जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बेला–बेला साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ

अन्तरवार्ता

बेला–बेला साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ

डा. शेरबहादुर पुन,  संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिर्सचर यूनिट

बेला–बेला साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ

मौसमी रुघाखोकी वा फ्लु भनेको के हो ?
यसलाई दुई वटा पाटोमा हेर्न सकिन्छ। एउटा मौसमी रुघाखोकी र अर्को मौसमी फ्लु। मौसमी रुघाखोकी गराउने भाइरस फरक हुन्छ भने मौसमी फ्लु गराउने भाइरस छुट्टै हुन्छ।
आइडिनो राइनो भाइरसले रुघाखोकी गराउँछ भने फ्लु इन्फ्लुएन्जा भाइरसले गराउँछ। इन्फ्लुएन्जा भाइरसमा चार प्रकार हुन्छन्, जसमा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ हुने गर्छ। यी मध्ये ‘ए’ र ‘बी’ ले मानिसलाई बिरामी गराउनका लागि महत्वपूर्ण भुमिका खेल्ने गर्छ।

मौसमी रुघाखाकी वा फ्लु लागेको कसरी थाहा पाउन सकिन्छ ?
यी दुवैको लक्षण उस्तै हुन्छ। तर मौसमी रुघाखोकीभन्दा तुलनात्मक रुपमा मौसमी फ्लु कडा हुन्छ। फ्लु हुँदा मानिसमा अचानक ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, स्वास प्रश्वासमा अपठ्यारो हुने, खोकी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने जस्ता मुख्य लक्षण देखा पर्छन्। रुघाखोकीमा सामान्यतया: नाकबाट पानी बग्ने, हाछ्यूँ आउने, घाँटी खसखस हुने, जस्ता लक्षण देखा पर्छन्।

मौसमी रुघाखोकी वा फ्लुबाट बच्ने उपाय के–के छन् ?
रुघाखोकी वा फ्लु खोकी, हाछ्यूँबाट सर्ने भएका कारण यस्ता व्यक्तिसँग ६ फिट दूरी कायम गरेर बस्नु पर्छ। हात जथाभावी नाक, मुखमा छोइरहने गर्नु हुँदैन। त्यसैगरी कुनै पनि व्यक्तिसँग अंकमाल गर्ने, हात मिलाउन गर्नु हुँदैन। हात मिलाउनुको साटो टाढैबाट नमस्कार गर्न सकिन्छ। बेला–बेला साबुन पानीले राम्रोसँग हात धुनु पर्दछ।
सबै भन्दा महत्वपूर्ण कुरा यदी कुनै व्यक्ति संक्रमित भएको खण्डमा घर–परिवारका सदस्यबाट केही दिनका लागि टाढा वा छुट्टै बस्नु पर्छ। यसो गर्दा अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना कम हुन्छ।

फ्लुकै कारण मृत्यु हुने सम्भावना कति हुन्छ ?
फ्लु लागेर मृत्य हुन्छ। जस्तो अमेरीकामा वर्षेनी हजारौँ मानिसको मृत्यु हुन्छ। फ्लुभन्दा पनि यसबाट उत्पन्न हुने जटिलताका कारणले धेरैको मृत्यु हुने हो।
अमेरीकाको कुरा गर्ने हो भने फ्लुसँग सम्बन्धित जटिलताका कारण ५० देखि ६० हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको छ।
तर नेपालमा यसको आधिकारीक तथ्याङ्क छैन। तर फ्लुबाट हुन सक्ने जटिलताका कारण मृत्यु हुने सम्भावना धेरै हुन्छ भनेर बुझ्न अत्यन्तै जरुरी छ।

उपचार के छ ?
फ्लुको औषधि उपचार छ। तर औषधि सेवन ‘रिस्क ग्रुप’मा भएकाहरुलाई मात्र गर्नुपर्छ। सामान्यतया स्वस्थ्य व्यक्तिहरुले खाइरहनु पर्ने आवश्यक्ता पर्दैन। घरमै आराम गरेर पनि निको हुन सकिन्छ। तर झोलिलो, तागतिलो खानेकुरा जति सक्यो धेरै खानु पर्दछ।
यो बाहेक यसबाट बच्ने उपाय भनेको खोप हो। वार्षिक रुपमा हामीले खोप लाउँदा फ्लुको कडापनलाई मात्र नभएर मृत्युदरलाई समेत धेरै कम गर्न सकिन्छ।

रुघाखोकी वा फ्लुको उपचारका लागि अस्पताल पुग्ने व्यक्तिहरुमा कोरोनाको त्रास कत्तिको छ ?
मौसम परिर्वतन भइरहँदा केही दिन यता बिरामीको संख्या बढेको छ। अस्पताल पुग्ने सबैमा कोरोनाको त्रास छ नै। रुघाखोकी वा फ्लुको लक्षण लिएर अस्पताल पुग्ने धेरैले कोरोना हो की भन्ने प्रश्न गर्ने गरेका छन्।
तर सबैभन्दा पहिला हामीले यो बुझ्न जरुरी छ– नेपालमा अहिलेसम्म कोरोनाको बिगबिगी छैन। जसले गर्दा कोरोना हो की भनेर डराउनु पर्ने वा आत्तिहाल्नु पर्ने अवस्था छैन। संक्रमित देशबाट नेपाल कोही व्यक्ति नेपाल भित्रिएका छन्। यदी उनीहरु संक्रमित भएको खण्डमा मात्र कोरोना भित्रने सम्भावना हुन्छ।
त्यसैले अस्पताल पुगेका बिरामीलाई हामी यो मौसमी रुघाखोकी र फ्लुको समय भएका कारण नआत्तिन सुझाव दिँदै आइरहेका छौँ।

कस्ता व्यक्तिमा यसको जोखिम धेरै हुन्छ ?
फ्लु जसलाई पनि वा कुनै पनि उमेर समूहका व्यक्तिलाई लाग्छ सक्छ। तर यसको जोखिममा भने दिर्घ रोगी, बालबालिका र वृद्धवृद्धा पर्ने गर्छन्।
यो सामान्य त हो भनेर घरमा तातो पानी खाएर वा बाफ लिएर हेल्चेक्रायाई गरेर बस्नु हुँदैन।
धेरै ढिला भएको खण्डमा निमोनिया भएर पछि मृत्युसमेत हुन सक्छ। फ्लुका कुनै पनि लक्षण देखा पर्ने बित्तिकै अस्पताल पुगेर चिकित्सकसँग परार्मश लिनु पर्दछ।

10260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?