जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • तेस्रो त्रैमासमा नाफा घट्नेमा एभरेष्ट बैंक पनि, नाफा ३६% घटेपनि धितोपत्रमा ११ अर्ब लगानी बढायो

तेस्रो त्रैमासमा नाफा घट्नेमा एभरेष्ट बैंक पनि, नाफा ३६% घटेपनि धितोपत्रमा ११ अर्ब लगानी बढायो

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घट्ने बैंक बनेको छ । यसले अघिल्लो आवको भन्दा यस आवको चैत मसान्तसम्ममा ८४ करोड ६० लाख रुपैयाँ (३५.९५%) ले कम खुद नाफा कमाएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको अन्तिम चरणमा पुगेको हिमालयन बैंकको नाफा पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा एक अर्ब रुपैयाँ भन्दा धेरै (४४.४०%) ले खस्किएको छ ।

चालु आवमा एभरेष्टको चैत मसान्तसम्मको खुद नाफा रकम करिब एक अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिमा दुई अर्ब ३५ करोड रुपैयाँभन्दा बढी थियो ।

समिक्षा अवधिमा बैंकको ब्याज खर्च ५७ करोड रुपैयाँले घट्दा ब्याज आम्दानी भने दुई अर्ब १० करोड रुपैयाँले खस्किएको छ । यसले तेस्रो त्रैमासमा मात्र कमाएको नाफा समेत पोहोरको तुलनामा सन्तोषजनक छैन । गत आवको तेस्रो त्रैमासमा ८४ करोड २८ लाख रुपैयाँ नाफा गरेको एभरेष्टले चालु वर्षको यही अवधिमा भने झन्डै ३० करोड (३५%) ले कम अर्थात् ५४ करोड ५४ लाख मात्र कमाएको छ ।  पछिल्लो वर्षको भन्दा चालु आवको चैत मसान्तसम्मको बैंकको नाफा खस्किनुको एउटा कारण यो पनि देखिएको छ ।

यस्तै, बैंकले खराब कर्जा वापतको व्यवस्था  पनि झन्डै दोब्बरले बढाउँदा यसले पनि नाफामा असर परेको हो । गत वर्ष चैत अन्तिममा कुल खराब कर्जा (०.२०%) को ५८१.८०% नोक्सानी व्यवस्थामा छुट्याएको एभरेष्टले चालु वर्षको यस अवधिमा यसलाई बढाएर कुल खराब कर्जा (०.१२%) को १०३९.१४% पुर्‍याएको बैंकद्वारा प्रकाशित अपरिष्कृत वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

चालु आवको तेस्रो त्रैमाससम्ममा कमाएको नाफामध्ये करिब एक अर्ब ६ करोड रुपैयाँ बैंकको वितरणयोग्य नाफा रहेको जनाइएको छ ।

बैंकको ब्याज आम्दानीका साथसाथ खुद नाफा समेत घटेको भएपनि यसले गत आवको चैत मसान्तयताको एक वर्षमा धितोपत्रमा गरेको लगानीलाई करिब ११ अर्बले बढाएर ३९ अर्ब ८१ करोड हाराहारी पुर्‍याएको छ ।

 

5605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका