

विभिन्न मुलुकमा ‘जावा’का बाइकको माग बढेपछि उत्पादक एवं बिक्रेता क्लासिक लिजेण्डसले एक महिनामै थप ४२ वटा आधिकारिक डिलर थप्ने भएको छ।
हाल एक सय ६३ वटा आधिकारिक डिलर भएको यो कम्पनीले आउँदो डिसेम्बरसम्ममा थप ४२ वटा आधिकारिक डिलर सञ्चालनमा ल्याउन लागेको हो। सन् २०२१ देखि यो कम्पनी अन्तर्गत दुई सय पाँचवटा आधिकारिक डिलर सञ्चालनमा आउने भएका छन्।
क्लासिक लिजेण्ड्सले अक्टोबर (फेस्टिभ सिजन) मा मात्र दुई हजार युनिट जावा बिक्री गर्न सफल भएको जनाएको छ। आउँदो तिहारमा कम्पनीले थप अधिकतम संख्यामा जावाको बिक्री हुने प्रक्षेपण गरेको छ। सन् २०१९ मा यो कम्पनीले ९० हजार बाइक बिक्रीको दाबी गरेको थियो। सन् २०१८ मा इन्टरनेट सर्च इन्जिन गुगलमा बाइक सेग्मेन्टमा सबैभन्दा बढी खोजी गरेकोमा जावा नै परेको थियो।
‘कम्पनीले आफ्नो क्षमता विस्तारका क्रममा डिलरसिप नेटवर्क बढाउन लागेको हो। कोभिड-१९ सुरु हुन अगाडि भारत बाहेकका मुलुकमा जावाको एक सय पाँचवटा आधिकारिक डिलर सञ्चालनमा आइसकेका थिए,’ कम्पनीका सीइओ आशिष सिंह जोशीले भनेका छन्, ‘हाल विभिन्न मुलुकमा कम्पनी अन्तर्गतका एक सय ६३ वटा आधिकारिक डिलर संचालनमा आइसकेका छन्। सन् २०२० भित्रै दुई सयभन्दा बढी डिलरसिप विस्तार गर्ने योजना बनाएका छौं।’
कम्पनीले दसैंमा मात्र दुई हजार युनिट जावा पेराक बिक्री गरेको जनाएको छ। जावा, जावा-४२, जावा पेराक लगायत तीन मोडलका बाइक बिक्रीका लागि कम्पनीले आफ्नो सेवा विस्तारमा सुदृढीकरण गर्दै अगाडि बढ्ने सीइओ जोशीले बताएका छन्। हावाले नेपालमा पनि डिलर विस्तार गर्दै बिक्री थालिसकेको छ।
२१ दिनअघि नेपालमा बिक्री थालेको जावाको बजार यस्तो छ
जावा बाइकको बिक्री नेपालमा सुरु भएको तीन साता भयो। नेपालको आधिकारिक बिक्रेता अग्नि मोटो इंकले बिक्री सुरु गरेको हो। नेपालमा जावा बाइकको माग निकै राम्रो रहेको कम्पनीका महाप्रबन्धक शरद मिश्रले बताए।
‘हामीले बिक्री सुरु गरेसँगै जावाको माग दैनिक बढ्दै छ। ग्राहकबाट राम्रै रेस्पोन्स आइरहेको छ। माग अनुसार हामीले प्रमुख शहरमा आफ्नो सञ्जाल विस्तार गरिसकेका छौं,’ उनले भने। कम्पनीले बिक्री गर्दै आएको जावा र जावा-४२ लगायत दुई मोडलका बाइकको बराबरी रूपमा माग आएको उनले बताए।
सुरुमा काठमाडौंको टेकु र उत्तरढोकामा आधिकारिक शोरुममार्फत बिक्री वितरण सुरु गरेको कम्पनीले यतिखेर पोखरा, भैरहवा, बुटवल, विराटनगर र नारायणगढ लगायतमा आफ्नो सञ्जाल विस्तार गरिसकेको उनले जानकारी दिए।
नेपालमा जावाका बाइक बिक्रीको जिम्मा लिएको अग्नि कम्पनी महिन्द्रा टु ह्वीलर्स एण्ड जेनेरेटर्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी हो।
कम्पनीका अनुसार नेपाली बजारमा जावा सिंगल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ र जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ छ। जावा–फोर्टी टु सिंगल च्यानल एबीएस र जावा–फोर्टी टु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार रुपैयाँ र ६ लाख ४८ हजार रुपैयाँ मूल्य छ।