यै पनि राख्नुपर्छ भनेको छ । नेपालको भौगोलिक, आर्थिक, सामाजिक, नैतिक, शैक्षिक जति जे छन्, यातायातको साधन सञ्जाल सबै हिसाबले पछि चाहि धेरै कुरा सरकारकै लेभलबाट गर्नुपर्ने कुरा आवश्यकता ठान्छु म ।

त्यसक्रममा चाहिं अब नूनलाई चाहे त्यो २०३६ सालको आन्दोलनको होस्, मैले जनमतसंग्रह सम्झिराखेको छु २०३६ सालको । या त ट्रेड एण्ड ट्रान्जिट नवीकरण नहुँदाको २०४५–४६ को आन्दोलन होस् या त्यसपछिको पुनः २०५६–५७ को ‘ट्रेड एण्ड ट्रान्जिट’ नवीकरण गराउन ढिलो भएको थियो, त्यतिबेला पनि अलिकति केही समस्या पनि देखिएका थिए । त्यसपछि २०६२–६३ को जनआन्दोलन होस् या त्यसको लगत्तैको मधेश आन्दोलन होस् या २०७२ वैशाखको भूकम्पले थलिएको बेला होस् या त्यसपछिको मधेश आन्दोलनको होस् या सँगै अघोषित भारतीय नाकाबन्दीको होस् या अहिलेको कोरोनाको प्रभावित होला कि भन्ने एउटा त्रास जुन छ, त्यो होस् ।

सरकारको नीतिगत निर्णयले गर्दाखेरी जुन नूनमा छ त्यसले गर्दाखेरि हामीले जहिले पनि यथेष्ट वफर स्टक राख्ने गरेका छौं । त्यो ६ महिनाको न्यूनतम हुन्छ । आजको मितिमा हामीसँग १ लाख ५८ हजार ५ सय मेट्रिक टन स्टक नून छ । १ लाख ३६ हजार हाम्रो गोदाममै छ र २२ हजार ५ सय मेट्रिक टन बाटोमा छ । त्यो पनि सायद पुगिसकेको होला । त्यो पनि मैले ४ दिन अगाडिको डाटाअनुसार भन्दैछु । भित्र छिर्ने क्रम भइसकेको होला नेपाल भित्र । यो भनेको लगभग १० महिनाको लागि एभरेज १६ हजार मेट्रिक टन नूनको मासिक छ ।

१ लाख ५८ हजार मेट्रिक टन भनेको हो झण्डै १० महिनाको लागि पुग्ने नून हामीसँग छ । त्यही भएर नूनको हकमा चाहिं आत्तिनु पर्ने अवस्था छैन । तर, जुन बाँकी अन्य सामानहरु भयो । हामी एउटा साल्ट्र टेडिङले बजार ‘इन्टरभेन’को काम पनि गरिराखेको हुन्छ । मूल्य नियन्त्रणको काम पनि गरिराखेको हुन्छ । तपाईंले राष्ट्र बैंकको ‘प्राइस इन्डेक्स’को जुन डाटा यदि १०–२० वर्षको केलाउनु भयो भने नेपालमा सबैभन्दा मूल्य स्थिर भएको वस्तु नूनमात्रै पाउनुहुन्छ । त्यस्तै साल्ट टे«डिङ्गसँग चिनी छ भने बजारमा चिनीको मूल्य स्थिर हुने भन्ने कुरा देखिन्छ । यी कारणले गर्दाखेरि हामीसँग अहिले चिनीको २५ सय मेट्रिक टन छ । अर्को मार्ग स्थलमा ७ हजार ५ सय मेट्रिक टन छ ।

चिनी औषतमा २० हजार मेट्रिक टनको माग हो बजारमा । त्यो १० हजारले मात्र त पुग्दैन । तर, भर्खरै चिनी मिलहरुले उत्पादन गरेको चिनी स्टकमै छ । त्यो करिब पाँच महिनाको लागि हामीले प्राप्त स्रोतअनुसार लगभग नेपाललाई पुग्ने पाँच महिनाको चिनी बेच्नलाई स्टक छ । खाद्यान्नमा लगभग २ महिना जतिलाई पुग्ने व्यापारी साथीहरुले राख्नु भएको छ । प्रायः त्यस्तो देखिदै आएको छ । त्यही भएर तत्कालै यसरी आत्तिहाल्नु पर्ने अवस्थाचाहिं म देख्दिनँ ।

बाँकी रह्यो यो मान्छेहरुको सञ्चिती गर्ने प्रवृति कति बेला हुन्छ भने जब उसले ‘अनसेक्योर फिल’ गर्छ । मुख्य ‘पोइन्ट’ हो ‘अनसेक्योर फिल’ गरेपछि सञ्चिती गर्ने प्रवृत्ति बढ्छ । एक किलो चाहिने ठाउँमा ५ किलो लिन्छ, १० किलो लिन्छ । १ बोरा चामलले एक महिना पुगिराखेको छ भने उसले ५ बोरा किन्न थाल्छ । तर हामी के भन्न चाहन्छौं भने त्यसरी आत्तिहाल्नु पर्ने छैन । धेरै खरिद गरेर पनि केही अर्थ छैन । भोलि चाहिं नबिकेको वस्तु तपाईंलाई भिडाएर पठाउने, कम गुणस्तरको वस्तु तपाईंलाई भिडाएर पठाउने चामलचाहिं पाँच बोरा किनिहालें भनेर मख्ख पर्ने अवस्था आउँछ । काठमाडौंमा प्रायःजसोको बस्ने ठाउँ साँघुरो छ । त्यसैमा चाहिं पाँच बोरा राख्ने झन घरलाई किन गुम्साउने । त्यो तल भुइँमा राख्दाखेरि त्यो हरियो हुने फेरि त्यो चामल दाल बिग्रेला भन्ने डर हुने ।

ग्याँस १० सिलिण्डर राखेर के हुने त्यो १० परिवारलाई पुग्छ । अब यसरी आत्तिहाल्नुपर्ने र सञ्चित गर्नतिर नगइदिनुहुन हाम्रा उपभोक्तालाई आग्रह गर्न चाहन्छु । र म सँगै के भन्न चाहन्छु भने नेपाल सरकारले नूनमा जस्तै अरु वस्तुमा पनि नीतिगत निर्णय लिएर काम गरेको खण्डमा जस्तै चिनीमा प्रत्येक मिलले अनिवार्य २० प्रतिशत आफ्नो उत्पादन दिने नेपाल सरकारले तोकेको मूल्यमा सरकारलाई गरियो भने नै वर्षभरिलाई नै एउटा निश्चित स्टक राख्न सकिन्छ । र, मूल्य स्थिरता राख्न सकिन्छ । ग्याँसमा ५४ वटा फ्याक्ट्री छन् रिफिलिङ प्लान्टको एलपीजी ग्याँसको । प्रत्येक फ्याक्ट्रीले कमसेकम २५ हजार सिलिण्डर राख्नुपर्ने या ठीकै छ साल्ट्र टेडिङले ३ लाख सिलिण्डर राखोस् न त स्टकमा भने हामीलाई निर्देशन दिनुप-यो । त्यो निर्देशन दिएर मात्र पुग्दैन, त्यो ३ लाख सिलिण्डरको लगानी चाहिं झण्डै १ अर्ब रुपैयाँभन्दा माथि जान्छ । त्यसको स्टोर गर्ने ठाउँ बनाउनुपर्छ । एउटा फ्याक्ट्रीको लागि ३० करोडको इभेष्टमेण्ट गरेको फ्याक्ट्रीको लागि अर्को १ करोड रुपैयाँ लगानी गर्नु भनेको ठूलो कुरा हुन्छ । र, राज्यको लागि, देशको लागि चाहिं सरकारको लागि १ करोड रुपैयाँ ठूलो कुरा हुँदैन । यदि स्टक नै राख्नु छ भने हामीले त्यसरी निर्णय गर्न सकिन्छ ।

० आजको परिवेशले यो चाहिं अझैं चाहिं सरकारी निकायको महत्वलाई अलिक बढी खड्काएको देखिन्छ होइन र ?

त्यो त अवश्य पनि हो । हामीले त्यो कुरा त भूकम्पको बेला, त्यसपछिको नाकाबन्दीको बेला देखिसकेका छौं । भोगिसकेका छौं । नूनको मूल्य कतै पनि बृद्धि भएन, कतै पनि अभाव भएन, कतै पनि कालो बजारी भएको देखिएन–सुनिएन । तर नेपालको उत्पादन हो कि तेल चाहिं ९० रुपैयाँको तेल ४ सय रुपैयाँसम्म पुगेको थियो । सरकारी निकायको अवस्था, आवश्यकता, पु-याउन सकेको सेवा त्यसैबाट पनि देखिन्छ । हामीसँग भएको चिनी नाकाबन्दीको बेलामा ६३ रुपैयाँले बेच्यौं जब हाम्रो चिनी ६ महिनाको नाकाबन्दीको अवधिमा सिद्धियो र स्थानीय उत्पादन शुरु भयो । चिनीको मूल्य ११० सम्म पुग्यो ।

० त्यसैले सरकारको अलिकति हात बढाउनु पर्ने, अलिकति टाइट गर्नुपर्ने अवस्था सिर्जना हुँदै गएको हो नि, होइन र ?

अझ ‘टाइट’ बनाउनुपर्ने, अझ साल्ट ट्रेडिङ जस्तो संस्थालाई साल्ट ट्रेडिङलाई मात्र होइन, साल्ट ट्रेडिङ जस्ता अन्य संस्थालाई अझ बलियो बनाउनु पर्ने, अत्यधिक बढीभन्दा बढी आमउपभोक्तालाई सेवा पु-याउनुपर्ने देखिएको छ ।

० हुन त सरकारले विगतमा थुपै्र जनताका लागि आवश्यक वस्तु तथा सेवा प्रदायक विविध संस्थानहरु खोलेको थियो, तर त्यसलाई संरक्षण गर्न सकेन, सबै ‘कोल्याप्स’ भए । आज फेरि जनताका दैनिकीसँग जोडिएका चीजहरु नून, तेल, ग्याँसमात्रै नभएर औषधिजन्य चीज, लत्ताकपडालगायतका लागि पीपीपी मोडलमा संस्थाहरु खडा गर्नुपर्ने आवश्यकता महसूस गर्नुभएको छ या त्यस्तो देखिन्छ ? के लाग्छ तपाईंलाई ?

त्यो एउटा आधारभूत मापदण्ड हुन जान्छ । अब जस्तै मैले एउटा सम्झिँदा हुन त त्यो धेरै पुरानो भइसक्यो । हेटौंडाको कपडा भनेपछि कटन जुन उत्पादित थियो, छुट्टै क्रेज थियो । हुन त हामी सुर्तीजन्य पदार्थको वकालत गर्दैनौं । तर जनकपुर चुरोट कारखानाको सिगरेटको छुट्टै स्थान थियो । चिनी उद्योगहरुको आफ्नै अवस्था थियो । अझै पनि स्वदेशी चिनी उद्योगहरुले धान्न सकिने छैन । यो रिपोर्टमै आधारित छौं तर, एउटा बेशिक मापदण्ड यो वस्तुको मूल्य यहाँबाट शुरु हुन्छ है भन्ने कुराको वेशचाहिं बन्छ सरकारी उद्योग, सरकारी संस्थानमा भएको खण्डमा । जस्तै चिनीको मूल्य प्रतिकिलो ७३ छ । हामीले इम्पोर्ट गर्दा परेको मूल्यअनुसारले हामीले ७३ ले बेचिरहेका छौं । त्यही चिनी बजारमा अस्तिसम्म ८५–९० रुपैयाँ प्रतिकेजी थियो । हाम्रो मूल्य खुल्नेबित्तिकै बजारमा मूल्य फेरि स्थिर भयो । मैले ८० मा रिटेलिङ भइरहेको देखिराखेको छु स्वदेशी चिनीहरु । यो एउटा वेश लाइन हो । त्यही भएर सरकारले यस्ता कुरामा ध्यान दिनु आवश्यक छ जस्तो लाग्छ मलाई ।

० साल्ट ट्रेडिङ कर्पोरेशनले उपलब्ध गराउने सेवा तथा सामाग्रीको उपलब्धताका बारेमा नेपाली जनतालाई के भन्नुहुन्छ ?

नूनको लागि तपाईंहरु ढुक्क हुनुहोस् । यथेष्ट स्टक छ दश महिनालाई पुग्ने । अनावश्यक खरिद गरेर आफ्नो घरलाई गोदाम बनाउने काम गर्नु आवश्यक छैन । अहिले संसारभर जुन किसिमको कोरोना भाइरस (कोभिड–१९)को समस्या बढिरहेको छ, त्यो बाट बच्न शतर्क रहनुस् । स्वास्थ्यको हिसाबले शतर्कता अपनाउनुस्, साबुन पानीले हात धुनुस् । तातोपानी पिउनूस् ।

7920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?