जोडिनुहोस
आइतवार, बैशाख २३, २०८१
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • तरलता अभावका बीच बैंकहरूको खुद नाफा २३ प्रतिशतले वृद्धि

तरलता अभावका बीच बैंकहरूको खुद नाफा २३ प्रतिशतले वृद्धि

गत आर्थिक वर्षबाटै शुरु भएको तरलता अभाव चालु आर्थिक वर्ष शुरु हुँदा समेत समाधान हुन सकेको छैन । गत आर्थिक वर्षको पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाको नयाँ कर्जा प्रवाह ठप्प नै भयो । यस बीचमा पनि बैंकहरुको खुद नाफामा भने वृद्धि भएको देखिन्छ ।

गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको खुद नाफा करिब २३ प्रतिशतले वृद्धि भएको छ । लगानीयोग्य रकम नभएकाले बजार मागअनुसार कर्जा प्रवाह गर्न नसकेको समयमा पनि बैंकहरुको नाफामा वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि बैंकहरूको खुद नाफा करिब २० प्रतिशतले मात्र बढेको थियो ।

गत आर्थिक वर्षमा तीव्र रूपमा व्यवसाय विस्तार गरेर भन्दा पनि उत्कृष्ट पोर्टफोलियो व्यवस्थापनमार्फत बैंकहरूले अपेक्षाभन्दा राम्रो नाफा आर्जन गरेको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताउनुहुन्छ ।

गत आर्थिक वर्षमा धेरैजसो बैंकको ब्याज आम्दानी बढेको पनि उपाध्यायको भनाइ छ । गत आर्थिक वर्षमा केही बैंकको कर्जा असुली राम्रो भएकाले पनि नाफा वृद्धिमा टेवा पुगेको उहाँ बताउनुहुन्छ । गत आर्थिक वर्षमा २६ वटा वाणिज्य बैंकले कुल ७४ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षको खुद नाफा औसत २३.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा (त्यति बेला) सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले ६० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

कुन बैंकको कति नाफा 

२६ वटा वाणिज्य बैंकको नाफा औसतमा २३.१४ प्रतिशतले बढेको हो । २६ मध्ये ३ वटा बैंकको नाफा घटेको छ । प्रकाशित वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको छ । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख ४७ हजार नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७९ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै ग्लोबल आइएमई बैंकले असार समान्तसम्म ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा २५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो । नबिल बैंकले गत असार मसान्तसम्म ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.८३ प्रतिशतले बढी हो ।

यस्तै धेरै नाफा कमाउने बैंकमा एनआइसी एशिया पनि रहेको छ । बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले गत असार मसान्तसम्म ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा १४.८३ प्रतिशतले बढेको छ ।

यस्तै प्राइम बैंकले गत आवमा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

यस्तै एनएमबि बैंकको पनि नाफा ३६.५२ प्रतिशतले बढेर ३ अर्ब ७० करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

सिद्धार्थ बैंकको नाफा गत अघिल्लो आवको तुलनामा १२.७८ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको छ । सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको छ ।

माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढेको छ । यस्तै सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ । एनसीसी बैंकको नाफा पनि एक वर्षको अवधिमा ५१.९७ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो । बैंकले एक वर्षको अवधिमा नाफा आर्जनमा आक्रामक चमत्कार गरेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा पनि ६२.२६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । एक वर्षको अवधिमा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

कुमारी बैंकको नाफामा पनि गत वर्ष निकै प्रगति देखिएको छ । एक वर्षमा बैंकको नाफा ४३.८६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

नेपाल एसबीआई बैंकको पनि नाफा ७० प्रतिशतले बढेर १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

नेपाल बैंकको नाफा एक वर्षको अवधिमा १०.२९ प्रतिशतले बढेर ३ अर्ब २६ करोड ६० लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ९६ करोड १२ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

बैंक अफ काठमाण्डूको नाफा ४.८५ प्रतिशतले बढेर १ अर्ब ८१ करोड २ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ७२ करोड ६४ लाख ९ हजार रुपैयाँ रहेको थियो । मेगा बैंकको पनि नाफा २१.७७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड १८ लाख ६४ हजार पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ३२ करोड ५४ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड 

२६ बैंकको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले दुई वर्षदेखि नगद लाभांशमा कडाइ गरेपछि बैंकहरूले लगानीकर्तालाई बोनस सेयर मात्रै वितरण गर्दै आएका थिए । यसपालि मौद्रिक नीतिले नै बैंकहरूलाई नगद लाभांश बाँड्ने ढोका खोलिदिएको छ । कोभिडको समयमा दिइएका सुविधाहरू खोसिएसँगै नगद लाभांश वितरणमा समेत राष्ट्र बैंक उदार देखिएको हो ।

५ खर्ब १५ अर्ब रुपैयाँ मात्र थप कर्जा विस्तार

गत आर्थिक वर्ष ०७८/७९ मा बैंक तथा वित्तीय संस्थाले कुल ५ खर्ब १५ अर्ब रुपैयाँ मात्र थप कर्जा विस्तार गरेका छन् । ०७८ असारको तुलनामा यो करिब १२.३ प्रतिशतले बढी हो भने राष्ट्र बैंकले तय गरेको वार्षिक कर्जा विस्तार लक्ष्यको करिब ६५.५ प्रतिशत मात्र हो ।

गत आर्थिक वर्षका लागि राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य तय गरेको थियो । यसअनुसार बैंक तथा वित्तीय संस्थाले कुल ७ खर्ब ८६ अर्ब रुपैयाँ थप कर्जा विस्तार गर्नुपर्ने थियो ।

तरलता (लगानीयोग्य रकम) नभएको भन्दै बैंक तथा वित्तीय संस्थाले आवको पछिल्लो ६ महिना कर्जा प्रवाह नै ठप्प बनाएपछि वार्षिक लक्ष्यभन्दा करिब ७ प्रतिशत कम कर्जा विस्तार भएको हो । अघिल्लो आर्थिक वर्षका लागि राष्ट्र बैंकले निजी क्षेत्रतर्फ २० प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेकामा बैंक तथा वित्तीय संस्थाले २८ प्रतिशतभन्दा बढीले कर्जा विस्तार गरेका थिए ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामै बैंक तथा वित्तीय संस्थाहरूले ४ खर्ब २२ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेका थिए । यो राष्ट्र बैंकले गत आवका लागि तय गरेको वार्षिक लक्ष्यको करिब ६० प्रतिशत थियो । त्यति बेला बैंक तथा वित्तीय संस्था आक्रामक रूपमा कर्जा विस्तारमा लागेकाले नियन्त्रण गर्न भन्दै राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन र तरलता अभाव कायमै रहेकाले पछिल्लो ६ महिनामा भने थप कर्जा विस्तार ठप्प जस्तै रह्यो ।

यद्यपि अघिल्लो आर्थिक वर्षको कर्जा विस्तार वृद्धिदर पछिल्लो ५ वर्षयताकै उच्च भएको तथ्यांकहरूले देखाएका छन् । पछिल्ला ५ वर्षमा बैंकहरूको कर्जा विस्तार दर औसत २२ प्रतिशत छ । उक्त अवधिमा न्यूनतम १६ देखि अधिकतम २८ प्रतिशत वार्षिक कर्जा विस्तार भएको देखिन्छ ।

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका